• शुक्रबार-भदौ-२७-२०८२

राष्ट्रिय सभा र प्रतिनिधि सभाका अध्यक्ष र सभामुखद्वारा शान्तिपूर्ण संवादको आह्वान

संसद भवनमा तोडफोडको घटना ‘ऐतिहासिक दुर्भाग्य’
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे / अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं । संघीय संसदले भदौ २३ र २४ गते भएको जेने–जिन (Gen-Z) आन्दोलनका क्रममा प्राण गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आन्दोलनमा सहभागी हुँदा ज्यान गुमाउने तथा घाइते हुने सबैप्रति संवेदना व्यक्त गर्दै संसदले प्रभावित परिवारलाई गहिरो सहानुभूति प्रकट गरेको छ ।

संघीय संसदका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले २०८२ भदाै २७ गते शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनकै क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । वक्तव्यमा भनिएको छ, “राज्यका सम्बन्धित संस्थाहरूसँग विशेष आग्रह गर्दछौँ कि कुनै पनि मूल्यमा जनताको जीवन र सुरक्षामा कमी नहोस्।”

संसद भवनमा तोडफोडको घटना ‘ऐतिहासिक दुर्भाग्य’

वक्तव्यमा भदौ २४ गते संसद भवन, सिंहदरबारस्थित सचिवालयसहित विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनाप्रति गम्भीर आपत्ति जनाइएको छ । संसद भवनलाई “जनताको साझा सम्पत्ति र लोकतन्त्रको प्रतीक” भन्दै तोडफोडलाई ऐतिहासिक दुर्भाग्य र मुलुकका लागि अपूरणीय क्षति भएको टिप्पणी गरिएको छ ।

एकता र संविधानको मार्गमा

देशमा विद्यमान विषम परिस्थिति समाधानका लागि राष्ट्रिय एकता, संवैधानिक प्रक्रिया र शान्तिपूर्ण संवादको बाटो अवलम्बन गर्नुपर्नेमा संसद नेतृत्वले जोड दिएको छ । वक्तव्यमा भनिएको छ, “विधिको शासन र संवैधानिकतावाद बाहिर जानुहुँदैन भन्ने हाम्रो दृढ विश्वास हो । आन्दोलनरत पक्षसँग संवाद गर्दै लोकतन्त्रलाई अझ सबल र स्थायी बनाउन सबैलाई प्रतिबद्ध हुन आग्रह गर्दछौँ।”

प्रतिकृया दिनुहोस