• बिहीबार-असार-५-२०८२

सेनाका शहीद सुवेदार बम प्रसादको जात र ठेगाना खोज्दैछु म

    नेपाल सरकारको सहयोगमा दलाई लामाका सेना खम्पाहरु नेपाल  भित्र्याउने काम भैरहँदा अमेरिका  र भारत खुसी थिए भने चीन बढो सतर्कता अपनाउदै थियो ।  उत्तरी सीमानामा त्योभन्दा अगाडि भारतीय सेनाका चेक पोस्ट नेपाल सरकार कै सिफारिसमा राखिएका थिए ।

 

भारत र अमेरिका मिलेर नेपाल सरकारलाई दबाब दिई नेपालमा खम्पा भित्र्याउने  काम वि.सं २०१० सालदेखि नै हुँदै  थियो । यसमा नेपाली कङ्रेस सरकारको ठूलो सहयोग थियो ।

 

 उत्तरी  सीमामा बि. सं. २००९ सालपछि नै भारतीय सेना तैनाती गराउनुको स्वार्थ खम्पाहरुलाई नेपाल प्रवेश गराउनु र तिनलाई सुरक्षा समेत दिनु थियो। अनि तिब्बततर्फको चिनिया सेनाको हर्कतको जासुसी गरेर त्यो खबर भारतीय आर्मीले दिल्ली पठाउथें ।

 

दिल्लीको आर्मीले दिल्लीकै  ब्रिटिश राजादूतावास लाई अनि त्यसले लन्डन पठाइ अनि लन्डनको सेनाको च्यानलमार्फत अमेरिका अर्थात सीआईएको मा पुग्दथ्यो । दलाई लामा- भारत र अमेरिकाको त्रिकोणात्मक् सम्बन्ध र योजनाबाट नेपालको उत्तरी सीमामा भारतीय सेना राखेको र दलाई लामाका खम्पा सेना  भित्र्याइएको  थियो ।

 

ओलाङ्चूङ गोलादेखि पश्चिममा ट्रिन्कर-लिपुलेकसम्म भारतीय सेना तैनाती थिए भने ती सबै क्षेत्रमा खम्पाहरुको जासुसी टिम ( रेकी पट्रोल ) घुमी रहन्थे। किनकि जहाँ चिनियाहरुको कमजोर सुरक्षा पोजिसन  हुन्थ्यो त्यहाँबाट खमपाहरुले चिनिया सेना मार्ने, गाडीलाई ध्वस्त पार्ने, लुट्ने, रेप गर्ने जस्ता काम गर्थे।  

 

यो अवस्थामा चिनिया सेनाको पनि बोर्डर फाइटिङ पट्रोल ती ईलाकामा घुम्न थाले भने उपल्लो मुस्ताङ ईलाकासम्म आए । २०१७ असार १४ गते चिनिया पेट्रोलको  १००० भन्दा बढी सेना देखेपछि मुस्ताङका  राजाले मुस्ताङमा तैनात  भारतीय सेनालाई खबर गरी मुस्ताङ बचाइ दिन अनुरोध गरे। सो खबर भारतीय सेनाले दिल्ली, दिल्लीबाट लन्डन र त्यहाँबाट अमेरिका पुग्यो र तुरुन्तै नेपाल सरकारलाई दबाब आयो कि,  ती चिनिया सेना किन मुस्ताङ आए र किन चुप बसेको नेपाल ?  

 

चिनिया सेना आएको हो होइन भन्ने बारे बुझ्न मुस्ताङमा तैनाती रहेको (भारतीय चेक पोस्टसंगै रहेको हुन सक्छ ?) नेपाली सेनाका कामान्डर सुवेदार बम प्रसाद ( जात ? ) को कमान्डमा १ सेक्सन सेना, भन्सार अधिकृत, स्थानीय जन प्रतिनिधि र दोभासे गरी १७ जानाको टोली अझै उत्तरी सीमानातर्फ  मुभ भए  । नेपाल-चीनको सीमा नियम अनुसार नेपाली  सेना हतियार नबोकी र सैनिक पोसाक नलगाई  गएका थिए ।  


नेपाली टोली सबै घोडा चढेर गएका थिए । केही घण्टा हिंडेपछि उनीहरु माथि चिनिया सेनाको फायर आयो । सुवेदार बम प्रसाद मारिए र अर्का १ जना सैनिक घाइते भए । अनि ती घाइतेलगायत १६ जना नेपाली सेना चिनिया सेनाको बन्धक बने भने सुवेदारको लाश पनि उनीहरुले नै कब्जामा लिए । यो बारेमा नेपालका प्रधानमन्त्री बि पि कोइराला र चिनिया प्रधान मन्त्री चाउ एन लाइको १० वटा भन्दा बढी  पत्राचार भएका छन् ।

 

चीनले  दलाई लामाका सेना " खम्पा " ठानेकोले त्यो घटना हुन गएको लेखेको छ । वास्तवमा उस बखत मनाङ -मुस्ताङ क्षेत्र खम्पाको नियन्त्रणमा थियो। नेपाली प्रशासनको केही हात थिएन। पछि छानबिन गर्यो चीनले । चीनले घटनामा गल्ती स्वीकारी मृतक सुवेदार बम प्रसाददेखि सबैको क्षतिपूर्ति रु. ५० हजार तिर्यो । माफी समेत मागेको छ, चीनले ।

 

यस बारे बिस्तृत अध्ययन गर्न ग्रिष्म बहादुर देवकोटाको " नेपालको राजनैतिक दर्पण , भाग २ को पृष्ठ १३६ देखि ५८१ सम्म ठाउँठाउँमा उल्लेख भएकाे छ। गज्जबको कुरो त यो बारेमा नेपाली सेनालाई  थाहा नै छैन । २०४९ सालदेखि आजसम्म नेपाली सेनाले १० वटा जति सैनिक ईतिहास  प्रकाशन गरेको छ। तर, यस्ताे दु:खदायी र ऐतिहासिक घटना कहीँ उल्लेख छैन।

 

अन्तमा सुवेदार बम प्रसाद नेपाली सेनाका वहादुर  सैनिक शहीद हुन् । उनको बारेमा म लेख्न खोजी रहेकोछु। सुवेदार बम प्रसादको ठेगाना र जात मेरो प्रयासबाट पत्ता लागेन । चीन र नेपालको पत्राचारमा पनि बम प्रसाद मात्र उल्लेख भएकाे छ ।

 कोही भन्छन् उनी ताप्लेजुङ्तिरका कार्की कोही भन्छन् संखुवा सभा मादीका दाहाल । २०१७ साल असार १५ गते मुस्ताङमा चिनिया सेनाद्वारा मारिएका नेपाली सेनाका शहीद सुवेदार बम प्रसादको ठेगाना र जातको बारेमा हजुरहरु कसैले थाहा पाउनु भएमा जानकारी पाउन अनुरोध गर्दछु ।

 
प्रतिकृया दिनुहोस