• शुक्रबार-बैशाख-१४-२०८१

देउवालाई बधाई दिन मोदीले किन गरे कन्जुस्याइँ ?

 
काठमाडौं । नेपालमा जसको सरकार बन्छ, ऊसँग सम्बन्ध जोडी हाल्ने भारतको आफ्नै कूटनीतिक तरिका छ । त्यसैले नेपालले नयाँ प्रधानमन्त्री पाएलगत्तै भारतीय समकक्षीबाट बधाई र शुभकामना आउँछ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नरेन्द्र मोदीले सबैभन्दा पहिले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । देउवा चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदा पनि भारतले उसैगरी बधाई टक्राएको थियो । 


सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २८ गते केपी शर्मा ओलीको स्थानमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । देउवाले पाँचौं पटक सत्तारोहण गरेको आज तीन दिन भएको छ । उनले आफ्नो र माओवादी केन्द्रको तर्फबाट २/२ जना सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न भ्याइसकेका छन् । सत्ता साझेदारी मिले उनी फेरि पनि मन्त्रिपरिषद् विस्तार गर्ने ताकमा छन् ।

 

योबीचमा अमेरिकासहित विभिन्न मुलुकले देउवालाई सफल कार्यकालको शुभकामना दिइसकेका छन् । तर दक्षिणी छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीले अहिलेसम्म उनलाई बधाई दिन कन्जुस्याइँ गरेका छन् । नेपालमा रहेका आफ्ना कूटनीतिक प्रतिनिधि विजयमोहन क्वात्रामार्फत मोदीले बधाई पठाए पनि प्रत्यक्ष टेलिफोन गरेर बधाई दिने विगतको परम्परालाई पछ्याउन यसपटक आवश्यक ठानेका छैनन् । 

 

बधाई तथा शुभकामना आदनप्रदान औपचारिकताको कुरा भए पनि दक्षिणी छिमेकीबाट यसमा भएको कन्जुस्याइँलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । र, यसको कारणबारे विभिन्न ढंगले विश्लेषण गरिँदैछ । 


नेपाल–भारतबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका एक कूटनीतिज्ञ दुई कारणले भारतीय समकक्षीले देउवालाई बधाई दिन आनाकानी गरेको हुनसक्ने बताउँछन् । ती कूटनीतिज्ञका अनुसार, देउवा नेतृत्वकै सरकारले निरन्तरता पाउने कुनै टुंगो छैन । किनकि, उनले प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यसका निम्ति देउवाले एमालेबाट समर्थन पाएका सांसदको साथ विश्वासको मत लिँदा पनि पाउनु पर्छ । जसको सुनिश्चितता अझै भइसकेको छैन ।

 

माधव पक्ष तान्न देउवा चलाखीपूर्वक लागिपरेका छन् । प्रतिनिधिसभा जोगाउन विगतमा लिएको पहलकदमी व्यर्थ हुने भएकाले विश्वासको मत दिनुपर्ने मत माधव पक्षभित्र छ । तर देउवाको पक्षमा खुलेर लाग्दा हुनै लागेको पार्टी एकता भाँडिने भएकाले एमालेको भलो चाहनेहरू नेपालले इच्छा देखाएकै अवस्थामा पनि आत्मघाती कदम चाल्न तयार नहुने सम्भावना उत्तिकै छ । 

 

भारतीय संस्थापनले ओलीकै निरन्तरता चाहेको र त्यसविपरीत समीकरण नबन्दा बेखुश बनेको अनुमान पनि गरिँदैछ । ती कूटनीतिज्ञ यो फ्याक्टरले पनि केही हदसम्म काम गरेको हुनसक्ने बताउँछन् । तर नेपालमा अस्थिरता निम्तिँदा फाइदा पुग्ने भारतको हिसाब रहेकाले यो तर्कमा खासै दम नरहेको उनको भनाइ छ । ‘केपीको सरकारसँग काम गर्न कम्फर्ट फिल गरेका मोदी अकस्मात अदालती फैसलाबाट देउवा आउँदा असन्तुष्ट बनेको हुनसक्छ,’ ती कूटनीतिज्ञले भने, ‘तर नेपालमा अस्थिरता निम्तिएकाले उतिधेरै बेखुस पनि नहुनसक्छ ।’ 

 

स्रोतका अनुसार भारतबाट हत्तपत्त देउवालाई बधाई आउने सम्भावना छैन । विश्वासको मत पाएको अवस्थामा भने भारतबाट बधाई आउन सक्छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

 

नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण पनि भारतबाटै हुने प्रचलन छ । पहिलो पटक प्रधानमन्त्री बन्दा माओवादीका अध्यक्ष प्रचण्डले पहिले चीन रोजेर क्रमभंगको प्रयत्न गरे पनि पछि उनले त्यसलाई अनौपचारिक भनेर सकारेका थिए । भारतले बधाईसमेत नदिएकाले भ्रमणकाे निम्ताे आउने सम्भावना कम छ । यसकारण देउवाको पहिलो विदेश भ्रमण पनि यसपटक दक्षिणभन्दा बाहेकका मुलुकबाट हुने खतरा बढेर गएको छ । 

प्रतिकृया दिनुहोस