• बिहीबार-जेठ-३१-२०८१

नेपाली राजनीति : आलु–तामा कि आलु–काउली ?

 

नेपाली राजनीतिक इतिहासमा २००७ साल अघिको राजनीतिक, सामाजिक र सांस्कृतिक संघर्षको बलमा प्रजातन्त्र आयो । यद्यपि २०१७ सालमा त्यसको गला रोपियो । एकदलीयता लादियो । ३० वर्षे संघर्षबाट २०४६ सालमा बहुदल आयो । फेरि सशस्त्र युद्धको नाममा मुलुकलाई ध्वस्त पारियो । त्यसपछिका अनेकौं राजनीतिक–सामाजिक संघर्षको जगमा गणतन्त्र ल्याइयो । यी र यस्ता ऐतिहासिक क्रान्ति, संघर्ष र परिवर्तनहरूमा कुनै पनि योगदान नभएका ठग र चटकेहरू चाहिँ अहिले ठूला कुरा गर्दैछन् । 


उनीहरू जनताको परिवर्तनलाई जिब्रो चपाएर समर्थन गर्दैछन् । राजनीतिमा देखिएका अनेकौं ढोँगी, लोभी तथा जोकरीको कारण मुलुकको संघीय गणतान्त्रिक प्रणालीमाथि धावा बोल्न खोजियो । 


राजनीतिमा आएको जोकरी, अविश्वास, धोका र बेइमानीको कारण गत मंसिर ४ को निर्वाचनमा इतिहासमा कुनै भूमिका नभएका हुर्दुङ्गाले समेत स्थान पाए । राप्रपा जस्ता प्रतिगामी तत्व पनि संसदमा आए । यसले राजनीतिलाई थप अस्थिर बनायो । २०८० साल वैशाख १० गतेको उपनिर्वाचन नजिक आउँदा चटके र जोकरको नाटक थप बढ्दै गएको छ । रवि लामिछाने राजनीतिमा नव जोकरको अर्काे नाम र पात्र हुन् । जसले राजनीतिलाई कालो धुलो छर्ने काम ग¥यो । उनका नाटक र चटक बढे ।

 

राजनीतिलाई स्वादिलो व्यापार ठान्दै हामफालेका रविसँग कुनै नीति, सोच, दृष्टिकोण र दर्शननै छैन । राजनीतिक संघर्ष, क्रान्तिमा भूमिका, सामाजिक संघर्ष नभई एकै पटक स्टन्ट, जोकर जस्तै ठुलो श्वरमा आलोचना र अरुलाई आक्षेप लगाएको भरमा बिक्न खोज्दैछन् । के राजनीति हाँडीगाउँको जात्राको व्यापार हो ? के राजनीति रत्नपार्कको चटकेको गानोगोला बेच्ने अस्त्र हो ? के राजनीति ढाँट र छल मात्र गर्ने  अभियान हो ? के राजनीति मौसमी नगदेबालीबाट फाइदा लिएजस्तो नाफाको व्यापार हो ? के राजनीति मूल्यहीन, आदर्शहीन, संस्कारहीन र नैतिकताहीन दर्शन हो ? राजनीति अरुलाई उल्लु बनाउने अस्त्र मात्र ठान्ने रविले खसीको टाउको देखाएर सँुगुरको मासु बेच्ने थलो सम्झेर उदाएका हुन् ? जसले गर्दा चुनावमा अनेक चटक, स्टन्ट, नौटंकी, नाटक, अनेक हर्कत देखाएर भोट तान्ने मात्र काम गरियो, गर्दैछन् । 


जोकर प्रवृत्ति बाहेक कुनै नीति नभएका रविको पार्टीको राजनीतिक सिद्धान्त, दर्शन, मूल्य, आधारभूत मान्यता मात्र होइन वर्तमान संघीय गणतान्त्रिक र समावेशी लोकतन्त्रप्रतिसमेत कुनै प्रस्ट प्रतिबद्धता नै देखिन्न । उनी खासमा गणतन्त्रवादी, प्रजातन्त्रवादी, प्रतिगामी, राजावादी, समाजवादी, जनवादी के हुन् ? केही छैन । काभ्रेको पाँचखालको आलु जस्तो नीति, सोच, प्रवृत्ति, तरिका र दृष्टि रविमा देखियो । काउलीमा हाल्दा आलु–काउली देखिने । तामामा हाल्दा आलु–तामा देखिने । रविको यस्तो जोकरीपूर्ण सोचले नेपाली राजनीति धमिलो भयो ।  


स्टन्ट र चुनाव
राजनीतिलाई एउटा चटक, स्टन्ट र पाखण्डीपूर्ण विषय बनाएर युवालाई भ्रमित पार्ने रविले यसका न्यूनतम मूल्य, मान्यता, आदर्श र संस्कार ध्वस्त गरेकाले युवाहरूको राजनीतिलाई हेर्ने र बुझ्ने सोचनै कमजोर हुँदैछ । लोकतान्त्रिक गणतान्तिक मूल्य, आदर्श र स्थापित मान्यतालाई पाखण्डीपूर्ण तरिकाले प्रहार गर्दा हाम्रा प्रणाली कमजोर बनाउने अवस्था छ । 


चुनाव जित्न जस्तोसुकै हर्कत र हत्कण्डा अपनाउने सोचले लोकतन्त्र बलियो बन्नै दिइएन । राजनीतिक मूल्यबाट च्यूत पार्न खोजियो । के राजनीति भनेको जस्तोसुकै हर्कत, तरिका, विधि, झुट र वाहियात भ्रम फैल्याएर चुनाव जित्ने साधन मात्र हो ? चुनावदेखि चुनावसम्म मात्र राजनीतिको कार्य हो ? राजनीतिमा स्थापित हुन र टिक्न जसरी पनि चुनाव जित्नै पर्दछ ? आखिर किन यस्तो हुँदैछ ? किन बिक्छन् चटकेका गानुगोला ?

 

किन मूल्य, संस्कार र आदर्शको राजनीतिप्रति नागरिकको पूर्ण एवम् अकाट्य समर्थन हुन सकेन ? यस्ता अनेक सवाल आजको लोकतान्त्रिक गणतन्त्रमा आएको छ । जबसम्म सिद्धान्तनिष्ठ र नैतिकवान नेताको जन्म हुँदैन तबसम्म नागरिकले गानागोलाको ओखति बेच्ने चटकेको झुटलाई विश्वास गर्नेछन्, त्यसपछि नेपाली राजनीति र समाज झनझन थला पर्नेछ । मुलुकमा राजनीतिक र सामाजिक रोग बढ्नेछ । 


राजनीतिमा गानागोला ओखति बेच्ने चटक !
नेपाली राजनीतिमा केही समय अघिदेखि गानागोला ओखति बेच्नेको चटके खेतीपाती सप्रेको देखिन्छ । राजनीतिमा देखिएका चटके प्रवृत्ति र व्यक्तिले राजनीतिक मूल्य, मान्यता, दर्शन, संस्कार  र संस्कृति मात्र ध्वस्त पारेन, पुरै समाजलाई भ्रमित, भ्रष्ट र पतित पा¥यो, पार्दैछ । राजनीतिमा आउन कुनै राजनीतिक, सामाजिक, साँगठानिक एवम् सैद्धान्तिक आधार नभएका हुर्दुङ्गा, उरन्ठेउला, आवारा, गैरजिम्मेवार, ढोँगी, स्वार्थी, लोभी र सारमा पुरै जोकरी प्रवृत्ति अहिले अचानक मौलायो । रवि लामिछाने एउटा त्यस्ता खलपात्र र जोकर देखिए जो पाखण्डपूर्ण जोकरी बेच्दै पदको लागि राजनीति र लोकतान्त्रिक गणतन्त्रलाई चाहिँ बदनाम बनाउँदैछन् । उनको जोकरीका अनेकौं पर्दा विस्तारै खुल्दैछन् । जस्तोसुकै भ्रम, झुट र जोकरीका किस्सा बुन्दै जसरी पनि चुनाव जित्न स्टन्टलाई मात्र आधार बनाए । 


राजनीति के हो ?
राजनीति समाज र मुलुक परिवर्तन गर्ने दर्शन हो । जनताको जीवन र सामाजिक द्वन्द्वलाई शान्तिपूर्वक सन्तुलन गर्ने मान्यता हो । राज्य संचालन गर्ने नीति हो । नीतिको पनि मूल नीति राजनीति हो । यस्तो नीतिलाई समाजमा देखिएका नवस्वार्थी तत्व र जोकरीले पंगु र पत्रु बनाउने खतरा बढ्यो । मुलुक परिवर्तन गर्न सहयोग गर्ने सिद्धान्तलाई नै भ्रमित पार्ने रवि जस्ता कुनै योगदान नभएका ढोंगीहरूको राजनीतिमा प्रवेशले राजनीतिक मूल्य, संस्कार र संस्कृति तहसनहस बनाउने अवस्थाले राजनीति के हो भन्ने विषय नै धमिलो बन्दैछ । सही सिद्धान्त बोकेका राजनीतिक दलहरु पाखा लाग्नेछन् अनि  यस्तै च्याँखे थाप्ने र स्वार्थी तत्वलाई मत दिएर बलियो बनाइयो भने राजनीतिको आधारभूत दर्शनको मर्ममाथि चोट पुग्नेछ । 

प्रतिकृया दिनुहोस