• आइतबार-बैशाख-२३-२०८१

कसले कसलाई छिर्के हान्ने ?

 

सत्ताको खेलोफड्को र हानथापमा मात्र रमाउने शेर वहादुर देउवाले फेरि संविधानको ७६ (२) बाट बनेको प्रचण्ड नेतृत्वको सरकारलाई छिर्के हान्ने निष्कृट कार्य गरे, गर्दैछन् । मुलुकमा जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान माथि अनेकौं प्रकारका षडयन्त्र तथा प्रतिगामी हर्कत बढ्दै गएको अवस्थामा संसदमा रहेको ठूलो दलले प्रतिपक्षको एउटा जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्नेमा छिर्के दाउ खेल्दै फेरिपनि सत्ताको बार्गेनिङ गर्दैछ । 


एमाले सहितको वाम सत्ता गठबन्धनलाई राष्ट्रिय अवस्था तथा आवश्यकता अनुसार सिर्जनात्मक प्रतिपक्षी भूमिका खेल्नुपर्नेमा सत्ताको भाग खाएरै प्रतिपक्षी भूमिकामा बस्ने खाले सोच तथा चिन्तनका साथ काँग्रेस अघि आउनु लोकतान्त्रिक अभ्यासको उल्टो गति भएको छ । यस्ता छिर्के खेलबाट उमेरमा मात्रै छिप्पिएको तर, व्यवहार सुझबुझमा कांग्रेसको बच्कना फेरि ना¨िएको स्पष्ट भएको छ ।


कांग्रेसको ओरालो गति ! 
सत्ताको खेलोफड्कोमा कहिल्यै नथाक्ने र खानको लागि आफूलाई जे जस्तोसुकै अवस्थाबाट पेश गर्ने देउवा पक्षीय काँग्रेसले उसको बचेको थोरै साख पनि धुलोमा मिलायो । कानूनी प्रबन्ध तथा संसदीय अभ्यास अनुसार सरकारलाई समर्थन गरेपछि प्रतिपक्षीय संवैधानिक भूमिकाबाट समेत काँग्रेस विमुख बन्यो । उसले राजनीतिक, सामाजिक तथा नैतिक मूल्य गुमायो ।

 

सत्ताको खेलोफड्कोमा जे पनि गर्ने देउवा जसले विगतमा पनि सत्ताको लागि सुरासुन्दरी काण्ड, सांसद थाइल्याण्ड भ्रमण काण्ड, भ्रष्टाचारका अनेकौं काण्ड, कुशासनको थाकैथाकदेखि लिएर लोकतन्त्रको स्थापित मूल्य र मान्यता पुरै च्यातच्यूत नै पारेकै हुन् । उनै पात्र फेरि सत्ताको छिर्के दाउ खेल्दै वामपन्थी र लोकतान्त्रिक गठबन्धनको सरकार गठबन्धनमा भाँजो हाल्ने र आफूले पनि सत्ताको भाग खाने लोभमा परेको देखियो । यसमा नजानिँदो ढंगले प्रधानमन्त्री प्रचण्ड स्वयम् पनि फसेका त होइनन् भन्ने आशंका पनि जन्मिएको छ । कांग्रेसको यही बच्कना हर्कतका कारण उसको संसदीय अभ्यास र दलीय संस्कृतिप्रतिको साख गिर्दै ओरालो गति सुरु भएको छ ।


छिर्के कि लोकतान्त्रिक अभ्यास ?
लोकतन्त्र एउटा असल र उत्तम शासन प्रणाली हो । विश्वको सर्वस्वीकार्य विधि पनि हो । जनताको आफ्नो प्रणाली हो । नागरिक शासनको सर्वाेकृष्ट नमुना हो । नागरिक स्वतन्त्रताको रक्षा गर्ने राम्रो तरिका हो । भूराजनीतिमा आएको एउटा असल अभ्यास र प्रणाली हो । यस्तो प्रणाली र विधि संचालनका लागि विश्वमा विभिन्न नमुना तथा अभ्यास भएपनि मूलतः विधिको शासन, संविधानवाद, दलीय प्रजातन्त्र, आवधिक निर्वाचन, स्वतन्त्र र सक्षम न्यायलय, जिम्मेवार राजनीतिक दल, जिम्मेवार र रचनात्मक भूमिका खेल्न सक्ने प्रतिपक्षी दल, स्वतन्त्र सञ्चार मान्यम तथा सचेत र जागरुक नागरिक समाज आदिको भूमिकाले लोकतान्त्रिक प्रणाली सुदृढ बन्ने तथा विकसित हुँदै जाने हो, गएको पनि छ ।

 

 यसर्थ लोकतन्त्रका यस्ता विश्वव्यापी मूल्य र मान्यतालाई बल पुग्ने हाम्रा राजनीतिक कार्यभार, व्यवहार, विधि तथा कार्यशैली हुनपर्नेमा पटकपटक सत्ताको स्वाद चाख्दै आएको काँग्रेसले अहिले गर्न खोजेको व्यवहार ‘न खोलावारी न खोलापारी’ जस्तो भयो । अलोकतान्त्रिक भयो । गलत अभ्यास र परम्परालाई प्रोत्साहन गर्ने खालको भयो । एउटा जिम्मेवार दलको भूमिका पनि जिम्मेवारपूर्ण हुनुपर्नेमा केवल छिर्के हान्ने र सत्ताको खालमा च्याँखे राख्नेदेखि बाहेक केही भएन । यस्तो प्रवृत्ति र सोचबाट लोकतान्त्रिक अभ्यास कमजोर तथा बदनाम हुने खतरा बढायो ।


मन्त्रिमण्डल कि चटके समूह ?
संघीय मन्त्रिपरिषद मुलुुकको कार्यकारिणी अधिकार भएको महत्वपूर्ण अंग हो । शासन, प्रशासन, बजेट, राज्यको नीति निर्माण, सुरक्षा, वैदेशिक सम्बन्ध, मुलुकको विकास तथा समृद्धिका अनेकौं पक्षमा दिशानिर्देश गर्ने तथा नीतिगत दृष्टिकोणबाट नेपाललाई एउटा स्पष्ट गति दिने आधारभूत अंग वा निकाय वा पक्ष सरकार हो । संविधानले कार्यकारी अधिकार संविधान अनुसार मन्त्रिपरिषदमा दिएकोले संविधान, कानुन तथा लोकतान्त्रिक अभ्यास अनुकूल सत्ता संचालन हुनुपर्नेमा सस्तो लोकप्रियता, स्टन्टवाजी, प्रचारवाजी, मिडियावाजी र खासमा देखावटी हल्का चर्चा गर्ने एउटा हल्लाखोर चटके समूह जस्तो हुने लक्षण सरकारले देखाउन थालेको आभार हुँदैछ । उपप्रधानमन्त्री नारायणकाजी, उप तथा गृहमन्त्री रवि लामिछाने देखि अन्य मन्त्रीका कार्यशैली हेर्दा त्यस्तो देखिन्छ । 


 राज्यको आवश्यकता एकातर्फ मन्त्री अर्काेतिर जस्तो हुँदैछ । बसमा उभिएर यात्रा गरेको कुरालाई गृहमन्त्रीले ठूलो काम गरेको देखाउन युट्युबर र मिडिया बोक्ने कार्यले सरकारलाई फिल्मी र चटके बनायो । हुन त लामिछाने स्वयम् चटके हुन् भन्दा पनि हुन्छ । चटकै गरेर आए । चटकै गर्दै बिदा हुने लक्षणहरु देखिंदैछन् । त्यो प्रष्टै भयो । त्यो उनको आधारभूत चरित्र, स्वभाव र मूल क्षमता हो । त्यहाँभन्दा माथि लामिछाने जानै सक्दैनन् ।


  यसमा केही भएन । तर एउटा लामो इतिहास, राजनीतिक संघर्ष, विचार र दृष्टिकोण सहित सांगठानिक क्रिया गर्दै स्थापित भएका नारायणकाजी पनि उही लामिछानेकै पाराले अघि बढ्न खोजे । यो राजनीतिज्ञहरुका लागि चाहिं पटक्कै सुहाएन । देखाउनको लागि मात्र देखाउने होइन । कि त ठाउँको ठाउँ ठ्याक्कै सुधार, परिवर्तन तथा फेरबदल ल्याउन सक्नु प¥यो । होइन भने कसलाई के देखाउन यो नौटंकी गर्नु ? मन्त्रिपरिषद्ले मूलतः पूर्णता पाईसकेको अवस्था छ । 


अब केही दिन त नयाँलाई सोध्न, बुझ्न, सोच्न, हेर्न र अघि बढ्नको लागि समय दिनैपर्दछ । त्यसपछि भने मन्त्रीहरूले आफ्नो मन्त्रालयको गाडी, इन्जिन, बाटो र अवस्था अनुसार गियर चेन्ज गर्नैपर्दछ । जो आएपनि उही हुने भए किन र केका लागि प्रचण्डको सरकारलाई एमाले जस्तो पार्टीले टेकोपुँडो लगाउने ? राजनीतिक स्थिरता, परिवर्तन, सुधार, विकास, समृद्धि, सुशासन, विधिको शासन, नागरिक आवश्यकता र अवस्थामा तात्विक परिवर्तन नहुने हो भने ‘देउवा–ढेउवा’को सरकार भन्दा कुन मानेमा फरक हुने भयो त ? मन्त्रीको पदमा दुई दर्जन टाउका मात्र परिवर्तनको लागि २०७९ मंसिर ४ को चुनाव गर्नुपरेको हो त ? त्यो पटक्कै होइन, हुन सक्दैन । जनमतको हिसाबले सहज ढंगले काम गर्न सक्ने अवस्था चुनावले दिएन । तरपनि जे जस्तो अवस्था र दलीय संख्या रहेको छ त्यसैबाट अधिकतम् सुधार तथा परिवर्तन गर्नुको विकल्प रहेन । 


संविधानको खिल्ली उडाउने ?
नयाँ संघीय गणतान्त्रिक संविधान लागू भएपछिको दोस्रो निर्वाचनबाट नयाँ सरकार बन्यो । विश्वको संवैधानिक, राजनीतिक तथा दलीय अभ्यासको दृष्टिमा यो समय अत्यन्त छोटो हो । विश्वको प्रजातान्त्रिक अभ्यासलाई सवल, सुदृढ तथा सम्पन्न बनाउन अनेकौं संघर्ष भए । नेपालमा पनि लामो राजनीतिक, संवैधानिक तथा कानुनी संघर्षबाट नयाँ संविधान लागू भएको हो । यस्तो कलिलो र काँचो संविधानप्रति अनेकौं प्रतिगामी र प्रणाली विरोधी तत्व सलबलाएका छन् । 


यस्तो अवस्थामा लोकतन्त्रप्रेमी नेपाली कांग्रेस, एमाले र गणतन्त्र ल्याउन भूमिका भएको माओवादी र नेताको दृष्टिमा प्रम प्रचण्डको अग्रिणी तथा चौतर्फी भूमिका रहेको प्रष्टै छ । जब लोकतन्त्र र प्रणालीमाथि नै खतरा आउने गरी प्रतिगामी षडयन्त्र बाहिर आउँदै गरेको स्थिति हुन्छ भने अब सत्ताको छिर्के हान्ने कामलाई बन्द गर्नैपर्दछ । 


सत्तामा को आउने र जाने मूल प्रश्न होइन, हुँदैन । प्रणाली, विधि, राजनीतिक अधिकार, नागरिक शासन र जनताको शासनलाई कसरी सुदृढ बनाउने भन्ने कुुरा मूल भएकोले छिर्के र छिनाझप्टीबाट एकले अर्काेलाई कमजोर पार्ने खेलले कसैको भलो गर्दैन । विगतमा पनि त्यस्तै गर्दा भलो गरेन । यो सत्यलाई सबैले आत्मसात गर्नु आजको प्राथमिक आवश्यकता हो ।
 

प्रतिकृया दिनुहोस