• बुधबार-असोज-१-२०८२

जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

घाइतेका घाउमा माया लेप्ने हात : आशिका तामाङ

 

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ ।


जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरु, आमाहरु, दाजुभाइहरु, ती अचेत शरीरहरुको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका । न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन् । तर, उनी त्यहाँ थिइन् खाना, पानी, मल्हमपट्टी, लुगा, औषधि, र माया बोकेर ।


जेनजी आन्दोलन अघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो  आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गर्दै घाउँमा मलमपट्टि लगाउनमा व्यवस्थ छिन् ।  
आशिका तामाङ त्यो पात्र हुन जसले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई धेरै सहयोग गरिन् । उनले निस्वार्थ ढंगले सेवा गर्दै आज उनले सबैको मन जितेकी छन् । तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी छन् ।


भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफै थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन् । कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातिमा । तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको छैन् । उनी आफै ती अज्ञात बिरामीहरुका लागि आफन्त बनिन र घाइतेहरुका घरपरिवार सम्म सन्देश पु¥याउन पनि सहयोग गरिन् ।


उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन । त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल । त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो ‘मानवताको आवाज, जसले पीडामा साथ दिन्छ ।’


उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल, र काठमाडौंका अन्य अस्पतालसम्म । रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर  जेनजी आन्दोलनको राप सल्किरहेको थियो यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक ’कर्मचारी’ वा ’पद’ दिइएन, तर जसले असली नेतृत्व देखाइन् । उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ ।


हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, ‘यस्तो पनि समाज सेवा हुन्छ ?’ भन्दै तुच्छ टिप्पणी गरे । आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन् । उनी आज जनताको नजरमा ‘दोस्रो भगवान’ का रुपमा देखिएकी छिन् ।


उनको उदारताले कुनै सिमा मानेन । बझाङका सुभाष बोहरा— जसले आन्दोलनका क्रममा गोली लागेर आफ्नो ज्यान गुमाए, उनको परिवारलाई आशिकाले १ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकिन् । ज्यान गुमाएकाहरुको पशुपतिमा दाहसंस्कारको व्यवस्थादेखि लिएर अस्पतालमा घाइतेहरूसम्म पुग्न उनले कुनै कसर बाँकी राखिनन् ।


उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो । यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन् । अझ प्रष्ट भाषमा भन्ने हो भने प्रहरीको बन्दुकको गोलि लागेर अस्पतालको शैयामा छट्पटाइरहका घाइतेहरुका लागि दुखाइ निको पार्ने सिटामोल बनेर आशिका उभिइन भन्दा फरक पर्दैन् ।


सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त दिलको कुरा हो । जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ ।


आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि हाम्रो पुस्ता ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकून् ।


आशिका तामाङ एउटा उदाहरण हुन् जतिबेला देश दुखाइमा छ, आन्दोलनमा छ, त्यतिबेला कसरी एक नारी, बिना तामझाम, बिना प्रचार, केवल मानवताको आवाजमा उठेर लाखौंको हृदय छुने सेवा गर्न सक्छे । यिनै आशिकाहरुका कारण समाजमा अझै आशा बाँकी छ ।
 

प्रतिकृया दिनुहोस