इनरुवा (सुनसरी), ३१ भदौः सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।
यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्याउन थालेपछि कैदीबन्दी भागेका थिए ।
कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सनाले उल्लेख गर्नुभयो । उहाँका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।
कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेका उपरीक्षक तिम्सनाले जानकारी दिनुभयो । २०८२ भदाै ३० गते सोमबार रातिसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उहाँले अन्यको खोजीकार्य जारी रहेको उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस