• शनिबार-श्रावण-१२-२०८१

प्रणाली विरोधी स्वर किन चर्किंदैछ ?

 

लोकतन्त्रको विकल्प बढी लोकतन्त्र हो । समावेशी र समुन्नत लोकतन्त्र हो । सामाजिक न्यायमा आधारित लोकतन्त्र हो । लोकतन्त्रमा जनता र नागरिकका चाहना तीव्ररूपले प्रकट हुन्छन् । तर, प्रचण्डको नेतृत्वको अराजनीतिक गठबन्धनले सत्ता सम्हालेदेखि मुलुक थप अराजक बन्दैछ । नागरिकमा निराशा झन्झन् बढेको छ । 


प्रत्येकलाई आफ्ना आवश्यकता र हितमा बोल्ने, माग गर्ने र आवाज उठाउने हक एवम् अधिकार हुन्छ, छ । तर, आफ्ना आवाज उठाउने र माग गर्ने नाममा अतिवादी प्रकृतिका विरोध, आलोचना र आक्रोशजन्य क्रिया–प्रतिक्रिया गर्ने गरिएका छन् । विरोधलाई आक्रोश तथा अमर्यादित बनाइँदा लोकतान्त्रिक प्रणाली र राज्यप्रतिको आक्रोश ह्वात्तै वृद्धि हुन थालेको छ । 


प्रतिनिधिमूलक प्रजातन्त्रमा जनताका निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकोले त्यो विधिलाई जनताको शासन हो भन्ने गरिएको छ । लोकतान्त्रिक विश्वमा शासन सञ्चालनको यो विधि प्रचलित र लोकप्रिय हुँदाहुँदै पनि यसका अनेकौँ दोष र दुर्गुणसँगसँगै आएका छन् । लोकतन्त्रमा राजनीतिक दललाई प्रजातन्त्रका खम्बा समान मानिन्छ । दलमार्फत जनताका राजनीतिक, सामाजिक र सार्वजनिक मुद्दा, सरोकार तथा हितमा आवाज उठाइन्छन् । सत्ता र शक्तिमार्फत कार्यव्रmम लागू गरिन्छन् । 


पञ्चायती शासनविरोधी संघर्षदेखिनै त्यस्ता राज्यसत्ताविरोधी अराजक र अमर्यादित आरोप लाग्ने ग¥यो । प्रजातन्त्रपछिका अवधिमा माओवादी सशस्त्र संघर्षदेखि सडक आन्दोलनहरूमा उग्रखालका नारा लगाइए । तत्कालीन जनआन्दोलनका क्रममा लोकतन्त्र र प्रजातन्त्रको माग भन्दा बढी ‘ज्ञाने चोर, देश छोड’ भन्ने उग्र नारा लागे । २०६३ सालमा लोकतन्त्र आएपछिका दिनमा फेरि उही संस्कृति झनबढी झाङ्गियो ।

 

आफ्नो राजनीतिक स्वार्थ नमिल्ने वित्तिकै जस्तोसुकै फौजदारी प्रकृतिका आपराधिक आरोप लगाउने प्रवृत्तिलाई राजनीतिक संस्कार जस्तो बनाइयो । नेता वामदेव गौतमलाई एमाले(प्रदीप नेपाल)ले टुँडीखेलबाटै देशको एक नम्बरी भ्रष्टाचारी घोषणा ग¥यो । प्रचण्डलाई लगाइने गरिएका आरोप भनिसाध्य छैनन् । अरबौँ भ्रष्टाचार गरेको आरोप स्वयम् डा. बाबुराम भट्टराईले लगाए । विगतमा नेता ईश्वर पोखरेलको पानी ट्याङ्कीका अरबौँ पैसा भेटियो भन्ने सस्तो निराधार हल्ला पिटियो । 


राज्यसत्ता र नेतालाई सजिलै लगाइने आरोप ‘चोर, ‘अपराधी’ र ‘ठग’ जस्ता शब्द बढी छन् । राज्यलाई ‘तहसनहन पारिदिने’, ‘गणतन्त्र र संविधान ध्वस्त गरिदिने’, ‘बालुवाटारमा आलो लगाइदिने’, ‘सिंहदरबारमा आलो लगाइदिने’, ‘प्रधानमन्त्रीलाई हत्या गरिदिने’ जस्ता अराजक, गैरकानूनी तथा अनैतिक–अमर्यादित आरोप–आक्षेप लगाइने गरिएका देखिन्छन् ।

 

काठमाडौँका मेयर बालेन स्वयम्ले अराजक र गैरकानूनी अभिव्यक्ति दिए । यसले लोकतान्त्रिक राज्य प्रणाली, राजनीतिक नेतृत्व तथा सिङ्गो संवैधानिक–राजनीतिक विधिलाई पुरै धमिलो बनाउँदैछ । राज्यको मर्यादित पदमा बसेकै पदाधिकारी स्वयम्ले त्यस्ता आरोप लगाइने गर्दा नेपाली समाजको असल संंस्कृति तथा सभ्यता ध्वस्त हुँदै जान थालेको छ । आखिर किन र कसरी त्यस्तो विकृतपूर्ण संस्कृति मौलायो ? हाम्रो समाज र प्रणाली हामीले कस्तो बनाउँदैछौँ ? प्रश्न गम्भीर बन्दैछ । यसमा अनेकौँ तत्वहरूले भूमिका खेलेको देखिन्छ । यहाँ केही बुँदाहरूलाई छलफलको लागि पेश गरिएका छन् ।


स्वतन्त्रताको दुरुपयोग : 
संविधान र राजनीतिक स्वतन्त्रताको दुरुपयोग गर्ने र आफूलाई मन नपरेको जो कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर आरोप–आक्षेप लगाउने संस्कृति बढ्दै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त भएका राजनीतिक स्वतन्त्रतालाई गलत अर्थमा बुझ्दा यस्ता कुसंस्कार बढेको हो । प्रत्येकले अधिकारै अधिकारको बारेमा चर्का कुरा गर्ने तर आफ्ना आधारभूत दायित्व पूरा नगर्ने प्रवृत्ति बढ्दै गएका छन् । उदारवादी लोकतन्त्र अपनाएका युरोपका देशहरूका शासन प्रणाली हेर्ने हो भने अधिकारका साथै प्रत्येक नागरिकले आफ्ना दायित्व पूरा गर्ने गरेको देखिन्छ । समाजवादी चीनको शासन प्रणाली मूल रुपमा दायित्वमा बढी निर्भर रहेको छ । नेपालमा चाहिँ स्वतन्त्रताको उपयोग गर्ने नाममा उग्रस्वतन्त्रता र अराजकता बढ्यो, बढ्दैछ ।


प्रणालीप्रतिको अलगाव :
 आधुनिक, पढेका र नवयुवा भनिएका ठूलो जमात राजनीति, राजनीतिक प्रणाली, देश, राजनीतिक नेतृत्व र शासन सत्ता सञ्चालन गर्ने सरकारप्रति अनुत्तरदायी र अनदेखा वा बेमतलवी बन्दैछन् । देश, राजनीतिक–संवैधानिक प्रणाली र राजनीतिक नेतृत्वको सम्मान नगर्ने प्रवृत्ति बढेको र बढाइएको छ । नेता, राज्यप्रणाली र सरकारी पदाधिकारीलाई जेपनि गाली गर्न पाइने अर्थमा बुझिँदैछ, सोचिँदैछ । जुन गलत हो ।


नैतिकताको प्रश्न :
मानिस, व्यक्ति र समाजलाई अग्रगति दिने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो । घर परिवार, स्कुल–कलेज मानिसको पहिलो पाठशाला हुन् । त्यहीँबाट मानिसले नैतिकता, असल आचरण र संस्कार सिक्दछ । व्यक्ति र समाजबाट राजनीतिक नेतृत्वको निर्माण र विकास हुन्छ । राजनीतिक नेतृत्वमा रहेका नेता आफै भ्रष्ट, अनैतिक, मूल्यहीन, अविश्वासी र पतीत भइदिए भने त्यसको दुष्प्रभाव समाजमा पर्ने हुन्छ ।

 

राजनीतिक नेतृत्व र सरकारमा बसेका व्यक्तिलेनै अन्यलाई तथानाम फौजदारी अपराधजन्य प्रकृतिका आक्षेप र आरोप लगाउँदछन् र हत्यारालाई जेल मुक्त गर्दै जान्छन् भने त्यहाँ त्यसको कुप्रभाव समाजमा प्रत्यक्ष पर्दछ । अर्थात नेपाली राजनीतिमा मूल्य र नैतिकताको संस्कृति ध्वस्त हुँदा त्यसको कुप्रभावले समाजमा अराजकता फैलियो, फैलिँदैछ ।


नकारात्मकताको आगो :
मुलुक, देश र राजनीतिक एवम् सार्वजनिक विषय तथा मुद्दाप्रति मानिसहरूलाई सकारात्मक उर्जा दिन सकिएन । नकारात्मकता यति वृद्धि हुँदैछ कि मानिसहरू ‘सबै चोर हुन्’, ‘राज्य प्रणालीमा रहेका पुरै अपराधी र ठग हुन्’ भन्ने भाष्य, सोच तथा ‘आम आवाज’ बन्दैछ, बनाइँदैछ । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आव्रmोस वा आगोले सबैको नास गर्ने बाहेक केही गर्दैन । अतिवाद र नकारात्मकता जहिल्यै घातक हुन्छ ।

 

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र व्यवहार, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका राजनीतिमा प्रवेश गर्दाका अभिव्यक्तिहरू, युक्रेनका राष्ट्रपति झिलिनोस्कीका उग्रराष्ट्रवादी अभिव्यक्ति आदिले उनीहरूलाई मात्र सकेन तिनका पार्टी र मुलुकमा समेत भाँजो पा¥यो । आफ्ना निजी स्वार्थपूर्तिका लागि ओकिलिने नकारात्मक आगोद्वारा अन्य व्यक्ति, संस्था, प्रणाली र निकायलाई झोस्न खोज्ने नकारात्मक ज्वाला प्रत्येकको प्रगतिको बाधक धार हो । यसमा राजनीतिक नेतृत्व, सरकार तथा सामाजिक अभियन्ताहरूले सकारात्मकता वृद्धि गर्न भूमिका खेल्नुपर्ने खाँचो देखियो ।


निजी हित र स्वार्थ : 
निजी हित, आफ्नो स्वार्थ बाहेक सबैलाई नकार्ने प्रवृत्ति समाजमा ह्वात्तै बढेको छ । सार्वजनिक र सामुहिक हित कहिल्यै नदेख्ने खाली आफ्नो निजी स्वार्थ पूर्तिमा मात्र केन्द्रित हुनेतर्फ समाज अघि जाँदैछ । सोही कारण राज्य सत्ता, सरकार, प्रणाली र नेतालाई जहिल्यै तल्लो स्तरको गागी मात्र गर्ने प्रवृत्ति बढेको देखिन्छ । 


सञ्चारमाध्यम र सामाजिक सञ्जाल : 
सार्वजनिक सञ्चार माध्यम लोकतन्त्रमा अत्यावश्यक क्षेत्र हुन् । तर सस्तो, छिटो र बढी प्रचार गर्दै धेरै कमाउने नाममा प्रायजसो सञ्चारमाध्यमले गलत, भ्रामक र झुट्ठा भ्रम फैल्याउँदै आए । अर्काेतर्फ सामाजिक सञ्जालको दूरुपयोग अति धेरै बढेको छ । युट्युबरका झुट्ठा र फट्याइँपूर्ण हर्कतले समाज भ्रमित मात्र बनेका छैनन् राज्यसत्ता, नेता, सरकार, प्रणाली जतापनि जसले जस्तोसुकै अराजक, गैरकानूनी आक्षेप लगाउन पाउने जस्तो वातावरण निर्माण गरियो, गरिँदैछ । यसको दुरुपयोगलाई विधिसम्मत्त नियन्त्रण गर्नुपर्ने खाँचो देखिन्छ ।


हल्ला र अफवाह : 
 समाजमा गलत हल्ला, कुप्रचार, अनावश्यक हल्ला, झुट्टा प्रचार र अफवाह फैल्याएर नीहित स्वार्थसिद्ध गर्ने तत्व बढिरहेका छन् । यिनलाई राज्यप्रणाली, संविधान, विधि, राजनीतिक र कानूनी–नीतिनिर्माता ‘सबै चोर’ र ‘निकम्मा’ हुन भन्ने प्रचार गर्दै आफू थप गैरकानूनी हर्कत, धन्दा गर्ने, भ्रष्टाचार र लुट मच्चाउने, राजनीतिक स्वार्थपूर्ति गर्ने र पानीमाथिको ओभानो भएर ‘सच्चा र चोखो’ देखाएर ‘ठूलो बन्ने’ प्रवृत्ति बढ्यो । अर्काेतर्फ उस्तै पर्दा राजनीतिक नेतृत्व गर्ने र तिनै व्यक्ति ‘नेता’ बन्न त्यस्ता कतिपय दुषित मनसाय भएकाहरूद्वारा अराजक, अशिष्ट र गैरकानूनी आक्षेप लगाउने प्रवृत्ति बढ्दै गएको छ । 


यस्ता प्रवृत्तिलाई नागरिक समाज, राज्य र नेपाली नागरिकले ठाउँको ठाउँ निरुत्साहित गर्नुपर्ने अवस्था देखियो । अराजक, असभ्य र अनैतिक आक्षेपले नेपाली समाज र संस्कार कस्तो बन्न पुग्ला ठूलो प्रश्न उब्जिएको छ । प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारले जनतामा झन निराशा थपेको कारण प्रणाली विरोधी स्वर बढ्दै गएको देखिन्छ । (साँघु साप्ताहिक, २०८० असोज १५)
 

प्रतिकृया दिनुहोस