• मंगलबार-असोज-२१-२०८२

बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा सवारी सञ्चालनमा कठिनाइ

काठमाडौँ, २० असोजः अविरल वर्षापछि बाढीपहिरोका कारण विभिन्न सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । 

 

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मकवानपुरबाट काठमाडौँ जोड्ने प्रमुख सडकखण्ड हेटौंडा–सिस्नेरी–काठमाडौँ र हुमाने–फाखेल–काठमाडौँ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । उहाँले हाल यी दुई सडकखण्डमा एकतर्फी मात्र सवारीसाधन चल्न दिइएको बताउनुभयो ।

 

    हाल मकवानपुरबाट काठमाडौँतर्फ आउन चाहने सवारी साधनहरू सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालनमा ल्याइएको छ भने काठमाडौँबाट मकवानपुरतर्फ जाने सवारीहरूलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ । पहिरो पूर्णरूपमा नहटेसम्म यस्ता वैकल्पिक व्यवस्थाबाटै सवारी सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

 

    बाढीपहिराकै कारण कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भन्याङडाँडा तथा बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको सुवेदीले बताउनुभयो । 

 

    उहाँका अनुसार विपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुङ्गा र मङ्गलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ । कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

    त्यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् । 

 

    सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानास्थित भङ्डारे खोलामा लेदोसहितको बाढी आएकाले आवतजावत पूर्ण रुपमा अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । 

 

    अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा गएको पहिरोका कारण आवतजावत पूर्ण रूपमा अबरुद्ध भएको छ ।

 

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पु¥याएकाले सवारी आवागमन अवरुद्ध रहेको जनाइएको छ ।

 

    मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको प्रवक्ता सुवेदीले बताउनुभयो ।---

प्रतिकृया दिनुहोस