• शुक्रबार-चैत-१६-२०८०

बाटो बिराएको जँड्याहा जस्तो बन्यो प्रचण्ड सत्ता 

सत्तागठबन्धनको एकसय दिन पूरा भए पनि सरकारले पूर्णता पाएको छैन । सरकारको प्रमुख घटक काँग्रेस र स्वयम् माओवादीमा समेत चरम असन्तुष्टि र अन्यौलता बढ्यो । सरकार गठनले पूर्णता पाइनसक्दै सरकार विघटनको हल्ला र दिनगन्ती सुरु भएको छ । नेपालको इतिहासमा यति धेरै अस्थिर, अलोकप्रिय र बेकामे सरकार कहिल्यै रहेन । यसैबिच प्रचण्डको सरकारी पद बढेसँगै राजनीतिक र नैतिक कद चाहिँ घट्दै गएकोे छ । प्रचण्ड स्वयम् फौजदारी कसूरमा जेल जान सक्ने सम्भावना बढेको छ । सत्ताको छटपटाहटले ‘खाने काम आजै सक्नु पर्दछ’ भन्ने खँचुवा सोचका कारण कतिछिटो केके लुट्ने त्यसमा मात्र मन्त्रीको ध्यान जान थाल्यो । 


काँग्रेसमा सत्ता संग्राम
 सत्ता, शक्ति, पद र पैसालाई मात्र राजनीतिक जीवनको अन्तिम लक्ष्य बनाएका काँग्रेसी नेताहरूमा सत्ताको तर मार्न तँछाडमछाड देखिन्छ । मुलुकको सबैभन्दा पुरानो इतिहास र संघर्षको जगमा उदाएको काँग्रेस अहिले चाहिँ सत्ता स्वार्थमा झनबढी चुर्लुम्म डुबेको छ । अब फेरि कहिल्यै खान पाइन्न भने जस्तो गरी काँग्रेसीहरू सत्ताका विभिन्न अंगमा पुग्न ‘दाइ जयनेपाल’ भन्दै दैलोमा पुग्न थालेका छन । काँग्रेस पार्टी अनेकौं गुट–उपगुटको ‘महाँसंघ’ देखि बाहेक केही रहेन । स्वार्थ समूह, गुट समूह र राज्यसत्तामा लुट्नको लागि ‘काम मिलाउने समूह र गिरोह’ मात्र रह्यो । सरकारी ठेक्का–पट्टा, सरुवा–बढुवा र पैसाको चलखेल एउटा ठूलो गिरोह संचालनमा काँग्रेसीहरूले ‘लिमिटेड कम्पनी’ बनाएका छन् । 


  मुलुकको विकास, स्थिरता, सुशासन, प्रगति, समृद्धि र संविधानको सार्थक कार्यान्वयनमा काँग्रेसको कहिल्यै ध्यान नै गएन । खान र लुट्न मात्र काँग्रेसी समूह र पुरै नेतृत्व लाग्यो । काँग्रसमा देउवा समूहमा पनि खान पाउने, खाने लाइनमा हुने र खानै नपाउनेको समूह छुट्टिएको छ । अर्काेतर्फ देउवा इतरका काँग्रेसीहरू देउवालाई कसरी पल्टाउने भन्ने ध्यानमा देखिन्छन् । यसरी सरकार गठनले पूर्णता नपाउँदै प्रचण्डको सरकारको दिनगन्ती सुरु हुन थालेको छ । 


प्रचण्डको पार्टी तहसनहन
सत्ताको नाइके बनेर भाग लगाउने ठाउँमा पुगेका प्रचण्ड स्वयम्को दल छिन्नभिन्न र तहसनहस हुने अवस्थामा पुगेको छ । प्रचण्डको वरिपरि बसेर जहिल्यै चिल्लो, मिठोमसिनो र तरमार्न पल्केका ‘चैते छापामार’ र थोरै अवसर पाएका ‘खाटी छापामार’ बिचमा मारामार सुरु भएको छ । त्यसको संकेत पूर्वसभामुख कृष्णबहादुर महरा, जनार्दन शर्मा, लिलामणि पोखरेल आदिको मुखबाट बाहिर आएको छ । सत्ताको लागि जेजस्तोसुकै सम्झौता गर्न तयार प्रचण्डले उपनिर्वाचनका तीनवटै क्षेत्रमा माओवादीलाई ‘प्याक’ गरे । मैदान पुरै गठबन्धनको नाममा काँग्रेस–उपेन्द्रलाई सुम्पिए । स्थानीय स्तरमा जहिल्यै आफूहरू माओवादी भनि चिनिएका र अन्य दलसँग राजनीतिक, वैचारिक र भौतिक संघर्ष गर्दै आएका माओवादीका कार्यकर्ताहरू ‘घार र रानी’ झिकेर कसैले लगेको जस्तो घार वरिपरी मसिनो स्वरमा भुइँभुइँ गर्नमा सीमित देखिन्छन् । 


नेतृत्वको यस्तो पार्टीलाई ‘हाप्ने’ प्रवृत्तिदेखि उनीहरू भिजेका मुसा जस्ता भएर बसेका छन् । प्रचण्डको सत्ता भए पनि भाग लगाउने ठाउँमा काँग्रेसीहरू र अन्य शक्ति रहेकाले प्रचण्डले आफ्ना दलकालाई चाहेको दिन नसक्दा असन्तुुष्टी चुलिएको छ । यस्तो चालले उनकै दलका नेताहरू प्रचण्डको सत्ता कहिले ढल्ला र अर्काे गठबन्धमा चाहिँ खाउँला भन्ने सोचले अघि बढेका छन् । सत्ता बाहिर हुँदा अनेकौं झुट्टा र फोस्रा विषयमा सडकमा जुलुस लगाउने प्रचण्डको दल अहिले ‘न हाँसको चाल, न कुखुराको चाल’मा पुगेको छ । 


सडकमा हिंस्रक जुुुलुस पनि लगाउने, एकै पटक संसदबाट एमसीसी पनि पास गर्ने प्रचण्ड प्रवृत्तिबाट उनको दलका खास माओवादी वाक्क भईसकेका देखिन्छन् । २०६४ यतका दिनमा नौ टुक्रामा विचाजित भईसकेको माओवादी दल अहिले फेरि पहिरो जानको लागि ठाउँठाउँमा चिरा पर्दै पटटट् गर्दै चर्किन थालेको छ । सत्ताबाट बाहिर पुग्ने वित्तिकै प्रचण्डको दल शिवरात्रीमा पशुपतिमा माग्न आएका विहारी जोगी जस्तो हालतमा पुग्ने प्रस्ट देखिन्छ । 


जेठ १५ पहिलो खड्को 
    जेठ १५ गते आउने संघीय सरकारको बजेट पूर्वको नीति तथा कार्यक्रम पारित नभई प्रचण्डको सत्ता ढल्यो भने अचम्म नहुने भएको छ । काँग्रेस सहितका दस टाउका मिलेर बनेको सरकार २०८० वैशाख १० को उपनिर्वाचन पछि देखि नै समस्यामा पर्न थाल्ने प्रस्ट देखियो । निर्वाचन पछि रवि लामिछानेको अवस्था केकस्तो हुने हो ? उनले जित्ने हुन वा हार्ने भन्ने टुङ्गो भएन । उनी जिते पनि ३–४ महिनामा फेरि उनको पद चट हुने अवस्था बलियो भयो । पासपोर्टमा जेल नै पर्न सक्ने स्थिति पनि छ । कथंकदाचित उनले चितवनबाट जिते फेरि गृहमन्त्रीको दाबी गर्ने हुन् कि केहो भन्ने पनि प्रश्न छ । यद्यपि यसपाली उनले जित्छन् भन्ने केही ग्यारेन्टी चाहिँ छैन । 


७६ को (३) मा जाने काँग्रेसी दाउ
नेपालको संविधानको धारा ७६ को (३) मा पु¥याएर संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नै एकलौटी सरकार चलाउने र एमालेको समर्थनमा टिक्ने जस्तो अवस्था ल्याउन पनि काँग्रेसीहरू लागेका छन् । कुनै विस्वास नभएका धोकेवाज प्रचण्डलाई ठाउँ पाउने वित्तिकै सत्ताबाट खसाल्न काँग्रेसमा देउवा समूह नै लागेको छ । १ सय दिन नाघेर अघि बढ्दा पनि सरकारले पूर्णता नपाउनु, काँग्रेमा सत्ताको लाम्टो चुस्नको लागि हानथाप र तँछाडमछाड हुनु र अन्य आन्तरिक एवम् वाह्य कारणले प्रचण्डको सत्ताको दिनगन्ती सुरु भएको हो । मात्र ३४ सिटको तेस्रो दल भएर पनि सत्ताको नेतृत्व गर्न पाएको माओवादीका प्रचण्ड चौतर्फी घेराबन्दीमा पुगेका छन् । 


द्वन्द्वकालीन अपराधमा नेपालमा सजाय नभए नेदरल्याण्डको हेग नै पु¥याउने नीति, योजना र लक्ष्यका साथ द्वन्द्वपीडित अघि बढेकाले पनि प्रचण्ड तर्सिएका देखिन्छन् । सशस्त्र संघर्षका नाममा आफ्ना कार्यकर्तालाई चितवनको धु्रबे हात्ती जस्तो छाडा बनाएर जताततै व्यक्ति हत्या र फौजदारी अपराधमा संलग्न भएका कारण प्रचण्ड स्वयम् जेल जान सक्ने सम्भावना पनि देखियो । यही कारण राजनीतिक, नैतिक, सामाजिक र सबै दृष्टिका नेपाली जनताबाट पाखा पर्दै गएका काँग्रेसीहरूलाई टेकोपुँडो दिन पुगे । तापनि उनले गरेका द्वन्द्वकालीन अपराधमा फस्ने स्थिति आएपछि उनी त्रसित देखिन्छन् । यसरी चारतर्फ फर्केका स्वार्थका दश टाउके झुण्ड बटुलेर सत्तामा रहेका प्रचण्ड सरकारले पूर्णता नपाउँदै कहिले ढल्ने भन्ने दिनगन्ती नै सुरु भएको छ । 
यसले नेपालको राजनीतिमा इतिहासमा कहिल्यै नभएको अस्थिरता, अराजकता, अन्यौलता तथा विकृति फैलिएको छ । कुनै पनि नीति, उद्देश्य, कार्यक्रम, प्राथमिकता नभएका प्रचण्डले केपी ओलीको पुरानो इवि साँधन मात्र संविधानको रक्षा भन्ने मन्त्र जप्ने गरे । यद्यपि प्रचण्डको सत्ता आएपछि संविधान र गणतान्त्रिक प्रणालीको विरुद्ध नै अनेकौं कोणबाट विरोध बढाइएका छन् । पूर्वराजा नै भाषणमा उत्रे । प्रचण्डको संकीर्ण सोचका कारण कहिल्यै नभएको अन्यौलता देखिन्छ । सरकारको कुनै प्राथमिकता नभएकोले ‘राती बाटो बिराएको जँड्याहा जस्तो’ गतिमा प्रचण्ड अघि बढेको देखिन्छ । संविधान र गणतान्त्रिक प्रणालीको रक्षा र समृद्धिको लागि काँग्रेस र एमालेकाबिच फेरि सैद्धान्तिक र कार्यगत सहकार्यको खाँचो बढ्यो । 

प्रतिकृया दिनुहोस