• शनिबार-असोज-४-२०८२

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष दाहालको आह्वान


काठमाडौँ, ३ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अग्रगमनको मार्गमा अघि बढाउनका लागि  राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई आह्वान गर्नुभएको छ ।
 

संविधान दिवसका अवसरमा आज आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश सङ्गठन समितिको ‘भर्चुअल’ बैठकमा उहाँले अहिले मुलुकले व्यहोरिरहेका चुनौतीसँग जुध्न राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । शासकीय अभ्यासलाई लिएर जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद्को निर्वाचन प्रणाली अवम्बन गरिनुपर्ने उहाँको भनाइ छ ।

 
अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा माओवादीले फरक मत दर्ज गराएको शासकीय स्वरुप र निर्वाचन प्रणालीको महत्व अहिले झन् सान्दर्भिक देखिएको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

 
कैयन प्रतिकूलताकाबीच जेनजी आन्दोलनको माग सम्बोधन र संविधानको रक्षामार्फत देशलाई सहज निकास दिन माओवादी केन्द्रले विशेष भूमिका निर्वाह गरेको जनाउँदै अध्यक्ष दाहालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । बैठकमा माओवादी केन्द्रका नेता एवं जनप्रगतिशील मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
---

 

प्रतिकृया दिनुहोस