काठमाडौँ, २७ भदौ : काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३० करोडभन्दा बढीको क्षति भएको छ ।
जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते राति ९ः०० बजे लोत्से मलमा आगजनी भएको थियो । उक्त आगो भोलिपल्ट बिहान ५ः३० बजे नियन्त्रणमा आएको थियो । उक्त आगजनीबाट रु ३५ करोडभन्दा बढीको क्षति भएको लोत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।
दसैँ अगाडि उक्त घटना भएकाले चाडपर्व लक्षित गरी बिक्रीका लागि ल्याइएका कपडासहितका ५० भन्दाबढी कपडा पसल जलेर पूर्ण रुपमा नष्ट भएका प्रालिका अध्यक्ष एवं सञ्चालक दिपक कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार कपडाबाहेक मोबाइल, रेष्टुरेन्टलगायत पसलसमेत जलेका छन् । यसअघि २०७९ फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा लोत्से मल तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।
सोहीबेला उक्त मलभित्र रहेको मोबाइल पसल लुटपाट हुनुका साथै प्रहरीको भ्यानहरु जलाइएको थियो । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष कुँवरले व्यावसायिक संरचनामाथि विभिन्न समय आक्रमण तथा आगजनी हुँदा व्यवसायीको मनोबल घट्दै गएको बताउनुभयो ।
“आगजनी र तोडफोडका घटनाले नेपालमा व्यवसाय गर्ने वातावरण हराउँदै गएको छ । व्यावसायिक भवनमा विभिन्न समयमा आक्रमण हुँदा चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो । मलभित्रका पसल लुटपाट गर्ने तथा आगजानी गर्नेलाई सिसि क्यामेरा फुटेजका आधारमा कडा कारबाही गनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकासँग सार्वजनिक निजी साझेदारीमा लोत्से बहुउदेश्यीय प्रालिले नयाँबसपार्कमा मल सञ्चालन गर्दै आएको छ । विसं २०७४ मा लोत्से मल निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
---
प्रतिकृया दिनुहोस