• शनिबार-श्रावण-१२-२०८१

महाँकालको आर्मी अस्पताललाई बेवास्ता गरिएकै हो ?

साँघु साप्ताहिकमार्फत चिफसा’ब समक्ष पुगोस् 

 

सन् १९२५ हाम्रा वीर पुर्खाहरुले पहिलो महायुद्धमा बेलायती सेना सहितको एलाइड फोर्सलाई सघाएर युद्ध जिते बापत बेलायतबाट पाएको सहयोगमा निर्मित त्रिचन्द्र मिलिट्री हस्पिटलमा अहिले सेनाको डेण्टल ओपिडी र थेरापी मात्रै चलाइएको छ । यसको बाँकी भाग ब्यापारिक कम्प्लेक्सलाई जिम्मा लगाइएको छ । पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले यस अस्पतालमा भेट्रान अस्पताल बनाउने योजना सहित कार्यक्रम अघि बढाइएकोमा तात्कालीन सरकारका प्रधानमन्त्रीले समर्थन नगरिदिंदा उक्त कार्य अघि बढ्न सकेन ।

 

शायद पछि आउने प्रधानसेनापतिहरुले यस कार्यलाई अघि बढाउने प्रयास गरिएको भए अहिलेका भूपू सैनिक र परिवारलाई छाउनी अस्पताल धाउनु पर्ने थिएन । छाउनीमा ठुला अपरेसनहरु हुने र  विशेष इक्विपमेन्ट राखिए पनि धेरै विरामीहरु यसै महाँकालबाट घर फर्किन सक्थे । जसको कारण वीरेन्द्र अस्पताल छाउनीलाई धेरै लोड पर्ने थिएन । जसले गर्दा छाउनी अस्पताल अझैपनि खुला र स्वच्छ वाताबरणमा लामो समयसम्म रहन सक्थ्यो । अब त हेर्दाहेर्दै स्वच्छ श्वास फेर्न सकिने छाउनीको हरियालीलाई घरहरुले ढाकिरहेका छन् ।

 


सबभन्दा दुःखको कुरा सैनिक अस्पताल भित्र निजी ब्यापारीलाई ब्यापारिक कम्प्लेक्स खोल्न दिनु अत्यन्त दुखद अवस्था हो । पैसा नै सबैकुरा हो भन्ने सोच भएका चिफसा’बले सकल दर्जाको मनसायलाई पूरा बेवास्ता गरि केही कमिशनको लोभमा परि ब्यापारीको हितमा कार्य गर्नु सेनाको हित विरुद्ध थियो । सेनाको कल्याणकारी रकमको अरबौं रुपियाँको राम्रो सदुपयोग गर्न सक्दा मात्र पनि कल्याणकारी कार्यमा रकमको अपुरो हुँदैन । अहिले सेनाको आफ्नै मेडिकल कलेज, क्याम्पस  तथा स्कुलहरु धेरै खुलिसकेका र त्यहाँबाट उठाइने फी पनि बढ्दै गएकाले सेनालाई रकमको कमी हुने संभावना देखिंदैन । तर सेनाको इतिहासलाई नै खण्डीकृत गरिने गरि ऐतिहासिक अस्पतालको प्रमुख भागलाई नेपाली सेनाले निजी ब्यापारीको हितमा चल्न दिनु एकदम गलत देखिन्छ । 

 


महाँकालमा  सेनाको डेण्टल अस्पताल बनिसकेपछि त्यसको ब्यवस्थापन पनि त्यही अनुसार हुनु पर्दथ्यो । त्यहाँको ब्यवस्थापन कमजोर अवस्थामा रहेको पाइयो । त्यसलाई यसरी  बेवास्ता गरिनु हुँदैन । अस्पतालमा अत्यन्त आवश्यक पर्ने लिफ्ट ८÷९ महिना देखि बिग्रेर बसेको रहेछ । त्यसलाई समय बनाउन कसैले पहल नगरेको देखियो । यति लिफ्ट मर्मत गर्न पैसाको कमी मात्र होइन होला । अवश्य पनि त्यो बनाउन पहल गर्ने ब्यक्तिको कमी पाइयो । 

 


 त्यहाँ हुनुपर्ने प्रशासन हेर्ने एकजना अधिकृतसम्म पनि हाल नभएको बुझियो । उता छाउनी अस्पतालको ब्यवस्थापन निकै सुदृढ हुँदै गएको छ । त्यहाँ प्रशासन हेर्ने एकजना इन्फ्यान्ट्रीका सहायक रथी दर्जाका अधिकृतबाट राम्रो समन्वय गरि सबैतिर ब्यवस्थित तरिकाबाट कार्य हुँदै गएको पाइयो । तर महाँकाल मेलट्री अस्पतालमा एकजना कमसेकम प्रमुख सेनानी तहका इन्फ्यान्ट्री अफिसर राख्न अत्यन्त जरुरी देखिन्छ । 

 


  जसले त्यहाँको मर्मत संभारदेखि आगन्तुक विरामीहरुका समस्यालाई समेत समाधान गर्ने गरि सुब्यबस्थापन गर्न सकुन । म आफै दाँत सफाइमा जाँदा करिब २ घण्टा कुर्नु प¥यो । भिआइपीको लागि भनेर एउटा डेण्टल चेयर राखिएको रहेछ । जसको कारण पनि धेरै लामो समयसम्म कुर्नु पर्ने देखिन्छ । यदि सेनाको डेण्टल अस्पतालको रुपमा यसलाई विकास गरिएको भए त्यही अनुसारको म्यानेजमेन्टमा पनि ध्यान दिन आवश्यक छ । 

 


  अलिक धेरै गाडी आएमा गाडी पार्किङको पनि समस्या देखिन्छ । हुन त ब्यापारीको लागि भनेर अण्डर ग्राउण्ड पार्किङमा राख्न सकिन्छ । शायद डाक्टर तथा विरामी भएर आउने गाडी तथा मोटर साइकलवालाहरुले आफ्नो अस्पतालमा पैसा तिरेर पार्किङ गर्न कत्तिको ब्याबहारिक हुन्छ त्यो सरोकारवालाले सोच्नु पर्छ । 

 


त्यसैले यो पुर्खाको धरोहर ऐतिहासिक सैनिक अस्पताललाई अझैपनि ब्यवस्थित गरेर राख्न त्यहाँ कार्यरत कमाण्डिङ अफिसर लगायत छाउनी अस्पताल (जसको सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी रहेको छ ) तथा सैनिक स्वास्थ्य महानिर्देशनालयको ध्यान पुगोस् ।                 –पूर्ण ओली, (महासेनानी (अप्रा), बालकुमारी ललितपुर, २०८० भाद्र ३
 

प्रतिकृया दिनुहोस