सिरहा, २७ भदौ : जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
प्रशासनले आज सो सूचना जारी गर्दै आन्दोलनको दौरानमा सरकारी कार्यालय र प्रतिष्ठानहरू तोडफोड, आगजनी गरी खाद्यान्न, जिन्सी, नगदलगायतका सामग्री चोरी तथा लुटपाट गरिएको उल्लेख गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर, भिडियो र सिसिटिभी फुटेजमार्फत ती घटनामा संलग्न व्यक्ति पहिचान भएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा भनिएको छ, “यस्ता कार्यहरू कानूनविपरीत छन् । सार्वजनिक सम्पत्तिको सुरक्षामा नागरिकको पनि दायित्व हुन्छ । यसकारण लुटपाट तथा चोरी गरिएका सम्पत्ति आजदेखि सात दिनभित्र स्वेच्छिक रूपमा प्रशासनमा फिर्ता गर्न अनुरोध छ ।”
प्रशासनले तोकिएको समयमा सामग्री नफर्काउनेलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
---
प्रतिकृया दिनुहोस