काठमाडौँ, २४ भदौः जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गर्नुभएको आदेशमा शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यू जारी रहनेछ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबारदेखि २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस