• शनिबार-श्रावण-१२-२०८१

पत्रकारका ‘सुभास दाई’का बिर्सनै नसकिने यी गुन 

 

काठमाडौं । सुभासचन्द्र नेम्वाङले देश, जनता र उनको पार्टी एमालेका लागि गरेको योगदान अमूल्य होला । यसका साथै पत्रकारलाई जति बेला सूचनाको गाह्रोसाह्रो पर्दथ्यो संकटमोचनका सारथी हुन्थे सुवास नेम्वाङ । जुनुसुकै राजनीतिक घटनाक्रममा होस्, रातविरात जुनसुकै बखत पनि उनी उपलब्ध हुन्थे । सरदर नेताहरु सबै पत्रकारका लागि सूचनामा सहज हुँदैनन् । उनीहरु सित्तिमिति फोन नै उठाउँदैनन् । फोन उठाइहाले पनि आफू र आफ्नो आस्था रहेको पार्टी अनुकूल हुने गरी मात्रै प्रस्तुत हुन्छन् । 


या त आफ्नो पार्टी निकट र आफ्नो गुट नजिकका पत्रकारसँग मात्र खुलेर व्यवहार गर्दछन् । तर, सबैखालका पत्रकारको फोन उठाउने, यथार्थ सूचना दिने र काबु बाहिरको अवस्था बाहेक जतिबेला पनि उपलब्ध हुने नेता नेम्वाङ नै थिए । 


यति मात्र होइन, कुनै कारणले फोन ‘मिस’ हुँदा उनी आफैले ‘कल व्याक’ गर्ने गर्दथे । विना हिच्किचाहट् भएको यथार्थ सूचना दिन कुनै कञ्जुस्याईं गर्दैनथे । बरु उनी भन्ने गर्दथे–‘यति कोट गर्नुस्, यति स्रोतका अनुसार भन्नुस् न । पत्रकार कुरो बुझिहाल्नुहुन्छ नि ।’ आफ्नै पार्टीको होस् वा बाहिरी छलफल उनले यथार्थ जानकारी गराउँदथे । जुनसुकै पनि घटनाक्रमको सत्य, तथ्य, वास्तविक समाचार दिने नेता यदि कोही थियो भने त्यो नेम्वाङ नै हुन् । उनीजत्तिको पत्रकार मैत्री नेता आजका मितिसम्म सायदै होलान् । उनले विरामी भएको बेला समेत कुनै झर्को नमानी कुराकानी गरेको अवस्थाबारे उनलाई व्यहोरेका पत्रकारलाई खुलस्त जानकारी छ । 


 यसकारण नेम्वाङ कहिले व्यवस्थापिका संसदको विषय, कहिले संविधान सभाको विषय, कहिले राजनीतिक घटनाक्रम त कहिले न्यायपालिकाकै विषयमा पनि थाहा पाएसम्मका सूचना प्रवाह गर्दथे । वास्तवमा उनी पत्रकारका लागि सूचनाका भकारी नै थिए । अर्को सत्य कुरा के हो भने, उनले दिएका समाचार कहिल्यै झुट्टा थिएनन् । र, कहिल्यै अखवारमा होस् वा इलेक्ट्रोनिक मिडियामा खण्डन मण्डन गर्नुपर्दैनथ्यो । सुवास नेम्वाङले भनेपछि अरु कसैबाट समाचारको पुष्टि गरिरहन जरुरत पर्दैनथ्यो । ढुक्क भएर मजाले  समाचार पस्किन सकिन्थ्यो । समाचार दिने मात्र होइन, आएको समाचार पढ्ने असल पाठक पनि थिए उनी । समाचार कसरी प्रस्तुत भयो, कसले के समाचार लेखेको छ भनेर उनले भन्न सक्थे । 


खासगरी राजनीति र न्यायसँग जोडिएका समाचारमा उनको चासो हुने गर्दथ्यो । उनले दिएका समाचार प्रकाशित भएपछि उनलाई राम्रो लागेमा भन्ने गर्दथे, ‘हेरेँ, ठिक छ ।’ अथवा उनलाई समाचारमा त्यति चित्त नबुझेका अवस्थामा मुसुक्क मुस्कुराउँदै भन्ने गर्दथे, ‘अलिअलि मसला हाल्नुभएछ ।’ तर पक्षमा होस् वा विपक्षमा । समाचारका विषयमा उनले पत्रकाससँग कहिल्यै गुनासो गरेनन् । र, कहिल्यै रिसाएनन् । पत्रकारलाई कहिल्यै हेलाँ होचो पनि गरेनन् । सँधैं पत्रकार र पत्रकारिता पेशाको सम्मान गरिनुपर्छ भन्ने उनको ध्येय हुन्थ्यो । प्रेश स्वतन्त्रता र विचारअभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षपाती भएर पनि हुनसक्छ पत्रकारप्रति औधी माया अनि स्नेहभाव थियो सुवासचन्द्र नेम्वा¨मा । सबैलाई समान व्यवहार पनि । यही भएर नै उनी निश्पक्ष र तटस्थ पत्रकारिताको पक्षमा सधैं डटेर उभिरहे । यसैले जुनसुकै पनि आस्थामा संलग्न पत्रकारले सम्झिने नाम थियो–सुवास नेम्बाङ । शालीन स्वभावका नेता नेम्बाङ पत्रकारसँग सँधैं भन्ने गर्दथे, ‘दलहरू बिच सहमति, सहकार्य र सहअस्तित्व ।’ उनले भने झैं यही मन्त्रको जगमा राजनीतिका अप्ठ्यारा ‘गाँठा’ फुक्थे पनि । राजनीतिले एउटा निकास पाउँथ्यो । 


पत्रकारका साथी नेम्बाङ संसद्मा साझा नेताका रूपमा स्थापित थिए । संसदीय मर्यादा, परम्परा, विधि र प्रक्रियाका विषयमा जहिल्यै ‘खबरदारी’ गरिरहे । उनी आफूले पनि सांसद, मन्त्री, सभामुख÷सभाध्यक्ष, नेता जे जे बने पनि आफ्नो उँचाईलाई कायमै राख्न सफल रहे । मृदुभाषी गुणकै कारण हुनसक्छ, पत्रकार मात्र होइन, विपक्षी पार्टी पनि उनीप्रति उत्तिकै खुसी हुन्थे । संविधान निर्माणका क्रममा पहिचान पक्षधरले अनेक धम्की पनि दिए । तर उनी कसैको धम्की सामु विचलित भएनन् । संविधान निर्माण र मुलुकको राजनीतिलाई सही बाटोमा हिँडाउन दत्तचित्त भएर लागिरहे । 


कसैका लागि ‘सुवास कम्रेड,’ कसैका लागि ‘सुवास मित्र,’ कानूनका विद्यार्थीका लागि ‘सुवास सर’ र पत्रकारका लागि ‘सुवास दाई’ बनेर हृदयमा बसिरहे । कानून र न्यायको मर्मज्ञ भएर पनि होला, उनी अतिरिक्त क्षमताका धनी थिए । सारमा सुवास नेम्वाङ आँखामा राखे पनि नबिझाउने एउटा गुणी व्यक्तित्व थिए । अप्ठ्यारो परेका बेला संसद, सरकार र न्यायपालिकाको सन्तुलन मिलाउन संझिइने व्यक्तित्वका रुपमा आफ्नो छाप दिएर सदाका लागि संसारबाट विदा भए ।


 मुलुकले एकसाथ संविधान र कानूनका ज्ञाता, प्राध्यापन क्षेत्रका असल गुरु, सहमति र समन्वयका धनी व्यक्तित्वलाई गुमाएको छ । असमायिक रुपमा भएको निधनका कारण मुलुकमा ठूलो रिक्तता छाएको छ । राजनीतिक क्षेत्रले संकटमा सहमतिका सारथि गुमाएको छ भने पत्रकारिता क्षेत्रले एउटा भरपर्दा अभिभावक । उनले मुलुकलाई लगाएको गुन सुवास जस्तै फैलिरहनेछ । 
 

प्रतिकृया दिनुहोस