रामेछाप । आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो ।
यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने जानकारी दिए । सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ ।
बिपि राजमार्ग वर्षातमा बारम्बार पहिरोका कारण अवरुद्ध हुने हुँदा यात्रु जोखिममा पर्ने गरेका छन् । तर चाडपर्वमा यात्रुको चापलाई व्यवस्थापन गर्न सुरक्षासँगै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी राजमार्गलाई खुला राख्ने निर्णय भएको प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस