बाजुरा । बाजुराका स्थानीय तहमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतहरु हालसम्म नआउँदा पुरानै अवस्थामा चल्न थालेका छन् । संघीय मन्त्रालयबाट बाजुराका स्थानीय तहमा खटाइएका अधिकृतहरु हालसम्म आउँन सकेका छैनन् ।
मन्त्रालयले सरुवा गरेरको करिब १ महिना पुगिसक्दा पनि अधिकृतहरु हाजिर हुन सकेका छैन् । खटाईएका प्रशासकीय अधिकृत हालसम्म नआउँदा यहाँका स्थानीय तह पुनः पुरानै लयमा चल्न थालेका हुन् ।
भदौ दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाजुराका ६ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
अहिले कतिपय प्रशासकिय अधिकृत स्थानिय तहको सम्र्पकमा समेत नरहेको पाईएको हो । मन्त्रालयले खटाएका कर्मचारी बाजुराका स्थानीय तहमा अहिलेसम्म पुग्न नसक्दा सबै स्थानीय तहको काम पुरानै लयमा सञ्चालन भईरहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले बताए ।
मन्त्रालयले बडीमालिका नगरपालिकामा लोकराज जोशी, त्रिवेणी नगरपालिकामा सत्यराज जोशी, बुढीनन्दा नगरपालिकामा भोजराज भट्ट, खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल, जगन्नाथ गाउँपालिकामा दिलिप सुवेदी र गौमुल गाउँपालिकामा नविन पोख्रेललाई जिम्मेवारी दिएर खटाएको थियो । तर उनीहरुलाई खटाएको महिनौ बितिसक्दा पनि स्थानीय तहमा आईपुगेका छैनन् ।
९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने स्वामीकार्तिक र हिमाली गाउँपालिकामा यस अघि नै दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्ने छ भन्ने उल्लेख छ ।
मन्त्रालयबाट खटाईएका अधिकृतहरु हालसम्म पुग्न नसक्दा यहाँका कतिपय स्थानीय तहमा आर्थिक कामकाज पूर्ण रुपमा ठप्प छन् । तर केही पालिकामा भने पुरानै निमित्तलाई मन्त्रालयले अधिकार दिएर पुनः कामकाज सुरु गरिसकेको बताईएको छ ।
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो ।
प्रतिकृया दिनुहोस