• बुधबार-जेठ-१७-२०८०

भ्रष्टाचारको जालोले देश कता जाँदैछ ?

 

भ्रष्टाचार एउटा गम्भीर प्रकारको सामाजिक र फौजदारी प्रकृतिको अपराध हो । विश्वका सबै प्रकारका शासनमा भ्रष्टाचार हुने गरे पनि विकसित युरोपमा त्यसको दर न्यून रहेको छ । चीन जस्तो समाजवादी मुलुक जहाँ मृत्युदण्डको समेत व्यवस्था रहेको छ । त्यो देशमा पनि भ्रष्टाचार हुने गरेको छ । सन् २०१७ मा चीनमा १५५१ जनालाई फाँसी दिइएकोमा अधिकाँश भ्रष्टाचारमा दोषी भएकाहरू रहेका थिए । नेपालमा चाहिँ भ्रष्टाचारको छानबिन र खोजी पनि हल्लाखल्ला मात्र हुने हुँदा समाजमा भ्रष्टहरूको आत्मबल बढेको छ ।भुटानी शरणार्थी काण्डमा भइरहेको तरिका हेर्दा हात्ती आयो फुस्सा हुने आशंका बढेको देखिन्छ ।


विश्वमा भ्रष्टाचार
विश्व बैंक तथा अन्य गैरसरकारी संस्थाहरूले भ्रष्टाचार सम्बन्धमा विश्वव्यापी अध्ययन र अनुसन्धान गर्दै आएको पाइन्छ । त्यसमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि भ्रष्टाचारको विश्वव्यापी सूची प्रकाशित गर्दै आएको छ । उसको सन् २०१८ को प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने मुलुकको सूचीमा अधिकांश युरोपेली मुलुकहरू रहेका छन् । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुक हो । त्यसपछिका दश मुलुकहरूमा क्रमश ः न्यूजल्याण्ड, फिनल्याण्ड, स्वीडेन, स्वीजरल्याण्ड, सिंगापुर, नर्वे, नेदरल्याण्ड, क्यानडा, जर्मनी रहेका छन् ।  

     
एक सय असी मुलुकमा गरिएको अध्ययन अनुसार भ्रष्टाचार हुने सूचीमा संयुक्त राज्य अमेरिका २२ औं, भारत ७८ औं, चीन ८७ औं, श्रीलङ्का ८९ औं, पाकिस्तान ११७ औं स्थानमा छन् । नेपाल भने विश्वको बढी भ्रष्ट मुलुकको सूचीमा १२४ औं स्थानमा रहेको थियो । अध्ययन अनुसार विश्वमै बढी भ्रष्ट मध्येमा बंगलादेश १४९ औं, इराक १७५ औं, हाइटी १७५ औं, सिरिया १७८ औं, साउथ सुडान १७८ औं, सोमालिया १८० औं, अफगानिस्तान १८० औं, उत्तरकोरिया १८० औं स्थानमा देखिन्थे । यसरी प्रतिवेदनलाई हेर्दा द्वन्द्वग्रस्त तथा कठोर शासन भएका मुलुमा बढी भ्रष्टाचार हुने गरेको देखिएको छ भने विकसित र प्रजातान्त्रिक युरोपियन मुलुकहरूमा सुशासन सहित न्यून भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । 


ट्रान्सपरेन्सी इन्टरनेशनलको  प्रतिवेदनमा औंल्याइए अनुसार भ्रष्टाचार बढी हुने कारणहरूमा शक्ति, पद र पैसाको चाहनामा वृद्धि, उच्च स्तरको राजनीतिक तथा आर्थिक हैसियतको तीव्र चाहना, कमजोर प्रजातन्त्र, स्थापित प्रणालीको अभाव, पारदर्शिताको कमि, जवाफदेहीताको कमि, विधिको शासन नहुनु, नागरिक नियन्त्रण र खवरदारीको कमि, सामाजिक जागरण र चेतनाको कमि, गरिबी र आर्थिक अवसरको अभाव, सामाजिक र राजनीति अस्थिरता आदि कारण प्रमुख हुने गरेको पाइएको छ । 


भ्रष्टाचार र सामाजिक जागरण
भ्रष्टाचार सामाजिक अपराध पनि भएकोले यो समाज, नैतिकता र मानवीयता, संस्कार र संस्कृतिसँग पनि गाँसिएर आएको जटिल विषय हो । भ्रष्ट र भ्रष्टाचारीलाई समाजले सबैतिरबाट बहिस्कार र तिरस्कार गर्ने, गलत र नराम्रो मान्दै त्यस्तो गतिविधिलाई परिवार र समाजकै स्तरबाट विरोध र घृणा गरिदिने हो भने यसमा कमि आउने स्थिति हुन्थो । तर त्यसो हुनै सकेन । भ्रष्ट र भ्रष्टाचारीलाई सामाजिक सम्मान मिल्ने, कसले कुन माध्यमबाट धन कमायो त्यसमा परिवार र समाजले कुनै सोधी–खोजी नगरी स्वीकार्दै सम्मान गर्ने अवस्था भयो भने भ्रष्टाचार मौलाउन सहयोग पुग्दछ । मूलतः नेपालमा भ्रष्टाचार बढ्नुमा प्रणाली जति दोषी छ केही हदसम्म परिवार र समाज पनि जिम्मेवार छ । 


जस्तोसुकै माध्यमबाट आएको पैसा परिवार र समाजले स्वीकार गर्ने, भ्रष्टलाई नेता मान्ने, चुनावमा विजयी गराउने जस्ता कार्यले भ्रष्टाचार तथा भ्रष्ट सँस्कृतिलाई मलजल पुग्ने गरेको पाइन्छ । भ्रष्टाचार विश्वव्यापी समस्या भएपनि राजनीतिक अस्थीरता भएका, द्वन्द्वग्रस्त अप्र्रिmकी एवम् दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान जस्ता मुलुकमा यसको दर अझ बढी रहेको छ । भ्रष्टाचार प्राकृतिक र कानूनी व्यक्तिबाट हुन सक्ने भए पनि कानूनी व्यक्तिको संचालनमा पनि प्राकृतिक व्यक्ति नै रहने हुनाले मानिसको नै यसमा भूमिका हुन्छ । 


सार्वजनिक र सरकारी निकायमा रहेका मानिसले कानूनले तोकेको कार्य नगर्ने, गैरकानूनी तरिकाले घूस वा आर्थिक लाभ लिने, नीतिगत व्यवस्था गरी व्यक्तिगत लाभ लिने वा नीतिको अपव्याख्या गरी आफूलाई लाभ पुग्ने कार्य गर्ने, अख्तियारको दुरूपयोग गर्ने जस्ता कार्यलाई भ्रष्टाचार भनिन्छ । नेपालको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को  दफा २ (ज) मा भ्र्रष्टाचार भन्नाले ‘भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानून बमोजिम सजाय हुने कसुर सम्झनु पर्छ’ भनिएको छ । दफा १३ मा ‘कसैले कुनै पनि स्र्रोतबाट आयोगमा प्र्राप्त उजुरीमा आयोगले कारवाही चलाउन सक्नेछ भनि उल्लेख गरिएको छ । 


भ्रष्टाचार निवारण ऐन, २०५९ मा कसूर अनुसार बढीमा आठ वर्षदेखि दश वर्ष सम्म कैदको व्यवस्था गरिएका छन् । ग्रिक दार्शनिक प्लेटो (४२७–३४८ विसी) ले आफ्नो पुस्तक रिपब्लिकामा ‘भ्रष्टाचारको लागि राजनीतिक संस्था पर्खाल पछाडिको वासस्थान जस्तै हुने’ बताएर भ्रष्टाचारमा राजनीतिक संस्था र संरचनाको भूमिका दर्शाएका थिए । राज्य प्रणाली र सरकार वा सरकारी निकायका अख्तियारप्राप्त व्यक्तिले भ्रष्टाचार गर्दछन् भने राज्यका अन्य निकायमा त्यसको दुष्प्रभाव पर्ने हुन्छ ।

 

सरकार, अदालत, संसद, सेना, प्रहरी, अख्तियार जस्ता अनुसन्धान गर्ने निकाय र त्यसमा रहेका अधिकारी नै भ्रष्टाचार गर्न पुग्दा त्यहाँ  सुशासन र विधिको शासन कमजोर हुने गरेको हो । प्रजातान्त्रिक मुलुक र शासनमा अनिवार्य रहेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा नेतृत्व गर्ने राजनीतिक र निजामती नेतृत्व शुद्ध हुने हो भने मुलुकमा सुशासन हुन्छ । भ्रष्टाचारले राष्ट्रमा कानूनी शासन, विधिको शासन, नागरिक नियन्त्रण, लोकतान्त्रिक संस्कार, सामाजिक मूल्य, नैतिकता, सामाजिक आचार, मानवीयता र मूल्य सबैलाई एकैपटक ध्वस्त बनाउँछ, बनाउँदैछ । विश्वका कतिपय अप्रजातान्त्रिक र निरंकुश शासन भएका तथा द्वन्द्वग्रस्त मुलुकमा भ्रष्टाचारको दर बढी रहेको छ ।


सन् १९८९ अघिको सोभियत संघको कम्युनिष्ट शासन, दोस्रो विश्वयुद्धका क्रममा जर्मनमा भएको एडोल्फ हिटलर (१८८९–१९४५) को शासन, उत्तरकोरियाको शासन, द्वन्द्वग्र्रस्त सिरिया, अफगानिस्तान आदि यसका उदाहरण हुन् । कतिपय मुलुकमा भने भ्रष्टाचारका साना–साना घटना समेत सञ्चार माध्यमले सार्वजनिक गरिरहेका हुन्छन् । 


जस्तो भारतमा भ्रष्टाचार बढी नै हुन्छ र सञ्चार माध्यमले पनि त्यसलाई निरन्तर सार्वजनिक र खवरदारी गरीनै  रहेकै हुन्छन् । नेपालमा पनि लोकतन्त्र पछिका दिनमा सूचना र सञ्चार माध्यमको खबरदारी बढेको भए पनि सामाजिक संरक्षण भइनै रहेकोले भ्रष्टहरू ठाँटसँग हिडिरहेका देखिन्छन् । हालैको भुटानी शरणार्थी सम्बन्धी काण्डमा अनेकौं ठूला नेताको संलग्नता रहेको आशंका गरिएकोले लोकतान्त्रिक प्रणालीमा एउटा कालो दाग देखिएको छ ।

 

यद्यपि त्यो दागलाई धोएर–पखालेर मेटन चाहिँ सकिन्छ । राज्य र समाजको निरन्तरको सार्थक खबरदारी हुने हो भने भ्रष्टाचार न्यूनीकरण हुने अवस्था बन्न सक्दछ । यसमा समाज पनि खरो उत्रनै पर्दछ । सधैँजसो आइरहेका यस्ता खालका भ्रष्ट र भ्रष्टाचारको जालोले देश कता जाँदैछ भन्ने चासो र चिन्ता भने बढेको छ । 
 

प्रतिकृया दिनुहोस