• बिहीबार-असोज-२-२०८२

परवानीपुर सवस्टेसनमा आगो लाग्दा विद्युत् आपूर्ति बन्द

 

वीरगञ्ज (पर्सा), २ असोज । बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो ।

 

परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो । प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।

 

बुधबार वीरगञ्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।

 

“बुधबार रातभरि काम गरेर आज विद्युत् सञ्चालनमा ल्याएका थियौँ । बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ”, उहाँले भन्नुभयो, “वीरगञ्ज र बाराको पिलुवास्थित सवस्टेसनमा रहेको ब्रेकरको बुस पड्किएर थप विद्युत् आपूर्तिमा समस्या आएको छ ।”

 

वीरगञ्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सवस्टेसनमा आगो लागेपनि सो ठाउँमा पनि वीरगञ्जबाट विद्युत् पठाउन पर्दा क्षमताले धान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले वीरगञ्जको सवस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ ।”

 

प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गर्नुभयो । “यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ । हाम्रोतर्फबाट काम भइरहेको छ ।” पिलुवास्थित सवस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उहाँले जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस