• शुक्रबार-बैशाख-१४-२०८१

एसएलसीमा फष्ट, हातमा स्टेयरिङ ! ः  सरोज श्रेष्ठ

 

(पैसा सबैका लागि महत्वपूर्ण हुन्छ । नेपालीमा उखानै छ–बिना धन केही नभन । धनका अगाडि शिक्षा पनि डगमगाउँछ । त्यस्तै भएको छ काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिकाका सडक पाइलट सरोज श्रेष्ठलाई । आफ्नो पढाईमा अब्बल भएर पनि उनले त्यसलाई निरन्तरता दिन सकेनन् । कक्षामा सँधै पहिलो भएर पनि उनलाई स्टेयरिङले छोडेन । हुनत काम सानो ठूलो हुँदै हुन्न । र, पनि एसएलसी फस्ट डिभिजनमा पास गरेर थप पढ्न छाडेर गाडी लाइनमा आउनुको पछाडिको रहस्य सडक पाइलटसँगको अन्तरंगमा साँघु प्रतिनिधिसँग बा २ ख ९४९२ नम्बरको गाडीका चालक सरोजले यसरी खोलेका छन्–सम्पादक) 

 

० गाडीलाइनमा आएको कति भयो ?
–पाँच वर्ष भयो । 


० ढोकामा पनि बस्नुप¥यो ?
–बसें । एक वर्ष ढोकामा बसियो । 


० त्यसपछि गाडी चलाउनु भयो ?
–हो । पहिले लाइट गाडी चलाएँ । पछि फोर्स र निशान गाडी चलाएँ । 


० गाडीलाइनमा आउनु भन्दा अगाडि के गर्नुहुन्थ्यो ?
–पढ्थें । एसएलसी पास गरेपछि सीधै गाडीलाइनमा आएँ । 


० पढ्न छाडेर ?
–यस्तै भयो । काम गर्नुपर्ने भयो अनि आइयो । 


० एसएलसीमा विषय लागेर त हैन ?
–एसएलसी फष्ट डिभिजनमा पास गरेको थिएँ । स्कुलमा पनि क्लास टपर नै हो । यस्तै भयो । घरमा ड्याडी, मम्मी र सानी बहिनी छिन् । आर्थिक कारणले नै काम गर्नुप¥यो । 


० पढ्दै काम गर्दै पनि गर्न सकिन्थ्यो होला नि ?
–सकिएला जस्तो लागेन । त्यसैले पढिएन । 


० पछुतो लाग्दैन ?
–पछुतो लाग्छ अलिअलि । सँगैको साथीहरू इन्जिनियर भइसके । 


० गाडीलाइनमै किन आउनु भयो त ?
–हाम्रो गाउँमा घरैपिच्छे ड्राइभर छन् । हरेक घरमा एउटा न एउटा ड्राइभर छ । गाउँभरिमै सरकारी जागिरे कोही पनि छैन । 


० कस्तो छ गाडीलाइन ?
–बेकार आएजस्तो लाग्छ । सम्झिंदा बोर लाग्छ । कमाई हुँदैन । सबैले रीस गर्छन् । त्यस्तै त हो नि । 


० कमाई किन घट्यो ?
–गाडी बढे । प्रतिस्पर्धा भयो । लकडाउन पनि भयो । 


० के गरियो लकडाउनमा ?
–गाउँमा गएर बसियो । खेती गरियो । 


० राहत पाइएन ?
–राहत आएन । गाउँमै आएन राहत । वडाध्यक्षले नै दिएनन् राहत । हाम्रो गाउँलाई किन चाहियो राहत भने । 


० गाडीलाइनमा सम्मान कत्तिको छ ?
–सम्मान हुँदैन नि । कसले गर्ने ? ट्राफिक प्रहरीले गर्दैगर्दैन । यात्रुले झन् किन गर्थे । गाउँमा पनि घरैपिच्छे ड्राइभर छन् कसले गरोस् । गाउँमा २० घर छन् । सबै गाडीलाइनमा छन् । कोही छैन सरकारी जागिरे । 


० के छ भोलिको सोच ?
–पढ्ने सोच छ । तर भ्याइँदैन । 


० विदेशतिर ?
–आफ्नै देशमा घुम्न सक्या छैन के जानु विदेश । फेरि सानो गाडीमा गएर पैसा कमाइँदैन । ठूलो गाडीमा जान उमेरले भ्याउँदैन । भर्खर त २२ वर्षको भएँ । 


० के छ अहिले गाडीलाइनमा समस्या ?
–काम छैन भनौं भने खान लाउन छ । बेरोजगार देखिंदैन । रोजगारी राम्रो छैन । पैसा कमाई हुँदैन हेर्ने मात्र हो । 


० कस्ता छन् नि यो लाइनका मान्छे ?
–त्यति सारो पढेलेखेका मान्छे छैनन् । विकल्प नभएर मात्र आउने हुन् । अरु आउँदैन । ५–१० हजारले काठमाडौंमा बस्न सकिंदैन । 


० आफ्नै गाडी कहिले होला ?
–आफ्नो गाडी किन्नलाई त ब्याक सपोर्टमा कोही हुनुप¥यो नि ?


० बिहे भयो ?
–छैन । 


० कहिले गर्ने ?
–खोइ ? अब पैसा कमाएपछि । 


 

प्रतिकृया दिनुहोस