मृत्युको विषयमा धेरै कुरा पढ्न, सुन्न र अध्ययन गर्न पाइन्छ । यसबारे जति धेरै सुन्ने,पढ्ने र अध्ययन गरे पनि अधुरै छ । यो आश्चर्य र कौतुहलकै विषय बनिरहेको छ । प्रत्येक मानिसको मृत्यु अनिवार्य छ र कुनै न कुनै दिन ऊ मृत्युको मुखमा जानै पर्दछ । नजाने कोही हुँदैन । मृत्यु पछिको यात्राको बारे मानिसले कुनै अनुमान गर्न सकेको हुँदैन पनि ।
अध्यात्म दृष्टिकोणबाट हेर्दा जो मानिसले बाचुञ्जेल धर्म कर्म गरेको हुन्छ र भगवानप्रति समर्पण भएको हुन्छ, ऊ सजिलै स्वर्ग जान्छ भन्ने भनाई रहेको पाइन्छ । तर, यसलाई प्रमाणित गर्ने आधार केही पाइँदैन । किनकि मृत्यु पछिको यात्रा केवल सुनी आएको र भनी आएको एउटा परंपरावादी दृष्टिकोणमात्र हो भन्न सकिन्छ ।
मृत्युदेखि धेरै मानिस डराउने गर्दछन् र मर्न धेरै कठिन हुन्छ भन्ने पनि गरिन्छ । यो मानिसको सोचाईमात्र हो । मृत्युको मुखमा जो मानिस पुग्दछ, त्यसबेला उसलाई केही चेतना हुँदैन । चेतना नभएको अवस्थामा उसलाई दुःख, कष्ट, पीडाको महसुस नै हुँदैन । कुनै व्यक्तिको सल्यक्रिया गर्दा उसलाई एनेस्थिया दिएर मृतक सरह बनाएर अपरेशन गरिन्छ । त्यस समयमा उसलाई कुनै पीडाको अनुभबै हुँदैन । त्यस्तै तपाईको दाँत दुख्यो भने तपाई चिकित्सक कहाँ जानु हुन्छ । औषधिले काम गरेन भने डाक्टरले आरसिटी गरिदिन्छन् ।
यो भनेको दाँतको जरालाई मारी दिन्छन् । जसबाट दुखाइ हुँदै हँ‘ंदैन । मृत्यु पनि यस्तै हो । अन्तिम अवस्थामा इन्द्रीयहरु सबै मरिसकेका हुँदा रहेछन् र मानिसले दुखाइको अनुभव नै गर्दाे रहेनछ । म आफै पनि मृत्युको मुखमा पुगेर धेरै पटक फर्किएर आएको छु । त्यस्तो अवस्थामा पुग्दा हाम्रा शरीरका कुनै पनि अंगहरुले केही थाहा पाउन सक्दा रहेनछन् । थाहा पाउन सक्ने भए मृत्युको मुखमा पुग्दा निकै ठूलो पीडा पक्कै हुने थियो र रोईकराइ पक्कै गर्दथ्यो होला ।
मृत्युको बारे वैज्ञानिक दृष्किोणले पनि कुनै एकिन गर्न सकिरहेको देखिदैन । के किन भन्ने बिषयमा अन्यौल नै रहेको छ । कति अचम्मको विषय रहेछ त मृत्यु ? न अध्यात्मले चित्तबुझ्दो उत्तर दिन सक्छ । न त विज्ञानले नै । दुबै स्कूलिङ्ले पुष्टिगर्न सक्ने आधार दिन नसक्ने । यसकारण मानिसले मृत्युलाई सहजरुपमा लिनु पर्दछ र यसबारे धेरै दिमाग खेलाउनु पनि त्यत्ति उपयुक्त नहोला । बरु मृत्यु हुनु अघिको आफ्नो यात्रालाई सफल बनाउन सक्नु पर्दछ । यो नै जीवनको राम्रो पक्ष हो ।
मृत्युको विषय अन्यौल भएपछि मृत्यु हुनु अघिको अवधिलाई सार्थक बनाउनु पर्दछ । आफूले देखेको, सुनेको, गरेको र भोगेका कुराहरु मृत्यु अघि नै भएका हुन्छन् । यी कुराहरुलाई जीवनसंग बस्तुनिष्ठ किसिमबाट जोड्न सकियो भने जीवन सुखमय हुन सक्दछ । सुखमय भन्नाले भौतिक सुखसंग जोड्न खोजिएको होइन, सन्तुष्टीसंग जोड्न खोजिएको हो ।
मानिसलाई मृत्युपछिको यात्राबारे केही थाहा नभएपछि वर्तमानतिर लाग्नु नै उत्तम हुनेछ । वर्तमान मानिसको लागि निकै महत्वपूर्ण हुन्छ । वर्तमानमा भएका घटना यथार्थमा आधारित हुन्छन् । तिनीहरु प्रमाणले पुष्टि भएका हुन्छन् र आफूले देखेका पनि हुन्छन् । अरुको भरपर्नु पर्दैन । हो, त्यसैले यस्ता विषयमा मानिसले ध्यान दिनु पर्दछ । नदेखेका र पुष्टि हुन नसकेका कुरामा समय खेरफाल्नु भन्दा वर्तमानतिर नै लाग्नु राम्रो हुनेछ ।
मृत्यु अघिको यात्रा अथवा नमरुन्जेलको अवधि भित्र जे जस्ता काम र घटनाको मानिसले सामना गर्दछ, त्यो नै वास्तवमा उसको जीवन हो । जन्मदेखि मानिसको अन्त्य नभएसम्म । यही नै महत्वपूर्ण जीवन हो । यसलाई कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर नै लाग्नु पर्दछ । राम्रो भन्नाले धन सम्पत्ति, पैसा, रवाफ भन्न खोजिएको होइन । यिनीहरुले त मानिसलाई कहिल्यै सुख दिंदैनन् । तृष्णमात्र बढाउँछन् । कतिले पनि पुग्दैन । यति भए पुग्छ भन्यो, त्यति भएपछि अर्को श्रृंखलाको आवश्यकताको बोध हुन्छ । जति संकलन गरेपनि कहिल्यै पुग्दैन र तृष्णामात्र आईरहन्छ भने त्यसतर्फ मानिस किन लाग्ने ? लाग्नै हुँदैन ।
फेरि अर्को कुरा धनसम्पत्ति, पैसा, रवाफजस्ता कुरा चलायमान हुन्छन् । यिनीहरुको स्थिरता हुँदै हुँदैन । आज तपाईंसंग हुन सक्छ । त्यही सम्पत्ति भोलि अर्कोको हुन सक्छ । त्यसैले यस्ता कुरामा आफूलाई लगाउनु भन्दा नलगाउनु नै राम्रो हुन्छ । तर, हाम्रो समाज त्यसतर्फ लाग्न सकेको छैन । धनसम्पत्ति जोगावट गर्नेतर्फ नै सबै लागेका हुन्छन् । यसैमा तछाडमछाड हुँदै गएको छ र धनार्जनमा तीब्र प्रतिष्पर्धा बन्दै गएको छ । समाजमा धन कमाउने प्रवृत्तिको विकासले गर्दा मानिसले गर्नुपर्ने काम गर्दैन र नगर्ने काममात्र गरेको हुन्छ ।
राम्रो काम गरेर धन कमाउन त्यति सजिलो हुँदैन । त्यसैले छिटोछिटो उसलाई धन कमाउनु छ । तुरुन्त धन कमाएर समाजमा आफ्नो रवाफ देखाउन उसले अनैतिक काम गरेको हुन्छ । चोरी, डकैती, ठगी, भ्रष्टाचार, अर्काको सम्पत्ति हडप्नु, छलकपटजस्ता कपटीजन्य कुरा उसको लागि महत्वपूर्ण हुने गर्दछन् । यसरी मानिसले मृत्यु अघिको यात्रालाई अन्धकार बनाएको हुन्छ । मुख्य कुरो भनेको मृत्यु अघिको अवधिलाई उज्यालो बनाउन सक्नु पर्दछ । जुन उज्यालोले अरुलाई पनि प्रकाश दिन सकोस् ।
मानिस यति स्वार्थी भइसक्यो कि उसलाई मृत्यु पछिको यात्राको विषयमा ध्यानै जाँदैन । ध्यान जान्छ त केवल धन सम्पत्तितिर । बर्तमानमा राम्रो काम गर्न सक्यो भने मृत्यु पछिको यात्रा पनि सफल हुन जान्छ । वर्तमानमा जीवन बिताइरहेकाहरुलाई अनुकरणीय हुनजान्छ । यस्ता अनुकरणीय काम गर्नेहरु वर्तमानमा सबैले सम्मान गरेका हुन्छन् भने मृत्यु पश्चात पनि अमर नै हुन्छन् । उनीहरुको मृत्युको आभाष पटक्कै भएको हुँदैन । सँधै सम्झना भइ नै रहन्छ र उनीहरुको नाम लिइने गरिन्छ । उदाहरणको लागि गौतम बुद्ध, महात्मा गान्धी, नेल्सन मण्डेलाहरुलाई लिन सकिन्छ ।
मृत्यु अघिको यात्राले जीवनलाई संकेत गर्दछ र जीवनलाई पनि विभिन्न किसिमबाट परिभाषा गरिएको हुन्छ । जीवनलाई कसैले संघर्षको रुपमा लिएको पाइन्छ भने कसैले जीवन भनेको खुसी हो र कसरी खुसी हुन सकिन्छ त्यतैतिर लाग्नु पर्दछ भनेका पनि छन् । सरल अर्थमा भन्ने हो भने जन्मदेखि मृत्यु नहुन्जेलसम्मको अवधिमा मानिसले जे जति कार्य गरेको हुन्छ त्यही नै जीवन हो । अर्थात् मानिस जति बाँच्छ त्यो अवधिसम्म उसले गरेको कामको मूल्यांकन नै जीवन हो । त्यसैले मानिसले जीवनलाई सफलीभूत बनाउन राम्रो काम गर्नु पर्दछ ताकि उसले गरेका कामले अरुहरुका मन जित्न सकून् । यदि कुनै मानिसले राम्रो काम गरेको छ भने वर्तमान त उसको त्यसै राम्रो हुन्छ मृत्यु पछिको यात्रालाई पनि मानिसहरुले सम्झने गर्दछन् ।
मृत्युको बारेमा पनि विभिन्न अड्कलबाजी गरेका पाइन्छन् । हामीले अनुमानको आधारमा बुझ्ने होइन । यथार्थ के हो त्यो बुझ्न सक्नु पर्दछ । कुनै मानिसले फट्याँइँ गरेर धन सम्पत्ति जम्मा गरेको हुन्छ भने त्यसलाई राम्रो मान्न सकिन्न । किनकि उसको कार्यले न त वर्तमान राम्रो हुन सक्दछ न त भविष्य नै । व्यक्तिगतरुपमा उसले अवान्छित क्रियाकलाप अपनाएर सम्पत्ति जम्मा गर्न सक्दछ । तर, त्यसलाई अरुले राम्रो ठानेका हुँदैनन् । राम्रो हुनको लागि त उसले मृत्यु पछिको यात्रा पनि संझनलायक बनाउनु पर्दछ । यस्तो गर्न सकेको अवस्थामा मात्र मानिस बाचुन्जेल र मृत्यु पछि पनि सम्झन सक्दछन् । जीवनको सार्थकता भनेको यही नै हो ।
तर, अहिलेको मानिसमा यस प्रकारको भावना देखिंदैन । उसले जन्मको बारे बुझेको हुँदैन र मृत्युको बारेमा पनि बुझ्न चाहँदैन । उसको चाहना केवल धन सम्पत्तिमा नै गएको हुन्छ । धन सम्पत्ति पनि मानिसलाई चाहिन्छ नै न्यूनतम आवश्यकता परिपूर्ति गर्नको लागि । बढी सम्पत्तिले मानिसलाई असन्तुष्टिमात्र ल्याएको हुन्छ । सम्पत्ति कमाउन कै लागि उसले कुकर्म गर्न सक्दछ । यसले उसलाई तृष्णा र लालसा ल्याएको हुन्छ । जसको कारणबाट उसले नराम्रा काम गर्दै गएको हुन्छ । सँधै नराम्रा काममात्र गर्ने र राम्रा काम गर्दै नगर्दा मृत्यु अघि र मृत्यु पछिको यात्रा सम्झनलायक हुनै सक्दैनन् । यसरी मानिस जीवन यात्रालाई बुझ्नु पर्दछ ।
मानिसको मृत्यु पनि अनौठो लाग्दछ । मानिस किन मर्दछ । कहिले मर्दछ । मरे पछि उसको अवस्था के हुन्छ । कहाँ जान्छ । के गर्दछ भन्ने असंख्य प्रश्नहरु उब्जिएका हुन्छन् । तर, उत्तर पाउन सकिदैन । उत्तर नै पाउन सकिदैन भने यस्ता प्रश्न गर्नुको अर्थ केही हुँदैन । हुन त कसैले तर्क दिन सक्दछन् । तर्क यथार्थ हुन सक्दैन । यथार्थ भनेको हामीले जे देखेका छौं त्यसलाई पुष्टि गर्नसक्ने प्रमाणहरु छन् भने त्यो यथार्थ हुन्छ । अन्यथा भ्रम सिर्जना गर्ने काममात्र हुन सक्दछ ।
मृत्यु अघिको यात्रालाई सफल बनाउने हो भने मानिसले लोभ, लालचा, अनुचित कार्य र फट्याँइँजस्ता काम गर्नुबाट निकै पर रहनु पर्दछ । यस्ता कार्य गरेर मानिसले क्षणिक आनन्द र सन्तुष्टि लिन सक्ला । तर, यसले अन्ततः उसको जीवनलाई हानी गर्न सक्दछ र पछि आफूले गरेका कामबाट आफै पछुताउनु पर्छ । त्यसकारण मानिसले यो धर्तीमा बाँचुन्जेल सबैको भलो हुने काम गर्नु पर्दछ । यस्ता काम गर्न सकेको खण्डमा उसको मृत्यु अघिको यात्रा अरुले पनि स्मरण र अनुकरण गर्न सक्दछन् ।
प्रतिकृया दिनुहोस