• शुक्रबार-असोज-३-२०८२

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली


काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् ।

 

ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफूले निर्वाचित संविधानसभामार्फत बनाएको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो संविधान लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता र जनताको अधिकार सुनिश्चित गर्ने दस्तावेज भएको उल्लेख गरेका छन् ।

 

उनले संविधान निर्माणको क्रममा भोगिएको भारतीय नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबलाई जनताको ऐक्यबद्धताले परास्त गरिएको भन्दै भने, ‘नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना लागि लेखेको भविष्य रेखा हो ।’

 

ओलीले संविधान जारी भएपछि देश विकासको बाटोमा अघि बढेको र नेपाललाई भूजडित बनाउने योजना अनुसार उत्तर–दक्षिण यातायात पूर्वाधार निर्माण भइरहेको स्मरण गराए । उनले चीनसँग यातायात पारवहन सम्झौता, विकास संरचनाको जग बसाल्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रयास भइरहेकामा जोड दिए ।

 

तर पछिल्लो समय जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक घटनालाई लिएर उनले गम्भीर आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा षड्यन्त्रकारी घुसपैठ भयो, जसले हिंसा मच्चायो र युवाहरुको ज्यान गयो,’ओलीले भने, ‘सरकारले गोली चलाउने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको भन्दै यसको छानबिन आवश्यक छ ।’

 

ओलीले प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, राजनीतिक दलका कार्यालय र नेताहरूको निजी सम्पत्तिमा हमला भएको उल्लेख गरे। उनले यी सबै घटनालाई नेपालको सार्वभौमसत्ता र संविधानमाथिको सुनियोजित प्रहारको रूपमा व्याख्या गरेका छन् । ‘देश बिग्रेको काल्पनिक भाष्य बनाएर आक्रोश विस्तार गरिएको हो त? समयले यसको उत्तर दिनेछ,’ उनले भने ।

 

ओलीले देशको सार्वभौमसत्ता इतिहासमै सीमित हुने खतरा औंल्याउँदै नेपाली युवाहरुलाई चेतावनी दिएका छन् । उनले काजी भीम मल्लको उदाहरण दिँदै, ‘देश बनिरहेको बेला भावनामा बगेर गरेको निर्णयले पछुतो बाहेक केही बाँकी राख्दैन,’ उनले भने ।

 

उनले सबै नेपालीलाई एकजुट भएर संविधानको रक्षाका लागि उभिन आह्वान गरे । ‘संविधान हाम्रो स्वतन्त्रताको कवच हो, सार्वभौमसत्ता हाम्रो अस्तित्व। संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं,’ ओलीको अपिल थियो ।
 

 

प्रतिकृया दिनुहोस