• शनिबार-बैशाख-१५-२०८१

जलहारी काण्डका नायक प्रचण्डसँगै दिल्ली जाँदै 

 

काठमाडौं । पशुपतिनाथमा जलहारी राख्ने विषय सुरुवातदेखि नै विवादमा तानिएको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले जलहारी राख्ने विषयमा सहमति दिए । सरकारको तर्फबाट सबै निर्णय र प्रक्रियाहरु पूरा गरियो । १०८ किलो सुनको जलहारी राख्न सरकारले भनेको थियो । त्यसपछिको कामको जिम्मेवारी भने पशुपति क्षेत्र विकास कोषको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि कोषले जलहारी राख्ने प्रक्रिया सुरु ग¥यो । त्यतिबेला सदस्यसचिव थिए प्रदीप ढकाल अनि कोषाध्यक्ष थिए मिलनकुमार थापा । 


कोषाध्यक्ष थापाकै नेतृत्वमा जलहारी राख्ने प्रक्रिया सुरु भएको थियो । जलहारी राख्ने प्रक्रियामा अगाडि बढेपछि केही विवादहरु आउन थालेका थिए । जलहारीका लागि आवश्यक भनिएको १०८ किलो सुनको विषयमा ।  उक्त  १०८ किलो सुनमध्ये करिब १० किलो सुन हराएको भन्ने चर्चा त्यतिबेला नै भएको थियो । त्यो चर्चा आएसँग कोषमाथि गम्भीर प्रश्न उठ्यो तर कोषले गतिलो जवाफ पनि दिएको थिएन । त्यहीकारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गर्न भनेर केही कागजात लगेको थियो । तर, आयोगले पनि छानविनमा भने सुस्तता देखाईदियो । त्यही बेलामा सदस्यसचिव ढकालको कार्यकाल सकियो । अनि देशमा प्रधानमन्त्री पनि फेरिए । प्रधानमन्त्रीमा केपी ओली हटेर शेरबहादुर देउवा आएका थिए । अनि, देउवाले नै सदस्यसचिवमा त्यही सुन प्रकरणमा मुछिएका थापालाई कोषाध्यक्षबाट ससम्मान बढुवा गरेर सदस्यसचिव नियुक्त गरे ।  


चोलेन्द्र शमशेर जबराको कोटाबाट थापाले नियुक्ति पाएको भन्दै त्यतिबेला खुुबै चर्चा भएको थियो । तर, थापा कोषाध्यक्षबाट सदस्यसचिव भएपछि कोषबाट भएका अनियमितताको प्रमाण नष्ट गर्न लागेको भनेर थापामाथि आरोप पनि लागेको थियो । आयोगले छानविन  भने गरिरहेको बताइन्छ । पर्यटन मन्त्रालय माधव नेपालको पार्टी पार्ने निश्चित भएपछि थापालाई देउवा सदस्यसचिव नियुक्त गरेका हुन् । माधव नेपालको पार्टी एकीकृत समाजवादीबाट प्रेम आले मन्त्रीमा आउन लागेका थिए । पहिला नै देउवाले आफ्नो मान्छे नियुक्त गरेको भन्दै विवाद पनि थियो । त्यसैले, सदस्यचिव थापालाई हटाउने प्रयास गरेका थिए आलेले । तर, थापाले राजनीतिक शक्ति लगाएर कोषमा टिकिरहेका थिए । त्यसो त, पछि आएका पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र अहिलेका सुदन किराँतीसँग पनि थापाको ट्युनिङ मिलेको छैन, तर पनि जलहारी काण्डमा मुछिएिका थापाले राजीनामा दिएका छैनन् र मन्त्रीले पनि हटाउन सकेका छैनन् । 


बरु, उल्टै थापा शक्तिशालीजस्तो बनेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा थापा र पशुपतिका मूल भट्टलाई सहभागी गराउने सूची तयार भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुसी पार्न पशुपतिका पुजारी नै बोकेर प्रचण्ड जान लागेको भन्दै चर्चा पनि हुन थालेको छ । सुनको जलहारीमा अनियमितता गरेको  आरोप लागेकै सदस्यसचिव थापालाई प्रचण्डले भ्रमणको सूचीमा समेट्नुलाई रहस्यको रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस