• बुधबार-बैशाख-१२-२०८१

सेनाकाे क्यावलरीको अनुशासनहीन कार्य र अत्याचार कसले सुन्ने ?


सम्पादकज्यू, साँघु न्यूज डटकम
नमस्ते,
हामी त इमानदारीपूृर्वक डिउटी गर्ने सानो तह सिपाही हाैं नेपाली सेनाको । नेपाली सेनाकाे नेपाल क्यावलरीमा  अत्याचार र धेरै पक्षपाती व्यवहार भाेग्दै देख्दै आएका छाैं । नेपाली सेनाकाे नेपाल क्यावलरी भित्रको अन्यायकाे बारेमा आर्मी हेडक्वार्टले वास्तै गर्दैन कोही बोल्दैन पनि। हाम्राे कमाण्डरलाई त चाकडी गरे पुग्छ । अनि किन काेही बोल्ने ? बरु  चाकडी गर्नेलाई पदोन्नति गराउन सहयोग गरिरहेको पाइन्छ ।


  प्रधान सेनापतिज्यू, नेपाल क्यावलरीका हामी इमानदारीपूर्वक खटाएकाे डिउटी गर्ने चाहिं सधैं दण्डित र सजाय पाउँछौं ।  तर, चाकडी गर्ने र क्यावलरी बाहिर गएर सिभिलकाे सेवा गर्ने र काम गरेर दाम कमाउने सुवेदार गोविन्द खड्काहरू चाहिं पदाेन्नितकाे लाइनमा बसेका हुन्छन् । अब यी सुवेदारलाई लप्टनमा बढुवा गर्न लबिङ भइरहेको क्यावलरीभित्र सुनिन्छ ।


 नेपाली सेनाकाे क्यावलरीमा  आज पनि किन काखा र पखा भइरहेछ ? सेनाका हाकिमहरूले चाकडीवाज र आफ्नो मान्छेका लागि के  जेमन्त गर्न मिल्छ ? अब यी सुवेदारले नेपाली सेनाको कानूनमै नभएपनि बढुवाकाे तयारी कसरी हुँदैछ? एकचोटी भन्दा बढी  सेवा परिवर्तन गर्न मिल्छ ? जसले जर्साब, बर्सावहरूको छोरा र छोरीलाई घोडसवारी सिकाएकोले मात्र पदोन्नति अवसर पाउनै पर्छ ? जाे  बाहिरका विभिन्न सिभिलियन(निजी) क्लबमा गएर घोडसवारी सिकाउँछन् र घोडालाई  तालिम दिएर धन पनि कमाउछन् ।


सेनाकाे डिउटी छाडेर निजी काम गर्नु के यो जायज छ ? डिउटी छाडेर बाहिर  गएर बग्गी पनि चलाउने र धेरै मानिसहरूबाट विभिन्न शीर्षकमा पैसा पनि लिने अनि । के नेपाली सेनाले आफ्ना मान्छेलाई धेरै काम गर्न दिन्छ ? नेपाली सेनाबाट पनि कमाउन सक्छ र सिभिलबाट पनि कमाउन सक्छ र त्यसपछि उसलाई लप्टनमा बढुवा पनि हुने ? के यो सेनाभित्रकाे अनुशासन र न्याय हो ?


तथ्यका लागि हामी यहाँ  केही तस्बिरहरू प्रस्तुत गर्दैछाैं जुन हामीले सुवेदारले सिभिलियन बग्गी चलाउँदै गरेको र निजी परिवारहरूकाे विवाहमा जाँदै गरेको फेला पारेका छाैं । हामीलाई आशा छ कि यो सन्देश नेपाली सेनाकाे हेडक्वार्टर, जर्नेल, कर्नेल सबैमा पुगाेस् र निष्पक्ष छानविन हाेस् । किन भने अहिलेका कमाण्डर आफूलाई धेरै शक्तिशाली ठान्छन्  र जे पनि गर्न सक्छु भन्छन् ।


नेपाली सेनाकाे घोडचढीका उपकरणहरू समेत बाहिर बेचिन्छ । सेनाकाे क्याबलरीका सामान हिनामिना गर्न वा भनाै जे जे अनियमित र सैनिक अनुशासनहीन कार्य गर्न पनि छुट छ । कसैले जाँच गर्दैन । जाँच गरेकाे थाहा पनि छैन । नेपाली सेनामा  जसले चिल्लोचाप्लाे घस्न, बोल्न सक्छ र कर्साव, जर्साबको छोरा छोरीलाई घाेडसवारी सिकाउँछ अनि उसले मात्रै बढुवा पाउने योग्यता हासिल गर्छ हाे ?


यस  नेपाली सेनाकाे क्यावलरी ब्यारेकमा कोही पनि  सन्तुष्ट छैनन् । क्यावलरी ब्यारेकका कमाण्डरले गोविन्दालाई केही भन्न पनि सक्दैनन् । अन्त्यमा हामी यति मात्र भन्न चाहन्छाैं कि कृपया यो जानकारी आर्मी हेडक्वार्टरका जर्साबहरूमा पुगाेस् र क्यावलरी ब्यारेक हुने अनियमित कार्य छानविन हाेस् र चाकडीबाजहरूकाे मनपरी राेकियाेस् । अनि क्यावलरी ब्यारेकलाई सैनिक अनुशासनमा रहन मद्दत पुगाेस् । भ्रष्टाचार जताततै छ र त्यसलाई मजाक बनाउँदैछन् भन्ने कुराबाट नेपाली सेना टाढा रहाेस् भन्ने हाम्राे चाहना हाे ।

 

-क्यावलरी ब्यारेकका पीडितहरू

 

 

 

 

प्रतिकृया दिनुहोस