• शुक्रबार-असोज-३-२०८२

 ‘फेज आउट’ : कांग्रेसभित्रै युवा कांग्रेस जन्मियो 

 कालो धनविरुद्ध कारबाहीको माग चर्किंदै    

काठमाडौं : पार्टी रूपान्तरणका लागि भन्दै नेपाली कांग्रेसभित्र सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले एकसाथ राजीनामा दिनुपर्ने माग युवा नेताहरुबाट जोडतोडका साथ उठेको छ । 

‘युवा कांग्रेस’ समूह खडा गर्दैै पुरानो पुस्ताका नेताहरुको सामुहिक राजीनामा मागिएको हो । यो समूहको नेतृत्व कांग्रेसका युवा नेता रन्जित कर्णले गरिरहेका छन् । पार्टी रुपान्तरणका लागि भनेर युवा नेताहरुविच २०८२ भदौ २३ गते सोमबार जुममार्फ व्यापक छलफल समेत गरिएको छ ।

कांग्रेस सभापति देउवा निवास, ऊर्जामन्त्री दीपक खड्का निवास, नेता मोहन बस्नेत लगायतको निवासबाट पाँच सय, हजारका नोट, विदेशी मुद्रा, सुन, हिरामोतीसहित ठूलो परिमाणमा धनदौलत भेटिएको चर्चा बाहिरिएको थियो । सामाजिक सञ्जालहरूमा ऊर्जामन्त्री खड्का निवासबाट हजार र पा“च सय दरका डढेका नोट र अमेरिकी डलर उडेको भिडियोसमेत सार्वजनिक भएका छन् ।

छलफलमा ४० वर्ष मुनीकालाई पार्टीका हरेक तहमा कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको छ । केन्द्रीय समितिमा पनि सोही अनुसार प्रतिनिधित्व गराइनुपर्ने माग युवा कांग्रेस समूहले गरेको छ ।


परिवर्तित सन्दर्भमा जेन–जीको मारमा परेका पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनका नेताहरुको एकछत्र अधिकारलाई तोड्ने लक्षसहित युवा कांग्रेस अघि बढेको स्रोत बताउछ । जेनजी आन्दोलनको म्याण्डेड अनुसार पार्टीभित्र रुपान्तणका लागि विकेन्द्रीकरण र निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको सुनिश्चितता हुनुपर्ने निश्कर्ष भेलाले निकालेको जुम छलफलमा सहभागी एक युवा नेताले जानकारी दिए । 

 

‘नेतृत्वमा नयाँ सोच, वर्तमान सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनुपर्ने माग समूहले गरेको छ,’ ती युवा नेताले साँघुसँग भने, ‘वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउनुपर्नेसम्मका कुरा उठेका छन् ।’  

 

यस्तै, कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन सुनिश्चित गरी पार्टी शुद्धीकरणका लागि आत्माआलोचना गरेर जनताको घरदैलोमा गएर पार्टीलाई पुनर्जीवन दिनुपर्ने कुरा पनि छलफलमा उठेको बताइएको छ ।

 

पार्टीमा युवाको सहभागिताका लागि ४० वर्षमुनिका युवायुवतीहरूको कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्दै पार्टी केन्द्रीय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने माग समेत अघि सारिएको छ । 

 

सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्नुपर्ने आवाज पनि छलफलमा उठेको बताइएको छ । स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू क्रियाशील सदस्यहरूबाट छनोट गर्ने व्यवस्था लागू गर्नुपर्ने निश्कर्ष युवा समूहले निकालेको छ । 

  एकपटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउनुपर्ने माग पनि पार्टीसँग राखिएको छ । नेताहरु फिल्टर गर्नको निम्ति पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्नुपर्ने अवधारणा समेत ल्याइएको छ ।

‘भिन्नै भ्रष्टाचार निवारण आयोग गठनका लागि सरकारलाई पनि दबाब दिने भनिएको छ । २०४६ देखि यताका उच्च पदस्थ नेता र कर्मचारीहरूको भ्रष्टाचार छानबिन गरी राज्यको अधिनमा ल्याउने भन्नेसम्मका माग राखेर समूह अघि बढिसकेको छ,’ कांग्रेस युवा समूहका ती नेताले भने ।


 पार्टी सभापति देउवाको एकछत्र अधिकारलाई विकेन्द्रीकरण गर्दै निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यासका खातिर एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था हुनुपर्ने सवाल पनि युवा नेताहरुले उठाएका छन् । भ्रातृ संस्थाहरूको अधिवेशनमा पार्टी एवम् नेताहरुले अनावश्यक हस्तक्षेप गरे प्रत्युत्पादक हुने चेतावनी पनि जुम छलफलमा नेताहरुलाई दिइएको छ । 


 राजनीतिक नियुक्तिमा पनि विज्ञहरूलाई प्राथमिकता दिने नीति ल्याउन पनि खवरदारी गरिने भएको छ । भर्चुअल छलफलमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरुसमेत जोडिएका थिए । यसैविच, जेनजी विद्रोहपछि कांग्रेका केन्द्रीय नेता र जिल्ला सभापतिको समेत भिन्नै ‘भर्चुअल बैठक’ भएको छ ।

त्यो बैठकमा कांग्रेस–एमाले गठबन्धन सरकारको असफलता र ‘फेज आउट’ भइसकेका बृद्ध नेताहरूको विषयमा चर्काचर्की भएको बताइन्छ । पार्टीमा ‘फेज आउट’ अनुहारकै कारण जेन–जी विद्रोह भएको भन्दै जिल्ला सभापतिहरू आक्रामक रुपमा प्रस्तुत भएका थिए । सभापतिहरुले पनि यथास्थितिबाट पार्टी नचल्ने धारणासहित तत्काल  नेतृत्व परिवर्तनका लागि दबाब बढाइनुपर्ने धारणा राखेका थिए । 


सभापति देउवा निकट सुदूरपश्चिमकै कतिपय सभापतिहरुले अब यथास्थितिबाट पार्टी चल्न नसक्ने भन्दै चर्को असन्तुष्टि पोखेको बताइएको छ । ‘बुढो पुस्ताबाट अब पार्टी चल्दैन । यसकारण नवीन कांग्रेस बनाउनुपर्छ भन्दै चारैतिरबाट आवाज उठेको छ,’ बैठकमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका एकजना सभापतिले भने ।

जिल्ला सभापतिहरु आक्रामक रुपमा प्रस्तुत भएपछि कांग्रेसका वष्ठि उपाध्यक्ष पूर्णबहादुर खड्काले गोलमटोल जवाफ दिँदै परिस्थिति जटिल भएकाले संयमित भएर अघि बढ्न अनुरोधसहित थामथुम पार्ने प्रयत्न गरेको जनाइएको छ । कांग्रेका केन्द्रीय नेता र जिल्ला सभापतिको त्यो बैठकमा पार्टी सभापति, मन्त्री दीपक खड्कालगायतको घरमा करोडौं पैसा भेटिएको विषयमा पनि आधिकारिकता के हो भन्दै प्रश्न गरिएको थियो । 


भदौ २४ गतेको जेन–जी आन्दोलनमा कांग्रेसका प्रायः नेताहरूको घर जलाइएको थियो । घर जलाउनेक्रममा कांग्रेस सभापति देउवा निवास, ऊर्जामन्त्री दीपक खड्का निवास, नेता मोहन बस्नेत लगायतको निवासबाट पाँच सय, हजारका नोट, विदेशी मुद्रा, सुन, हिरामोतीसहित ठूलो परिमाणमा धनदौलत भेटिएको चर्चा बाहिरिएको थियो । सामाजिक सञ्जालहरूमा ऊर्जामन्त्री खड्का निवासबाट हजार र पा“च सय दरका डढेका नोट र अमेरिकी डलर उडेको भिडियोसमेत सार्वजनिक भएका छन् ।


े बैठकमा कतिपय जिल्ला सभापतिबाट कालो धन र अकुत सम्पत्तिकोको स्रोतसमेत खोजी भएको बताइन्छ । यस विषयमा केन्द्रीय पदाधिकारीहरूले पनि जवाफ दिन नसकिने बुताभन्दा बाहिरको प्रश्न रहेको भन्दै अनभिज्ञता व्यक्त गरेका थिए ।  

प्रतिकृया दिनुहोस