दमौली (तनहुँ), १ असोज : आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडकखण्ड भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधि श्यामानन्द गुप्तासहितको टोलीलाई नगरपालिकाले सडक स्तरोन्नतिको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ ।
यो सडकमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नतिका लागि २०८० साल चैत २५ गते भएको थियो । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी)अन्तर्गत उक्त मोटरमार्गको सात दशमलव एक किलोमिटर दूरी कालोपत्रका लागि निर्माण कम्पनी बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता भएको थियो । उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको छ ।
नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी नगरपालिका–८, ९ र १२ वडालाई जोड्छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ १० मिटरको रहनेछ । यहाँ पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ ।
–––
प्रतिकृया दिनुहोस