• शुक्रबार-बैशाख-७-२०८१

 नाथम आर्थिक अनियमितता र अराजक नेतृत्वका कारण बद्नाम र धराशायी

  पर्यटकीय जनशक्ति उत्पादनको क्षेत्रमा राम्रो काम गर्दै आइरहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) आर्थिक अनियमितता र अराजक नेतृत्वका कारण बद्नाम र धराशायी हुन थालेको छ ।

नेतृत्वमा देखिएको अक्षमताका कारण अनावश्यक आर्थिक भार ब्यहोर्नु परिरहेको गुनासो पनि सुनिएको छ । त्यसको पछिल्लो उदाहरण नाथमको शाखा विस्तारमा देखिएको छ ।

 

आर्थिक बर्ष २०७९÷०८० मा प्रदेशस्तरमा शाखा विस्तार गर्ने भनिएको थियो । त्यही क्रममा झापाको विर्तामोड, महोत्तरीको वर्दिवास र बाँकेको नेपालगञ्जमा शाखा विस्तार गर्ने निर्णय भएको थियो ।


  ती शाखाबाट होटल तथा ट्राभल, ट्रेकिङ विषयमा मध्यम तथा उच्च गुणस्तरको जनशक्ति विकास गर्ने भनिएको थियो । ती क्षेत्रमा शाखा चल्ने कि नचल्ने हो ? भन्ने सामान्य अध्ययनसमेत नगरी शाखा विस्तार गर्ने निर्णय गरियो र अहिले ती न बन्द गर्ने न चलाउन सक्ने अवस्थामा पुगेका छन् ।

 

पहिलो बर्षमा नै यस्तो समस्यादेखि छ । तर, नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती त्यसमा मौनमात्र छैनन, आर्थिक लाभको प्रयासबाहेक केही पनि गरिरहेका छैनन् ।


   नाथमको कानूनी व्यवस्था अनुसार र त्रिभुवन विश्वाविद्यालयको कानुनी व्यवस्था अनुसार शाखालाई सम्बन्ध दिन मिल्दैन थियो । त्यही कानूनी आधारमा त्रिविले शाखालाई सम्बन्धन दिएन । तर, नाथम पदाधिकारीले काठमाडौं विश्वविद्यालयसँग आर्थिक लेनदेन गरेर कानुन विपरीत शाखाको नाममा सम्बन्धन दिलाएका छन् ।

 

त्यतिबेला ६० लाख रुपैयाँ खर्च गरेको बताइएको छ । तर, अहिले वर्दिवासको शाखामा १७ जना विद्यार्थी रहेका छन् भने विर्तामोड र नेपालगञ्जको शाखामा विद्यार्थी नै आएका छैनन् ।


   करिब ६० जना विद्यार्थी नहुने हो भने नाथम चलाउने खर्च धान्न नै समस्या हुन्छ । तर, कार्यकारी निर्देशक उप्रेतीले भने त्यसमा सामान्य ध्यान पनि नदिएको पर्यटन मन्त्रालय स्रोतले बताएको छ । पर्यटनसम्बन्धी सामान्य ज्ञान पनि नभएका उप्रेतीलाई तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले आर्थिक लाभमा कार्यकारी निर्देशक बनाएको आरोप लागेको छ ।

 

२७ वर्ष भौतिक योजना मन्त्रालयको योजना महाशाखामा बसेका उप्रेती केही वर्ष श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभागमा काम गरेका थिए ।


   त्यहाँ जागिर खाँदा पनि अतिरिक्त आम्दानी गरेर सम्पत्ति जोडेको आरोप पनि लागेको छ । त्यही आरोप छल्न उप्रेती अवकाशको अन्तिम समयमा मन्त्री आलेलाई फकाएर नाथम पुगेको चर्चा पर्यटन मन्त्रालयमा हुने गरेको छ । २७ वर्ष भौतिक योजना मन्त्रालयको योजना महाशाखामै विताएका उप्रेतीमाथि अकुत सम्पत्ति कमाएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको पनि बताइएको छ ।


  उप्रेती अहिलेमात्र होइन सुरुदेखि नै विवादमा रहेका छन् । नाथममा पर्यटन नबुझेको व्यक्ति आएको भनेर त्यहाँ कर्मचारीले पहिलादेखि नै विरोध गरेका थिए । त्यसो त, कार्यकक्षमै टिकटिक बनाउने र विहानदेखि नै मदिरापान गरेर बस्ने गरेका छन् । काम गर्न छोडेर मदिरापानमै मस्त हुने गरेको भनेर कर्मचारीले विरोध पनि गर्दे आएका छन ।


     कतिसम्म भने गत साउनमा पर्यटमन्त्री जीवनराम श्रेष्ठको नेतृत्वमा पर्यटन सचिव सुरेश अधिकारी र उनै उप्रेती नाथमको अर्को २०७९ खाका लागि जग्गा हेर्न गएका थिए । बिहानैदेखि मापसेमा लठ्ठ पर्ने गरेको आरोप लागेका उप्रेतीकै कारण मन्त्री श्रेष्ठ र सचिव अधिकारी तनाबमा परेका थिए । त्यसो त, प्रेम आले मन्त्री हुँदा यस्तै घटना भएका पछि मन्त्री आलेले उप्रेतीलाई वानेश्वर जम्बु थकाली रेस्टुेन्टमा गालीगलौजमात्र गरेका थिएनन, बर्खास्तै गर्नेसम्मको धम्की दिएका थिए ।


  त्यसैगरी, कार्यकारी निर्देशक उप्रेतीको अक्षमताका कारण नाथमले चलाउने भनिएको होटल पनि वेवारिसे भएको छ । करिब १२ करोड लगानीमा थ्रीस्टार होटलका लागि भवन ठेक्कामा दिएको छ ।

 

उक्त होटल एनआरएन भवन भट्टको समूहले चलाउने भनेर भवन ठेक्का पाएका छन् । उक्त भवनमा न यो समूहले लगानी गर्न सकेको छ न त नाथमले पनि पहल गर्न सकेको छ । केही वर्षदेखि खण्डहरजस्तो भएर राज्यको सम्पत्ति खेर गइरहेको छ ।


  त्यसमा उप्रेतीले सामान्य चासोसमेत नदिएको कर्मचारीहरुको भनाइ छ । जहाँ धेरै कमिशन आउँछ, त्यहीमात्र हात हाल्ने उप्रेतीले अनधिकृत रुपमा कार्यालय परिसरमा सिटिजन बैंकको काउन्टर खोलाएका छन्, त्यसबापत ५ लाख कमिशन लिएको आरोप पनि लागेको छ ।

 

उप्रेतीले टुरिजम कन्क्लेभको नाममा दाताबाट रकम उठाएको तर नाथमको खर्च देखाएर लाभ लिएको र अहिलेसम्म हिसाब मिलाउन गर्न नसकेको पनि बताईएको छ । त्यसैले, अहिले नाथमका कर्मचारी नै उप्रेतीका अनियमित कृयाकलापको विरुद्ध  उत्रिएको खबर छ ।

 

प्रतिकृया दिनुहोस