• बिहीबार-असोज-२-२०८२

शहीद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग


सिरहा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले शहीद घोषणा गरेको छ भने स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको छ । लहान नगरपालिकाले शहीद चौधरीको परिवारलाई तत्कालका लागि रु. १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त घोषणा गर्दै शहीद चौधरीकी चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए । 

 

‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ,’ नगरप्रमुख चौधरीले भने । यसअघि नै सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति रु. १५ लाख राहत दिने निर्णय गरिसकेको छ ।

 

गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो। घटनाको नौ दिनपछि मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको हो । घरका कान्छा छोरा विजयको परिवारमा एक दाइ, एक दिदी, श्रीमती र चार वर्षीया छोरी छन्। उनी विगत एक दशकदेखि काठमाडौंमा ‘हाउस वायरिङ’को काम गर्दै आएका थिए ।

 

आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते प्रदर्शनकारीहरूले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनमा पूर्ण रूपमा क्षति पु¥याएका थिए, जसबाट करिब ७ करोड बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

 

नगरप्रमुख चौधरीले भवन जलेर नष्ट भए पनि सेवा प्रवाह नरोकिने प्रतिबद्धता व्यक्त गरे । ‘कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन । दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ,’ उनले भने । 
 

 

 

प्रतिकृया दिनुहोस