• शुक्रबार-चैत-१६-२०८०

चुनावी परिणामले के संकेत गर्‍यो ?

 

उप–निर्वाचनको नतिजाले धेरैतर्फ औँला सोझ्यायो । नेपालको राजनीतिक, सामाजिक तथा साँस्कृतिक परिवर्तनमा अग्रिणी भूमिका र योगदान भएका काँग्रेस–एमाले जस्ता दलतर्फ पनि अनेक प्रश्न तेर्सिए । यद्यपि आफूलाई परिवर्तित, सुधार तथा समयको माग अनुसार अघि बढाउने हो भने धेरै बिग्रिसकेको चाहिँ होइन । यही गति भए अर्काे चुनावमा काँग्रस तेस्रो, एमाले पहिलो र घन्टी पो दोस्रो हुने छाँटकाँट आयो । दस दलीय गठबन्धन जनताले अस्वीकार गरेर । त्यसैले अब प्रचण्ड–माधव नेपाल र अन्य दल चाहिँ नामेटै हुने प्रष्ट संकेत देखियो ।
हाहाहुहुले समाज भाँड्यो


एकातर्फ आफ्नै शासन–सत्ता संचालन, विधिको शासन, र बोली–व्यवहारमा सार्थक तालमेल हुन सकेन । पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, घोषणापत्र र संगठनले नयाँ युवा पङ्तिलाई छोएन । अर्काेतर्फ राजनीतिक–सामाजिक र सार्वजनिक बजार चाहिँ ट्युबे, लोकतान्त्रिक प्रणाली विरोधी, राज्यको राजनीतिक र संवैधानिक प्रणालीप्रति कुनै पनि भूमिका, योगदान तथा अपनत्व हुँदै नभएका हुर्दुङ्गा समूहको हाहाहुहुले राजनीतिक र सामाजिक बजार प्रभावित पा¥यो, पार्दैछ । संगठनमा आदर्श, मूल्य, विचार, दृढता भन्दा पनि हाहाहुहु र सतहीपन बढी भयो । 
 संगठनको मूल कार्य राजनीतिक र सामाजिक परिवर्तनमा संगठन सहयोगी हुनुपर्नेमा ‘राजनीतिक सिद्धान्त’लाई वेदका मन्त्र जस्तै दोहो¥याउने र भट्याउने काम बढीनै भयो । सोही कारण राजनीतिमा धमिलो पानीमा माछा मार्ने हाहाहुहुवालाको बजार दुषित सस्ता सञ्चार माध्यमले लियो । समस्या यही भयो । खासमा हाहाहुहु र लहडमा आएका हुर्दुङ्गाले केही पनि गर्ने चाहिँ होइनन् । तर जनमत भने भड्काए, भड्काउँदैछन् । समाज नै भाँडियो । कारण चाहिं प्रमुख राजनीतिक दलहरुको गैरजिम्मेवार र भ्रष्टतन्त्र संरक्षण शैली रह्यो ।


चुनावको संकेत के हो ?
चुनावमा धेरैले नसोचेको परिणाम दियो । घन्टी आफूलाई पनि तनहुँमा जित्छु भन्ने चाहिँ थिएन । तर, सानदार ढंगले जित्यो । चुनावका अनेकौं संकेत छन् । एमाले जस्ता ठूला दलले आफ्नो खास मतको आंकलन गर्न सकेनन् । पुरानै जनमत हुबहु आउने सोचियो । टिकट दिँदा पनि कमजोरीनै भए । त्यो समीक्षा गर्नु पर्दछ । मूल रुपमा युवा जनमत, नवीन चाहना, बदलिँदो सामाजिक र राजनीतिक धारलाई जान्नै सकिएन । स्वर्णिमले बलियो मत ल्याउने कुरालाई सुरुमा पत्याइएन । पछि पनि उनको पक्षमा जनमत यसरी उल्टेला भन्नेतर्फ विचार गरिएन । 


किन यस्तो भयो ?
खासमा किन यस्तो भयो ? सारमा जनताले वर्तमान अवस्थामा परिवर्तन चाहेकाले भयो । अझ त्योभन्दा पनि ठूलो पक्ष चाहिँ चितवनमा रवि र तनहुँमा स्वर्णिम–घन्टीवालाहरूले आफ्ना पक्षमा प्रचारलाई यस्तरी बेचे जुन कसैले बेच्नै सकेन । विहान देखि बेलुका सम्म घन्टीका प्रचारमा लाइभ कार्यक्रम गर्न युट्युबर किनिए, बिके, खटाइए, खटे । युट्युबरको कामनै घन्टीले जित्यो, जित्छ र जित्नुपर्दछ भन्ने देखि बाहेक केही भएन ।

 

अनेकौं कोण, पक्ष र क्षेत्रबाट बान्कीबान्कीका मान्छेलाई घन्टीवालाले अन्तरवार्तामार्फत यसरी पस्के कि सबै जनता घन्टीका पक्षमा उत्रिसके, उत्रिरहेका छन् भन्ने हाहाहुहु मच्चाइयो । यसरी यस्ता–यस्ता अनेकौं नखरा, जोकरी, नाटक, हाहाहुहुलाई यसरी ‘मार्केटिङ’ गरियो कि ‘घन्टीमात्र सक्कली माल हो’ भन्ने भाष्य मान्छेको दिमागमा धसेर बेचियो । सामाजिक सञ्जालको यसरी ‘सदुपयोग’ गरियो कि एउटै आइडि र मोवाइलबाट दर्जन बढी ‘जय घन्टी’ लेखियो । सामान्य मान्छेमा यस्तो भ्रम प¥यो कि ‘घन्टीले पुरै पिट्यो ।’ 


अब के हुन्छ ?
केही समय अझै हाहाहुहुले पिट्ने देखियो । यद्यपि त्यो सय प्रतिशत अस्थायी नै हो । जसको राजनीतिक इतिहास केही छैन । संघर्ष र परिवर्तनमा भूमिका केही छैन । संवैधानिक र लोकतान्त्रिक प्रणालीप्रति अर्थपूर्ण समर्थन र प्रतिबद्धता केही छैन । राजनीतिक, वैचारिक र साँगठानिक आधार पनि देखिन्न । यस्तोमा हाहाहुहुमा आएको हुरी, खरहे जहिल्यै टिक्न कठिन हुनेछ । अर्काेतर्फ ‘अर्काे कहिले होचो होला र आफू अग्लो देखिँउला’ भन्नु भन्दा पनि आफू कुन प्रकारले अग्लिने भन्ने चाहिँ ठूलो कुरा हो । अर्काेलाई गाली गरेर आफू चोखो र ठूलो बन्ने सोच एमालेले पनि बन्द गर्नु पर्दछ । आफू आफ्नै सोच, कार्य, शैली, सीप, कला, ज्ञान, बुद्धि, विवेक तथा व्यवहारबाट उत्कृष्ट देखिनु पर्दछ । यसतर्फ टुप्पोबाटै ध्यान दिनु पर्ने प्रस्ट देखियो ।

 

 
एउटै ‘उही पुरानो भाषणा, समाजवादमा मुलुकलाई लाने, गरिबी निर्मूल गरिदिने, मुलुकलाई सिंगापुर बनाइदिने’ जस्ता हवाई कुरा अब पुरानो भयो । अथार्थ, सत्य र बदलिँदो समाजको मनोविज्ञान बुझेर वर्तमान अवस्था परिवर्तन गर्न कार्यक्रम, विचार र व्यवहार गर्नु आजको आवश्यकता हो भन्ने अब पनि प्रष्ट भएन र ? ‘कुनै जमानमा मैले मौरीको चाका निकालेको थिँए, आज हात चाटचाट’ भनेर ‘हात अघि सार्ने  र सुँघाउन र चटाउन खोज्ने’ विधि, तरिका, सोच र शैली अब बिक्दैन । सिद्धान्त, संगठन र शैली पुरै सुधार गर्नुपर्ने अवस्था देखियो । अनेकौं दृष्टिकोणबाट अझै पनि एमाले मुलुकको शक्तिमा छ, रहन्छ । यद्यपि अब स्थानीय तहमा भिजेर जनमुखी काममा ध्यान दिएर, आफूलाई अनेकौं पक्षमा सुधार, परिवर्तन र परिमार्जन गर्नु आवश्यक भने देखियो । 


मिडिया मार्केटिङ
आजको युग मिडियाको युग हो । त्यो पनि कसरी बिक्रीयोग्य र ग्रहणयोग्य गरी बिक्री गर्ने वा मार्केटिङ भन्ने मूल कुरा भयो । अब भित्ताका पेन्टिङ कसैले हेर्दैन । पर्चा, घोषणापत्र कसैले पढ्दैन, पढेन । नेताका परम्परागत शैलीका ‘सुगा रटानवाला भाषण’ कसैले सुन्दैन, सुनेन, बिकेन । भाषणमा मात्र विश्वास गर्ने जमाना गयो । यद्यपि घन्टीको चाहिँ भाषणदेखि बाहेक खास केही छँदैछैन । आजको दुनिया मिडिया मार्मेटि¨को दुनिँया हो । कसरी तारेर, फुराएर, नून दलेर, पड्काएर बस्तु वा राजनीतिक कार्यक्रम, पार्टी र नेतृत्वलाई बिक्री गर्न सकिन्छ भन्ने भयो । एउटा मोवाइलको क्लिकमा संसार आयो । मिडियाको बिक्रीको कुरा नै मूल भयो । 


अब विज्ञताको युग
अर्काे मूल कुरा के देखियो भने नयाँ मात्र बिक्री भएका होइनन् । मान्छेको निजी क्षमता, बोल्ने मात्र होइन, औपचारिक शिक्षा, क्षमता, कार्य, विगत, भूमिका, सीप जस्ता कुरा बिक्री हुन थाल्यो । यति जेल परेको, यति थुनिएको, यति पुरानो संगठित सदस्य, पार्टीमा सिनियर आदि भन्ने कुरा विस्तारै छायाँमा पर्न थालेको आभाष हुन थाल्यो । औपचारिक शिक्षा र सार्वजनिक जीवनमा देखिने भूमिका खेलेको मान्छे बढी रुचाइयो । स्वर्णिम त्यसरी बिक्री भए । पार्टीले त्यस्ता मान्छेलाई भूमिका दिनुप¥यो । जेल, योगदान र इतिहास भएकालाई पार्टीको अर्कै काम लगाउनु प¥यो । भित्री काम । अति आवश्यकलाई मात्र चुनावमा पनि समानुपातिकतर्फबाट लग्नु प¥यो । 


नयाँनयाँ युवा, विज्ञता, शिक्षा, ज्ञान, सूचना र सञ्चार तथा सामाजिक–सार्वजनिक जीवनमा भूमिका भएकालाई महत्व दिनु अत्यावश्यक देखिन्छ । यसो गर्न सक्ने हो भने एमाले फेरि पनि अर्काे चुनावमा पहिलो चाहिँ हुन्छ, हुन्छ । यही गति भयो भने घन्टी चाहिँ दोस्रो हुने देखियो । काँग्रेस तेस्रो र माओवादी चौथोमा पुग्ने निश्चित भयो । माधव नेपाल, मधेसी दल आदि खुद्रा नाम मात्रका च्याँखे चाहिँ बिलाउने प्रष्टै भयो । मूलतः उप–निर्वाचनको संकेत यही हो । (साँघु साप्ताहिक, २०८० वैशाख १८)

प्रतिकृया दिनुहोस