• शुक्रबार-बैशाख-१४-२०८१

निश्चित भयो मन्त्रिपरिषद् हेरफेर : यी हुन् मन्त्रीबाट हट्ने र आउने  

 

 

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद्को पुनर्गठन यही हप्ताभित्र हुने भएको छ । प्रधानमन्त्री केपी ओली मिर्गौला पुनःप्रत्यारोपणका लागि लामो समय लिएर विदेश जानु अगाडि नै मन्त्रिपरिषद्को पुनर्गठनसँगै बाँकी रहेको पार्टी एकीकरणको काम पनि सम्पन्न गर्ने र पार्टीका नेताहरूलाई जिम्मेवारी पनि बाँडफाँट गर्ने गृहकार्यमा लागिपरिराखेको स्रोत बताउछ । लगभग एक महिना मिर्गौला पुनर्प्रत्यारोपण गरेपछि बढीमा एक महिना अस्पतालमा नै बस्नुपर्ने छ । यसैगरी मिर्गौला पुनःप्रत्यारोपणपछि पनि तीन महिनासम्म पूर्णआराम गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले आफू अनुकूल हुनेगरी मन्त्रिपरिषद्को विस्तारसँगै पार्टी नेताहरूलाई जिम्मेवारी बाँडफाँड पनि गर्ने भएका छन् । 


उपचारका निम्ति कम्तीमा चार महिना समय दिनुपर्ने भएपछिको विशेष बाध्यात्मक अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्री ओलीले केही दिनमा नै महत्वपूर्ण कदम चाल्न गइराखेको स्रोत बताउँछ ।


मन्त्रिपरिषद्मा छिट्टै व्यापक हेरफेर


एकथरीले मन्त्रिपरिषद् आजभोलि नै हेरफेर हुने दाबी गरेका छन् भने अर्काथरीले दुबई एयर शो मा भाग लिन गएका उपप्रधानमन्त्री ईश्वर पोखरेल फर्केपछि मात्र मन्त्रिपरिषद्मा व्यापक हेरफेर हुने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यसम्पादन र कामको मूल्यांकनको आधारमा वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको स्रोत बताउछ । आगामी २०७६ फागुन २ गते वर्तमान मन्त्रिपरिषद् गठन भएको दुई बर्ष पूरा हुँदैछ । तर, दुई बर्ष पूरा हुन लाग्दा पनि वर्तमान सरकारका अधिकांश मन्त्रीको कामबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट छैनन् । प्रधानमन्त्री केपी ओलीको अपेक्षा अनुसार, मन्त्रीहरूले सन्तोषजनक काम नगरेको अपजस भने लगभग दुई तिहाई बहुमतको नेतृत्व गरिराखेका प्रधानमन्त्री ओलीले बोक्न परिराखेको छ । 

 


 प्रधानमन्त्री ओलीले पटक पटक सामूहिकरुपमा बोलाएर सन्तोषजनक काम नगरेका मन्त्रीहरूलाई आफ्नो कार्यशैलीमा सुधार गर्न चेतावनी दिने गरेका थिए । प्रधानमन्त्री ओलीको पटक पटकको चेतावनीबाट पनि आफ्नो कार्यशैलीमा परिवर्तन नगरेका मन्त्रीहरू यो पुनर्गठनबाट बाहिरिने निश्चित भएको छ र पुनर्गठनपछिको मन्त्रिपरिषद्ले भने जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास प्रधानमन्त्री ओलीले राखेको स्रोतको दाबी छ । 

 


मन्त्रिपरिषद्को काम प्रभावित


  यसभन्दा अगाडि लामो समयदेखि चलेको मन्त्रिपरिषद्को हेरफेरको चर्चाले सरकारको काम समेत प्रभावित भइराखेको छ । मन्त्रिपरिषद्को पुनर्गठनबाट बाहिरिने सम्भावना रहेका मन्त्रीहरू आफ्नो पद जोगाउन दौडधुपमा नै लाग्ने गरेको छ र पुनर्गठनबाट हट्ने चर्चामा रहेका मन्त्रीहरूको निर्देशन कर्मचारीले मान्न छाडेकाले मन्त्रिपरिषद्को गठनको हल्ला चलेसँगै सरकारको कामकारवाही समेत प्रभावित हुँदै आएको छ र मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको विशेष अधिकार हुँदाहुँदै यस सम्बन्धमा प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्षदेखि वरिष्ठ नेताहरूसँग पटक पटक सल्लाह गरिरहँदा पनि मन्त्रिपरिषद् पुनर्गठन भने नहुँदा प्रधानमन्त्री ओलीको निर्णय गर्ने क्षमतामाथि नै प्रश्न चिन्ह लाग्न सक्छ भन्ने सल्लाह अनुसार नै अब मन्त्रिपरिषद् पुनर्गठन निश्चित भएको हो । अब भने ढिलो नगरी २०७६ मङ्सिर पहिलो साताभित्रै मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गरेर पार्टी एकीकरणको बाँकी काम सम्पन्न गरेर तथा पार्टी जिम्मेवारी पनि बाँडफाँट गरेर प्रधानमन्त्री ओली उपचारको निम्ति विदेश जाने निष्कर्षमा पुगेका छन् । 

 


को–को मन्त्री हट्दैनन् ?


वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू ईश्वर पोखरेल, गोकुल बास्कोटा, योगेश भट्टराई, भानुभक्त ढकाल, वर्षमान पुन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि मन्त्रालय परिवर्तन हुने सम्भावना रहेको बताइन्छ । ‘बादल’ मन्त्रीबाट विदा हुने परिस्थिति उत्पन्न भएमा पम्फा भुसाल मन्त्री बन्ने निश्चित रहेको बताइन्छ । यसैगरी, खानेपानी मन्त्री बिना मगर विशेष बाध्यतात्मक अवस्थाको कारण मन्त्रिपरिषद्मा कायम भएपनि उनको जिम्मेवारी भने फेरिने भएको छ । 

 


अर्थमन्त्रीको अनुनय–विनय


 यसैगरी दुई बर्षे कार्यकालका निम्ति राष्ट्रिय सभाका सदस्य रहेका अर्थमन्त्री युवराज खतिवडाको दुई बर्षे कार्यकाल आगामी २०७६ फागुन २ गते समाप्त हुने भएकाले उनलाई राष्ट्रिय सभाको यो कार्यकालसम्म मन्त्रीमा कायम राख्न अनुनयविनय गरिराखेको स्रँेत बताउछ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको पनि मन्त्रालय परिवर्तन हुने स्रोत बताउँछ ।

 

यसैगरी वर्तमान मन्त्रिपरिषद्बाट बाहिरिनेमा कृषि मन्त्री चक्रपाणि खनाल, गोकर्ण विष्ट, मात्रिका यादव, लालबाबु पण्डित, पद्मा अर्याल, थममाया थापामगर, रघुवीर महासेठलगायतको नाम हिट लिस्टमा रहेको छ । ‘कमिशनमुखी मन्त्री’ भनेर बद्नाम भएका रघुवीर महासेठले आफूलाई आफ्नी पत्नी जुली महतोलाई मन्त्री दिनपर्ने दाबी गरेको चर्चा पनि चलेको छ । 

 


नयाँको भाग्य चम्किने 


मन्त्रिपरिषद्को यो पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, उपसभामुख शिवमाया तुम्बाहाम्फे, लीलानाथ श्रेष्ठ, महेश बस्नेतहरू मन्त्रिपरिषद्मा समावेश हुने चर्चा छ । 

प्रतिकृया दिनुहोस