• शनिबार-श्रावण-१२-२०८१

सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि महानगर र मानवसेवा आश्रमबीच योजना बैठक

काठमाडौँ । मानवसेवा आश्रम र काठमाडौँ महानगरपालिकाबीच उपत्कामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि २०७९ कात्तिक २८ गते  योजना तथा समिक्षा बैठक सम्पन्न भएको छ ।

 

राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवसेवा आश्रमद्वारा सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।

 

मानवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो ।

 

यस संस्थाले नागरिकहरुको मुठ्ठीदानको सहयोगमा असहाय तथा बेसहाराहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।

 

पछिल्लो समयमा तीनै तहका सरकारले हातेमालो गर्न शुरु गरेकाले उनीहरुको व्यवस्थापनमा केही सहज भए पनि अझै धेरै अपुग रहेको आश्रमले जनाएको छ ।

 

काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीच विस २०७४ मङ्सिर १ गतेदेखि औपचारिक सम्झौता भई सडकआश्रित मानवहरुको उद्धार हुँदै आइरहेको छ ।

 

उक्त समययता काठमाडौँ महानगरपालिकाभित्र रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि विभिन्न चरणमा सम्झौता एवं सडकआश्रित मानवहरुको उद्धार भइरहेको हो ।

 

कात्तिक २८ गते  सोमवार सम्पन्न बैठकमा मानवसेवा आश्रमको क्षमता अभिवृद्धिका साथै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको नगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताएका छन् । बैठकमा शाहले सडक आश्रित मानवको दीर्घकालीन व्यवस्थापनका लागि के कसरी गर्न सकिन्छ भनेर जिज्ञासा र परामर्श गरेका थिए ।

 

शाहले भने, “सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य गर्न तयार छौँ ।”

 

बैठकमा काठमाडौँ महानगरपालिकाको आर्थिक श्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माणका सन्दर्भमा गम्भीर छलफल भएको थियो ।

 

उक्त आश्रम निर्माणका लागि काठमाडौँ महानगरपालिकाले श्रोत उपलब्ध गाउने तथा नागार्जुन नगरपालिकाले वडा नम्बर ६, सेतो गुम्बासँगै जोडिएको बागेश्वरी मन्दिर परिसरको कित्ता नंम्बर ८२ र १८९ को करिब १८ रोपनी जग्गा उपलब्ध गराउने गरी सम्झौता समेत भइसकेको छ ।

 

बैठकमा नागार्जुन नगरपालिक–६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।

 

बैठकमा काठमाडौँको सडकमा रहेका व्यक्तिहरुमध्ये थोरैमात्र वास्तविक सहयोगापेक्षी हुने र धेरैजसो कुलत, लागुऔषध र माग्नेलाई नै पेशा बनाई स्वच्छन्द जीवनयापन गर्ने व्यक्तिहरु हुने भएकोले उनीहरुको व्यवस्थापन अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

 

उनीहरुको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको सामाजिक सेवा विभागले काठमाडौँभित्र रहेका सुधारगृहसँग समन्वयात्मक बैठक गर्ने र सडकबाट मानिसहरुको उद्धार गर्ने वित्तिकै वास्तविक सहयोगापेक्षी हो या पेशेवर मगन्ते वा मदिरा खाएर बस्ने व्यक्तिहरु हो भनेर छनोट गर्नका लागि अस्याथी स्क्रिनिङ सेन्टर सञ्चालनका लागि घर खोजी गरी आवश्यक कार्य अघि बढाउने निर्ण पनि आजको बैठकले गरेको छ।  

 

बैठकमा मानवसेवा आश्रमले काठमाडौँ महानगरपालिकाबाट उद्धार गरिएका व्यक्तिहरुमा एच.आई.भी, मुटु, कलेजो, फोक्सोको क्यान्सर वा मृगौला विगिए्रका व्यक्तिहरुको उद्धार पश्चात उपचार सम्भव नहुँदा मासिक औसतमा ४ जनाको निधन हुने विवरण पेश गरेको थियो ।


  यसरी मानिसहरुको निधन हुँदा शव व्यवस्थापनमा अहिले नियमित मासिक ५० हजारसम्मको खर्च आउने भएकोले यसको व्यवस्थापनका लागि महानगरपालिका, पशुपति आर्यघाट व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच छलफल गरी ठोस निर्णय गर्ने सहमतिसमेत भएको छ ।

 

त्यस्तै सडकपेटी र सार्वजनिक स्थलहरुबाट मानिसहरुको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिहरुलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरुको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई समेत प्रयोग गर्ने निर्णय पनि भएको छ ।

 

यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रुसमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारी समेत भएको छ ।

 

छलफल बैठकमा काठमाडौँ महानगरपालिकाका उप प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारी, कानून विभागका प्रमुख वसन्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।

 

मानवसेवा आश्रमले कामठाडौँ महानगरपालिकाका सडकबाट हालसम्म एक हजार ७०० बढीको उद्धार गरिसकेको छ ।  स्थान अभावका कारण ४०० बढीलाई अन्य जिल्लाका आश्रमको सेवा केन्द्रमा सारिएको छ भने ४५३ जनाको पारिवारिक पुनर्मिलन गराइएको बताएकाे छ । हाल आश्रममा २१३ जनाले सेवा पाइरहेका छन् ।

 

आश्रममा आइपुगेका १४५ जनाको निधन भइसकेको छ । ३०० जनालाई सामुदायिक पुनर्स्थापन गरिसकिएको बताएकाे छ भने ३०० बढी आश्रममा आएपश्चात सुधार भइ अब आफैँ केही काम गरेर कमाउने प्रतिबद्धतासहित आश्रमबाट  विदा भएका छन् ।

 

प्रतिकृया दिनुहोस