काठमाडौँ, २४ भदौ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।
काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वाेच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।
प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।
एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्ताैलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्याइएको छ ।
भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी
भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएपछि आक्रोशित भिडले प्रहरीलाई तितरवितर पारी ओली निवास प्रवेश गरी तोडफोड गर्नुका साथै दुईवटै घरमा आगजनी गरेका छन् । आगजनीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।
त्यसैगरी पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मध्यपुरथिमि–१ लोकन्थलीस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाइदिएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एमाले नेता महेश बस्नेतको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् ।
त्यस्तै मध्यपुरथिमि नगरपालिका राधेराधेस्थित यातायात कार्यालयमा तोडफोड गरी कार्यालयको एक गाडी र कार्यालयभित्रका सम्पूर्ण सामान बाहिर निकालेर आगजनी गर्नुका साथै यातायात कार्यालयको भवनमा समेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रहरी परिसर भक्तपुर र आसपासका कार्यालहरू समेत तोडफोड र आगजनी गरिएको छ । सल्लाघारीस्थित ट्राफिक प्रहरी परिसर भक्तपुरको कार्यालय तोडफोडसहित ध्वस्त पारिएको छ भने सडकमा राखिएको प्रहरीको बिटहरूसमेत आगो लगाएका छन् ।
प्रर्दशनकारीले प्रहरी वृत्त जगातीमा तोडफोड गरी प्रहरी नायब उपरीक्षकको गाडी जलाएका छन्भने वृत्तमा आगजनी गरेका छन् । प्रहरी प्रभाग खरिपाटी तोडफोड गरेका छन् । प्रदर्शनकारी साँझ ७ः०० बजे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट प्रवेश गरी तोडफोड गरिएको छ ।
तनहुँका सरकारी कार्यालयमा आगजनी र तोडफोड
तनहुँको सदरमुकाम दमौलीस्थित सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । व्यास नगरपालिका–३ मा रहेका केही सरकारी कार्यालयमा जेनजी युवाले आज तोडफोड र आगजनी गरेका हुन् ।
व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भवन तथा सवारीमा आगजनी र तोडफोड भएको छ । बिहानैदेखि सुरु भएको आन्दोलन साँझसम्म पनि जारी छ ।
प्रदर्शनकारीले व्यास नगरपालिका, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका गाडीहरु जलाएर नष्ट गरेका छन् ।
घोराही र तुलसीपुरका सरकारी कार्यालयमा तोडफोड
जेनजी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ । एमाले, कांग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन् । कारागारका बन्दीसमेत भगाइएको छ ।
प्रदर्शनकारीले एमाले महासचिव शङ्कर पोखरेल, नेता कोमल वली, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन् ।
सुरुआतमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसोदेखि हजारौँको सहभागितासहित हिंसात्मक बनेको हो । प्रहरी नियन्त्रण बाहिर देखिएको यस घटनामा घोराहीमा घरेलु कार्यालय, मालपोत कार्यालय, शिक्षा समन्वय समिति, जिल्ला समन्वय समिति, नेपाल बार एसोसीयसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।
–––
प्रतिकृया दिनुहोस