सबैमा नमस्कार ! मैले व्यवसाय सुरु गर्दा ठूलो पुँजी थिएन, न त व्यापारिक अनुभव नै । केवल सपना थियो—आफ्नै माटोमा केही गर्ने, नेपालकै उर्वर भूमिमा मेहनत गरेर सुन फलाउने । यही अठोटले मलाई अघि बढायो ।
चार दशकअघि सुरु भएको सानो व्यावसायिक गोरेटो आज हामी सबैको संयुक्त मेहनत र इमान्दारिताले फराकिलो राजमार्ग बनेको छ । आज हाम्रो व्यवसायमा २० हजारभन्दा बढी नेपाली दाजुभाइ–दिदीबहिनी प्रत्यक्ष रोजगारीसँग जोडिएका छन् । लाखौँ अप्रत्यक्ष रोजगारी पनि यसैसँग सम्बन्धित छन् ।
हामीले विस्तार गरेको हरेक आयोजनामा साझेदारीको भाव छ, सेवाको संस्कृति छ, र स्थानीयसँगको हातेमालो छ । विदेशमा पसिना बगाउने श्रमिकहरूले पठाएको रकम सुरक्षित रूपमा आफ्ना घर–परिवारसम्म पुर्याउने अठोटले सुरु भएको हाम्रो यात्रा, उनीहरूको आशीर्वाद र आम नेपालीको सद्भावका कारण आज यो मुकाममा पुगेको हो ।
तर, आज मेरो मन गह्रौँ छ । हालैको आन्दोलन र त्यसमा भएको घुसपैठका कारण अर्बौँ लगानी भएका हाम्रा आयोजनामा आगजनी र तोडफोड भयो । आफ्नै आँखा अगाडि पसिना, सपना र समर्पणका ईँटा खरानी भएको देख्दा पीडाले भरिन्छु । तर, यस अवस्थामा मसँग रोएर बस्ने छुट छैन । किनकि मसँगै २० हजार श्रमिकहरूको रोजीरोटी छ, मुलुकभरका हजारौं उद्यमी–व्यवसायी साथीहरूको आशा छ ।
म अहिले मुलुककै निजी क्षेत्रको छाता संस्था-नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष छु । यही हैसियतमा आज मैले आफ्नो पीडाभन्दा ठूलो जिम्मेवारी बोकिरहेको महसुस गरेको छु । कठिनाइको घडीमा अभिभावकले रोएर होइन, हौसला दिएर सन्तानलाई उठाउनुपर्छ । त्यसैले आज म यही सन्देश दिन चाहन्छु-
👉 आगोले ईँटा जलाउन सक्छ, तर हाम्रो आत्मबल जलाउन सक्दैन।
👉 सम्पत्ति खरानी हुन सक्छ, तर हाम्रो साहस खरानी हुँदैन।
👉 हामी उठ्नुपर्छ, अघि बढ्नुपर्छ, फेरि निर्माण गर्नुपर्छ।
हिजो भूकम्पले धरहरा ढाल्दा पनि हामी उठ्यौँ, कोभिड महामारीले मुलुक थिलथिलो पार्दा पनि हामी उठ्यौँ । आज फेरि खरानी टक्टकाएर उठ्ने बेला आएको छ ।
देशभर हजारौं उद्यम–व्यवसायमा क्षति पुगेको छ, हजारौं रोजगारी संकटमा छन्, अर्बौँको लगानी धरापमा परेको छ । तर विकल्प के छ? विकल्प एउटै छ-फेरि उठ्ने, अझै सबल भएर अघि बढ्ने।
प्रिय व्यवसायी साथीहरू,
निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, रोजगारीको स्रोत हो, समृद्धिको वाहक हो । ८१ प्रतिशतभन्दा बढी योगदान दिने, ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना समृद्ध नेपाल सम्भव छैन ।
प्रतिकृया दिनुहोस