• सोमबार-भदौ-२३-२०८२

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी) को आग्रह

 

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ ।

 

NAS-IT का अनुसार यस्ता प्रतिबन्धले नेपालको आईटी उद्योग, सेवा प्रवाह, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पारेको छ । सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा संगठनले भनिएको छ, ‘यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रियस्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीमा ठूलो अवरोध ल्याएको छ ।’

 

विज्ञप्तिमा उल्लेख गरिएअनुसार ग्राहकहरूसँगको संचार अवरुद्ध हुनु, परियोजना समन्वयमा ढिलाइ, तथा व्यावसायिक निरन्तरता संकटमा पर्नु जस्ता समस्याहरू उत्पन्न भएका छन् । NAS-IT ले नेपाल सरकारलाई प्रतिबन्ध यथाशीघ्र हटाउन र दीर्घकालीन समाधानका उपाय खोज्न विनम्र आग्रह गरेको छ ।

 

NAS-IT को भनाइमा, ‘विश्व बजारमा नेपालको छवि र बढ्दो अवसर कायम राख्नका लागि सञ्चार माध्यममा अविच्छिन्न पहुँच अपरिहार्य छ।’ साथै संगठनले सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने प्रयासलाई समर्थन जनाउँदै, सेवा अवरुद्ध नगरी समाधान खोज्न तत्पर रहेको जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस