• शुक्रबार-असोज-३-२०८२

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।


आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए ।


‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ । यो अभियान देश निर्माणको अभियान हो ।’


उनले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको बताए । यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान तथा आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक्यवद्धता जनाउन आग्रह गरे ।


सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे ।


सरसफाई अभियान र पुर्ननिर्माण अभियानलाई हामीले देशैभरी जारी राख्नुपर्छ । यो अभियान देश बढाउने अभियान हो । यो अभियानमा देशमा र विदेशमा रहेका नेपालीहरुले एक्यवद्धता जाहेर गरेर अगाडि बढ्न पनि अनुरोध गर्दछु । करिब करिब डेढ दुई खर्ब बढीको संरचनाहरु ध्वस्त भएका छन् । यी ध्वस्त भएका संरचनाहरुलाई हामी नेपालीहरुले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर नेपालीहरुले नै बनाउनुपर्ने काँधमा आएको छ ।’


यसअघि विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा सरकारी भवन, सवारी साधन तथा अन्य सार्वजनिक सम्पत्तिहरूमा क्षति पु¥याइएको थियो । सरकारले पुनर्निर्माण र सुधारका लागि आवश्यक पहल सुरु गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस