• शनिबार-बैशाख-२९-२०८१

भ्रष्ट, लुटेरा जोगाउने कस्तो छानबिन ? 

 

सन् १९७२ जुन १७ (वि.सं. २०२९) मा राष्ट्रपति निक्सनले प्रतिस्पर्धी उम्मेद्वारको कार्यालय रहेको वाटरगेट होटलमा चोरहरु प्रयोग गरी चुनावी रणनीति रहेको कम्प्युटरहरु चोरी गर्न लगाए । साधारण चोरीको मुद्दा पहिले दायर भयो । 


तर, वासिङटन पोस्टका संवाददाता बब एडवार्ड र कार्ल वर्नस्टिनलाई अमेरिकन गुप्तचर विभाग एफबीआईकै डेपुटी डाइरेक्टर मार्कफेल्टले अत्यन्त गुप्त रुपले सम्पर्क गरी बताए कि यो साधारण चोरहरुको चोरी होइन, वर्तमान राष्ट्रपति निक्सन र उनका सल्लाहकारहरुको टिमसमेत सामेल भई गरिएको चोरी काम हो । उनका एटर्नी जेनरल जोन मिचेल, राष्ट्रपतिको चिफ अफ स्टाफ हलडेम्यानलगायत उच्च पदस्थहरु समेत संलग्न छन् ।


 वासिङटन पोस्टका संवाददाता बब एडवार्ड र कार्ल वर्नस्टिनबाट विश्वसनीय सूचना पाएपछि वासिङटन पोस्टले यो समाचार छाप्यो । ३३ वर्षसम्म ती संवाददाताले सूत्र गुप्त राखे । निक्सनप्रति घृणाले उब्जाइएको प्रोपागाण्डा हो भनि खण्डन ग¥यो । राष्ट्रपति निक्सन अर्काे चार वर्ष कार्यकालका लागि चुनाव लडिरहेका थिए र ग्यालपोलले उनलाई लोकप्रिय उम्मेद्वार देखाइरहेको थियो । निक्सनले भारी बहुमतका साथ निर्वाचन जिते । होटलको चोरीमा त्यस समय केवल ५ जना चोरहरुमात्र समातिएका थिए । ठूला गुप्तचर एफबीआईका डेपुटी डाइरेक्टर बराबर गुप्त रुपले भेटेर ती पत्रकार(वासिङटन पोस्टका संवाददाता बब एडवार्ड र कार्ल वर्नस्टिन)लाई सत्य बताउँथे । 


पत्रकारले प्रधान सम्पादक बेन बे्रडलीलाई समेत सूत्र बताएनन् । बेन ब्रेडलीले खाली के सोच्थे भने सूत्र भरपर्दाे छ कि छैन ? छ भनेपछि केही सोधेनन् । वासिङ्टन पोष्टका संवाददाताहरुले राष्ट्रपति निक्सनलाई पनि चोर भनि थप समाचारहरु प्रकाशित गरिरहे । पछि पछि यसले ठुलो राजनीतिक आँधीतुफान खडा गर्दै गयो कि राष्ट्रपतिजस्तो सर्वाेच्च व्यक्ति नै यस्तो चोरी घटनामा सामेल भएको कुराको निष्पक्ष जाँच र अदालती सुनुवाई हुनैपर्छ भनियो । पछि स्वतन्त्र प्रोसेक्युटर नियुक्त गरिएर छानबिन भयो । 


 संक्षेपमा जाउँ, अन्तमा प्रकरणमा मुछिएका र तथ्यले प्रमाणित भएका सात जना राष्ट्रपति निक्सनका उच्च पदस्थ जसमा स्वयं फेडरल ब्यूरो अफ इन्टेलिजेन्सका गोर्डन लिडिसहित ५ जना अमेरिकाका एटोर्नी जेनरल रहेका जोन मिचेल, ह्वाइट हाउसका चिफ अफ स्टाफ हालुम्यान, जोन एहरलिचम्यान, ह्वाइटहाउसका कानूनी सल्लाहकार चाल्र्स कोल्सनसहित १० जना आरोपीमा कसैलाई २५ वर्ष, कसैलाई १५ वर्ष कैद र थप ठुलो ठुलो रकम जरिवानाको सजाय भयो । राष्ट्रपति निक्सनले कार्यकाल रहँदै राजीनामा दिनुप¥यो । तर, उनको ठाउँ राष्ट्रपति हुन पुगेका जेराल्ड फोर्डले उनलाई भने माफी प्रदान गरे । ३३ वर्षपछि एफबीआईका डेपुटी डाइरेक्टर मार्कफेल्टले आफै खुलासा गरे कि ती वासिङटन पोस्टका संवाददाताद्वय बब एडवार्ड र कार्ल वर्नस्टिन संवाददाताका सूत्र म आफैं थिएँ भनेर । 


  हाम्रो देश नेपालको सबै शक्तिशाली शासन केन्द्र बालुवाटार, सिंहदरबार, मन्त्रीक्वार्टर सबै ठाउँ नक्कली भुटानी शरणार्थी काण्डमा घुस लेनदेनमा भएको बयानहरु हाल अखबारहरुमा प्रकाशित छन् । हालसम्म पक्राउ परेका प्रतिवादीले नाम लिएका तर अन्य तथ्य प्रमाण नभेटिएको भनिएका रामबहादुर थापा बादल, उनको पत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व सांसद समेत रहेका एमालेकै नेता अजय क्रान्ति शाक्य, पूर्व गृहसचिव प्रेमकुमार राई र  टोपबहादुर रायमाझीका सहयोगी लिला जिसी र राजेश्वर स्थापित बयानमा पोलिएका छन् । फरार १७ जनामा बादलका छोरा प्रतीक, ईन्द्रजितका छोरा निरज, बिचौलिया बेचन झा र अन्य १४ रहेका छन् । 


  भुटानी शरणार्थी प्रकरणमा रु. २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रुपमा ठगी गरी लाभ लिएको आरोप छ । त्योभन्दा पहिले यस अघिका पुशपतिनाथको छानोमा सुनको जलप लगाउँदा ११ किलो सुन हराएको काण्ड, गोरे समेत रहेको साँढे ३३ किलो किलो सुन तस्करी काण्ड, चमेलिया जलविद्युत आयोजनाको २३५ अर्ब, एनसेल ७२ अर्ब काण्ड, फोरजी ११ अर्ब, वाइडबडी खरिद काण्ड ६ अर्ब, बुढीगण्डकी ५ अर्ब, ओम्नी काण्ड, भृकुटीमण्डप लिज काण्ड, तामाकोशी ३ अर्ब, मेलम्ची खानेपानी २ अर्ब, पप्पुु कन्स्ट्रक्सनको अर्बाैं पुग्ने भ्रष्टाचार र पुलहरु लथालिंग र अरु धेरै ठूला ठूला लाखौंका होइन, करोडौं पनि होइन, अर्बाैंका लुट, भ्रष्टाचारका चर्चाहरु पहिलेदेखि नै पढ्दै, जान्दै आएका छौं ।

 

तर, देश र व्यवस्थाकै दुर्भाग्य ती काण्डहरुमध्ये सबैजसो सामसुम पारिदै गएका छन् । वर्तमान भ्रष्ट चोरतन्त्रका नाइकेहरु र उच्च पदस्थ सचिवहरुले सँधै यस्तो अर्बौं अर्बका काण्डहरु निरन्तर गरिरहेको देखिएको छ । कयौं ठूला काण्डहरुको ठूला चर्चाहरु प्रकाशित भए, तर प्रारम्भिक अनुसन्धान र जाँचबुझसमेत गर्न दिइएन । किनभने यी नेता भनाउँदा नाइकेहरु नै भ्रष्टाचार काण्डका योजनाकार, डिजाइनर र कार्यान्वयनकर्ता थिए । 


सुडान काण्डको जाँच भयो । किनभने अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघको शान्ति मिसनको काम थियो । सुडान काण्डमा विदेशी चासो भएकोले जाँचबुझ भयो । प्रहरीका आईजीपी र उच्च अधिकृतहरुलाई लामो कैद सजाय पनि भयो । तर, एपीसी खरिदका अन्तिम निर्णयकर्ता गृहमन्त्रीहरुलाई भने चोखो राखियो । भन्छन्, यसपटक अमेरिका पठाइदिने भनि संगठित ठगीकाण्ड भएकोले अमेरिकाले भित्रीरुपले ठूलो चासो र दबाबले गर्दा उपप्रधानमन्त्री र गृहमन्त्रीहरु माथिसमेत मुद्दा खडा भएको अवस्था छ । वर्तमान प्रधानमन्त्री प्रचण्डसँग पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाको पटक पटक दौडादौड गर्दै भेटघाट आफूहरु र आफ्ना व्यक्तिगत विश्वासीहरुको अपराध दबाउन, लुकाउन भइरहेको भनि पत्रपत्रिकामा छापिएपछि प्रचण्डको यो झुट कसैले पत्याउँदैन कि उच्चस्तरका नेताहरुको भेटघाटहरु संसद सुचारुरुपले संचालित होस् भन्ने विषयमा मात्र केन्द्रित थियो । 


कुनै समय बरु पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निजी सचिव गोकर्ण पौडेललाई अख्तियारबाट कमसेकम बयान त लिइएको थियो । तर, पछि त्यो पनि सामसुम भएको थियो । तर, ३ जना कांग्रेसका मन्त्रीहरु थुनामा परेको घटना पनि भएको थियो । तर, अहिले नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिवादीको पोल प्रहरी र अदालतमा लिखित भइसके पनि शक्तिशाली नेता, पूर्व प्रधानमन्त्रीका परिवार, निजी सचिवहरुलाई कुनै बयान दिनसम्म बोलाइएको छैन । राष्ट्रपतिलाई चोर हो भनि समाचार लेख्ने पत्रकारलाई अमेरिकाको प्रतिष्ठित ठूलो पुलित्जर प्राइज प्रदान गरियो । 


काठमाडौंमा हालै फेसबुकमा माधव कार्कीले लेखेको पढें, ‘लुटै लुट मात्र पनि होइन रैछ छानबिन । लुटेर जोगाउन पनि हुँदो रहेछ छानबिन ।’

प्रतिकृया दिनुहोस