• आइतबार-बैशाख-२८-२०८२

तानसेन (पाल्पा)को बदलिँदो चित्र(६): पाल्पा–तानसेनले बिर्सिनै नहुने व्यक्तित्व(२)

 

पाल्पा तानसेनमा बौद्ध संस्कृतिको विकास गर्ने भिक्षु अमृतानन्द थिए, तर उनी पनि काठमाडौं गएर स्वयम्भुमा चर्चित आनन्द कुटी विद्यालय स्थापना गरी परमेश्वरमा लिन भए । राजनीतिज्ञ यादवसिंह रायमाझी, हरिबहादुर थापा, गम्भीरजंग कार्की, हरि नेपालहरु सांसद भएर जे जस्तो सके देश पाल्पाका लागि काम गरे । जंगप्रसाद अमात्य, दुर्गा अमात्यबाट पनि पाल्पाले केही अपेक्षा ग¥यो होला । डा. सच्चेकुमार पहाडी, सावी पहाडी(रायमाझी) र शोभा शाक्यहरू आफ्ना समयमा सक्रिय थिए र छन् । कृष्णदेव शर्मा, कुलराज गुरुहरु, भरत खनाल, लक्ष्मण खनाल, चोलेश्वर शर्माहरुबाट पनि पाल्पाले निकै पायो । ।
 
पाल्पामा वैचारिक क्रान्ति गर्न सफल पत्रकार आदित्यमान श्रेष्ठ, पाल्पाकै बसाई सरेर पोखरा लागेका सांसद हरिप्रसाद पाण्डे, विष्णु प्रसाद पौडेल, पद्मप्रसाद पाण्डे, सोमप्रसाद पाण्डेहरुबाट पनि पाल्पाले ठूलो आशा राखेको छ । मेरा मित्र निरज गोविन्द श्रेष्ठले समेत समग्र विश्वमै नाम राखी पाल्पाको लागि समेत उल्लेख्य काम गरे, जस्तैः भगवती मन्दिरमा पाटीको निर्माण । लाकौल आँखा लायन्स क्लब र उद्योग बाणिज्य संघको सडकको  जग्गा अम्बिका लाकौल परिवारले सार्बजनिक प्रयोगमा दिएर ठुलो गुण लगाए भन्नुमा अत्युक्ति नहोला ।  

 

कक्षपति परिवार र कोलाक्षपति परिवारले समेत होटेल र राजनीति र सामाजिक  सेवाको क्षेत्रमा देशमै पनि र पाल्पा केन्द्रित काम गरेको नाग्लो प्रष्ट छ । देव राज र ईन्द्र राज कोलक्षपति क्रमशः प्रधानपन्च , र उनको भाई निर्माण व्यावसायी भै धेरै काम गरे । मास्के परिवारमा मणिध्वज, केशब, माधव र मनोहर मास्केले धार्मिक विरासत मात्र थामेनेन् बरु कृषि र आधुनिक ब्यवसायलगायत सामाजिक सेवामा समेत अग्रणी भूमिका खेले ।  

 
गृह प्रशासनमा  सचिव  नारायण मलेगो, आईजीपी कुवेर राना, एआईजी किरण बज्राचार्यलगायतले  मुलुकमा अमन चैन, सुशासन र भ्रस्टाचार निवारण गर्न उल्लेखनीय भूमिका निभाएको  स्पस्ट छ । त्यस्तै, सहकारीको कुरा गर्दा केशब थापा, उमेश्वर गोंगल, हरि नेपाल, रामेश्वर खनाल  समेतको नाम स्मरण हुन्छ । विद्युतमा जीन प्रधान, प्रदीप गोंगल, आदिको नाम  हाम्रो समकालीनमा  देखिन्छ । बिधान चन्द्रले पनि पढाए, जागिर खाए ।


कैलाशनगरको केवल प्रसाद  सिमांगैडादेखि टुँडीखेल अमृतमानसम्म जेभिटी देखि खुद्रा तथा थोक सामग्री विक्रीको स्मरण, सेन स्कुलमा जगत बहादुर जोशी, धवल पुस्तकालयमा क्याप्टेन राम बहादुर थापाको योगदान,  श्रीनगर गणेश, आदि थुप्रै स्मरण स्थान अभावको कारण सबैको नाम तथा विवरण उल्लेख गर्न सम्भव भएन । धेरैको नाम र काम छुट्न गएको छ त्यसको लागि क्षमा चाहन्छु । 


    दाँतको महेन्द्र डाक्टर,  संगीतकार मुनिन्द्र मास्टर, रोमेलको औषधि पसल, इतिहासकार निर्मल श्रेठ, रविन्द्र प्रधान, देविका बन्दनालगायत ईन्द्र गुठीका तमाम सदस्यहरु आदिको समेत विविध क्षेत्रमा  योगदान रह्यो । नगर प्रमुख सन्तोष श्रेष्ठ र उनका दाजु डा. मनोहर श्रेष्ठले  भैरवको मूर्तिको नयाँ आवरण निर्माणलगायत कार्य भएको छ । मेरा मित्र पूर्व नगर प्रमुख अशोक  शाहीले समेत नगरको विकासमा उल्लेखनीय काम गरेका थिए ।

    
पाल्पा : मुख्य आकर्षणहरू
शीतलपाटी

लोक गायक झलकमान गन्धर्वले पाल्पाको तानसेनको महिमा यत्तिकै गाएका हैनन् । प्राकृतिक सौन्दर्यको खानी त छँदै छ, सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण तानसेन पुग्दा जो–कोहीको मन चङ्गा हुन्छ । मास्टर मित्रसेन र उनको सिर्जना पुस्तकमा, ‘‘तानसेनको शीतलपाती” शीर्षकमा लेख्छन” 

ए कान्छी तानसेन डुल्न जाऊ है ..., 
केन जाने, 
डुल्न जाने केन जाने,
तानसेन कस्तो छ भनौ  त तानसेन कस्तो छ ? भन्नु होस न ।
बिच बजारमा आठ कुने ढोका, तानसेनको शीतल पाटी ! 
सम्झदा झल्किन्छ छाती नि  झर झर...”


   शीतलपाटी तानसेन नगरको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर पनि भन्ने गरिन्छ । यस स्थानमा स्थानीय कार्यक्रम तथा स्थानीय मानिसहरूलाई कुराकानी गर्ने स्थानको रूपमा प्रख्यात प्राप्त गरेको छ । गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र बिचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रङ लगाइएको छ । 


सूचना तथा सञ्चार
तानसेन नगरपालिकामा एक टेलिभिजन तथा ३ वटा रेडियो सञ्चार सुविधाका साथै छापा पत्रिकाहरू पनि उपलब्ध छन् । धवल पुस्तकालय नेपालको जेठो र ऐतिहासिक पुस्तकालय हो । पाल्पाको तानसेनमा वि. स. १९८३ मा ‘पुस्तक पढ्ने दलाल’ नामबाट शुरू भएको यो संस्था जहानिया राणा शासनका बेला जनजेतनाको विगुल फुक्न अग्रणी मानिन्छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले तानसेन भ्रमणको कर्ममा आफ्नै हस्तालिपिमा लेखेका छन्–“...मैले देखेका सब पुस्तकालय भन्दा धवल पुस्तकालयले नै मलाई ज्यादा सन्तोष दियो, सेतो हिउँको चुचुराहरु अगाडि रहेको यो ज्ञान मन्दिर जनताको निजी चन्दाले, उत्साहले र ज्ञान  झाँगिएको  रहेछ र राम्रो  धवलसंग ।

 

यसलाई यस जिल्लाले मात्र होइन, केन्द्रले पनि विशेष ध्यान र आर्थिक तथा अरु सहायता दिनु आवश्यक छ । किनकि यो नखालिस्तान हो, प्रकाशन केन्द्र हो, न मरोस्, जीवन  पाओस्  । यसलाई  विशाल स्वरूप दिएर फैलाउनु, शाखा प्रशाखा खोल्न लगाउनु र भरिभराउ  गराई दिनु र यसलाई पोषण दिनु–प्रत्येक नेपाली नागरिक, लेखक, देशभक्त र अधिकारीको परम कर्तब्य हो ।” (पथ–प्रदर्शक–धवल विशेशांक  २०६६) भन्ने महान तथा दूरगामी भनाईबाट पनि धवल पुस्तकालयको गरिमा झल्किन्छ । 


तानसेन बजार नेपालकै पुरानो नगरपालिकामध्येमा पर्छ । सायद उपत्यका  पछिको पहिलो  नगरपालिका हुनु पर्छ । कुनै समय सेन राजाहरूको गढ रहेको यो ठाउँमा राणा शासकहरुले काठमाडौंबाट नेवार समुदायका कालिगढ लगेर शहरको मुहारै फेरेका थिए । यसैले तानसेनका गल्लीहरु चहार्दै गर्दा घरिघरि काठमाडौंको झल्को मिल्छ । जस्तै ; असन, मखन टोल, वसन्तपुर, टुँडीखेल सबै भेटिन्छन् ।


पाल्पाका केही चर्चित धार्मिक स्थल :
भैरवस्थान मन्दिरः 

भैरव वा भैरवको हिन्दू मन्दिर हो जुन नेपालको पाल्पा जिल्लाको तानसेन शहरबाट करिब ९ किलोमिटर उत्तर पश्चिममा १४७० मिटरको उचाइमा अवस्थित छ । इतिहास हेर्दा पाल्पा राजधानी हुँदा सेना वंशका राजा मुकुन्द सेनले मन्दिर स्थापना गरेका थिए । मुकुन्द सेनाले काठमाडौं आक्रमण गर्दा मत्स्येन्द्रनाथ मन्दिरबाट भगवान भैरवको मूर्ति लिएर फर्केर पाल्पामा भैरवस्थान मन्दिरको रुपमा स्थापना गरेका थिए । परम्परा अनुसार यस मन्दिरमा नेपालभरका मानिसहरू र प्रायः पाल्पा र आसपासका जिल्लाका हिन्दूहरूले दर्शन गर्छन् । 


दशैंको महाअष्टमीमा हिन्दू धर्मावलम्बीहरूले मुख्यतया मन्दिरमा पूजा गर्ने गर्छन् । मंसिर (नोभेम्बर–डिसेम्बर) महिनामा धेरै तीर्थयात्रीहरू मन्दिरको दर्शन गर्छन् । यस मन्दिरमा पूजाको मुख्य दिन मंगलबार र शनिवार हो । 


चाडपर्वमा मन्दिरमा पशुबलि (राँगा, बोका, भेंडा र कुखुरा) गरिन्छ । पञ्चबलि पनि गरिन्छ, जसमा राँगा,  भेंडा, कुखुरा र हाँस गरी पाँच प्रकारका जनावरहरूको बलि दिइन्छ । यस मन्दिरको मुख्य प्रसाद रोट (नेपालीः रोट) हो, जुन चामलको पिठोको रोटी हो जुन विभिन्न मसलाहरू मिसाएर घिउमा भुटेको हुन्छ । पहिले भैरवलाई रोटी चढाइन्छ र त्यसपछि भक्तहरूमा बाँडिन्छ । आकर्षण यो मन्दिर प्रतिष्ठित त्रिशूलका लागि प्रसिद्ध छ । जुन नेपालको सबैभन्दा ठूलो मानिन्छ । यस मन्दिरको नामबाट स्थानीय गाउँ भैरवस्थानको नाम पनि राखिएको छ । (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस