काठमाडौँ, १४ असोज । मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई आइतबार काठमाडौँको पुरानो बानेश्वरबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका ८ घर भइ काठमाडौँको बेसीगाउँ बस्ने २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका ४ घर भइ बेसीगाउँमानै बस्ने २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका २ घर भइ काठमाडौँको जोरपाटी बस्ने २६ वर्षीय प्रेम रसाइलीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०२-०३४ प ०९ १८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट मिति २०८० भदौ ९ गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।
मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३७ प २४ ७७ नम्बर राखि चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न ३ जनालाई पुरानोबानेश्वरबाट आज २०८० असोज १४ गते नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जानकारी दिएको छ ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रतिकृया दिनुहोस