(कैलालीकी लक्ष्मी समाजसेवी हुन् । उनी गौरीगंगा नगरपालिका वडा नम्वर ६ की बासिन्दा हुन् । विगत ६ वर्षदेखि उनी निस्वार्थभावले समाजसेवामा संलग्न रहँदै आएकोबताउछिन् । सामाजिक सञ्जाल फेसबुकको सहायताले हजारौं पीडितहरूको पीडामा मल्हम पट्टी बनेकी उनी एक गरिब परिवारमा जन्मिएकी डोटेली छोरी हुन् । पछिल्लो केही समय यता दुर्गम र विकट स्थानमा रहेर समाजसेवा गर्दै आएकी छिन् । अनेक चुनौतीको सामना गर्दै समाजसेवामा खटदै आएकी उनी अहिले गएको कात्तिक १७ गते जाजरकोटमा गएको विनाशकारी भूकम्प पछि दिनरात नभनी राहत वितरण गर्न व्यस्त छिन् । दीनदुःखीको मल्हम पट्टी बन्दै आएकी उनै समाजसेवी कुँवरसँग साँघु साप्ताहिकका लागि रिकेश विश्वकर्मा (क्षितिज) ले समाज सेवाको संभावना, यो क्षेत्रमा भोग्नु परेको समस्या र आगामी चुनौतीलगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको मुख्य अंशः सम्पादक)
० सबैभन्दा पहिले तपाईंले समाजसेवाको सुरुवात कसरी गर्नुभयो ?
–म विकट गाउँमा जन्मेकी हुँ । मलाई बोल्न समेत पनि राम्ररी आउँदैन। आजका दिनसम्म म कुनै राजनीतिक पार्टीको संगठनमा पनि आवद्ध छैन। मैले समाजसेवा गर्न ठूला मान्छेको सङ्गतबाट होइन, मात्र सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट थालेकी हुँ।
० फेसबुकको माध्यमबाट कसरी समाजसेवा गर्नुहुन्थ्यो नि ?
–हाम्रो गाउँमा दुःखी गरिब धेरै थिए। विकट ठाउँ भएकोले विरामी परेको समयमासजिलै औषधि उपचार हँुदैनथ्यो । यही कारणकतिपय औषधि उपचार नपाएर छटपटाउन बस्न बाध्य हुन्थे । कति बालबालिकाले विद्यालय देख्नु त परै जावोस् शिक्षाको नाममा कखरा सिक्नबाट बञ्चित हुनु परेको धेरै उदाहरण छन् । जवमैले फेसबुक चलाउन थालें । त्यसपछि मैले समाजका यस्तै विषयहरूलाई फेसबुकमार्फत पोस्ट गर्न थालें । बिस्तारै त्यसपछि फेसबुकबाट धेरै मान्छेहरूले मलाई चिन्न थाले ।यस्ता समस्यालाई सामाजिक सञ्जालमा जोडिएका मान्छेहरू समाधान गर्नुहुन्थ्यो । यसरी नै मैले समाजसेवाको सुरुवात गरेकी हुँ ।
० सामाजिक सञ्जालको माध्यमबाट समाजसेवामा हुनुहुन्छ तर, इन्टरनेटको सुविधा राम्रो नहुँदा पनि कसरी व्यवस्थापन गर्नुभयो ?
–म समाजसेवामा संलग्न हुँदा इन्टरनेटको सुविधा केही पनि थिएन । भनेको बेला मोवाइलमा पैसा हाल्न रिचार्ज कार्डसमेत पाउन मुस्किल थियो । मैले सामाजमा पीडा भोगेका मान्छेहरूको दुःख देख्न नसकेर नून तेल खान जम्मा गरेको पैसाले कार्ड किनेर गरिब दुःखीहरुको विभिन्न समस्याका भिडियो र तस्बिरलाई फेसबुकमा अपलोड गर्ने गर्थें। गाउँ–घरमा पनि होचो र गहिरो ठाउँमा टावर आउँदैनथ्यो। अप्ठ्यारो बाटो छिचोल्दै डाँडामा पुगेपछि मात्र टावरले काम गर्दथ्यो ।
० दाताहरू तपाईंसँग कसरी जोडिए बताई दिनुहोस् त ?
–जब मैले समाजको यथार्थ कुरा बाहिर ल्याएँ तब मेरो फेसबुकमा धेरै दाता साथीहरू जोडिन थाल्नु भयो। समाजको यथार्थ कुरालाई देखाएर नै म विश्वासिलो पात्र बन्न सकें। मलाई मिडियाले पनि कभर गर्न थाले । त्यसपछि झन मलाई राहत मिल्यो। सबैले अभियान्ता भन्छन् । तर, म अभियान्ता होइन, दुःखीहरुको लागि पुल जस्तो मात्र हो ।
० सुरुमा तपाईंले आफ्नै गाउँबाट समाजसेवा गर्न थाल्नु भयो, त्यो बेला कस्ता कस्ता ब्यक्तिहरुको उद्धार गर्नुभयो त ?
–मैले समाजसेवा सुरु गर्दै गर्दा बेसाहारालाई बढी फोकस गरें । सबैभन्दा पहिला मेरै गाउँको तीनजना टुहुरी छोरीहरूको उद्धार गरें । मैले उनीहरूको भिडियो बनाएर फेसबुकमा हालें। त्यसपछि अमेरिका निवासी खुसी राई भन्ने दिदीले उक्त भिडियो हेर्नुभएछ ।त्यसपछि दिदीले सहयोग गर्नुभयो । उनीहरुले आजसम्म मेरो पहल र दिदीको सहयोगबाट निजी विद्यालयमा पढिरहेका छन् । सडकमा बेवारिसे भेटिएकाहरुलाई पनि उद्धार गर्दै आएकी छु । त्यस्तै गाँजा भाङ खाएर सडकमा हिड्ने र कुलतमा फसेकाहरूलाई उद्धार गरेर पुनस्र्थापना गर्ने गरेकी छु । कैलाली जिल्लामा सहारा घर स्थापना भएको छ । उनीहरुलाई उद्धार गरेर त्यहाँसम्म पु¥याइदिने काम गरें। बेवारिसे बच्चा र वृद्धाहरुको धेरै उद्धार गरेकी छु ।
० तपाइँ त कसैको बुहारी पनि हुनुहुन्छ, घरको काम पनि गर्नुपर्ला, बालबच्चालाई हेर्नुपर्ला तर दिनरात समाजसेवा नै सक्रिय रहँदा, कसरी समय मिलाउनु हुन्छ ?
–मेरो १७ वर्षको उमेरमा नै बिवाह भयो। म एक गरिब परिवारमा हुर्केकी छोरी हुँ । त्यसैले पनि मैले दुःखलाई सहजै पार गरेर संघर्ष गर्न सिकेकी छु । म एक गरिबकी छोरी हुनेखानेको घरमा भित्रिदा केही वर्ष त गाह्रो भयो नै । तर, पनि पछिल्लो समय मलाई मेरो घरबाट पनि माइती जस्तै साथ सहयोग मिल्यो । मेरोसमाजसेवा गर्ने मनलाई मेरो श्रीमानको सहयोगबाट अझ फराकिलो पारिदियो। मेरो दुई जना केटाकेटी छन् ।१२ वर्षको छोरी र ४ वर्षको छोराछ । बच्चा १५ महिनाको हुँदा म छोडेर टाढा टाढा जान्थें। परिवारले रेखदेख गर्नुहुन्थ्यो। घरपरिवारबाट मलाईत्यस्तो समस्या केही छैन। अहिले पनि प्रायजसो घरमा म कहिले हुँदिन ।
० जब तपाईं एक समाजसेवीको रुपमा चिनिन थाल्नु भयो, त्यसपछि वडा कार्यालय र गाउँपालिकाबाट कस्तो किसिमका सहयोग प्राप्त गर्नुभयो ?
–०७४ सालमा स्थानीय सरकार गठन भयो । स्थानीय सरकार गठन भएसँगै म आफ्नो वडामा मेलमिलापकर्ता संयोजक भएर काम गर्न थालें । तर, पनि राम्रोसँग बोल्न जानदैन्थें । बोल्नु प¥यो भने मुटु नै काँम्थ्यो । बिस्तारै बोल्दै, तालिमहरू लिंदै गएपछि ममा केही क्षमता विकास हुँदैगयो । जसले गर्दा सामाजिक सञ्जालमा अझ मलाई बोल्न लेख्न सहज भयो । कुनै सभा मिटिङमा कुरा गर्न सक्ने भएँ । यिनै कुराहरूबाट पाठ सिक्दै आज यहाँसम्म आइपुगेकी हुँ ।
० समाजसेवी भएकोले राजनीतिक पार्टी र तिका भातृ संगठनमा आवद्धताको लागि विभिन्न अफरहरू आँउछन् होला नि होइन ?
–आजको दिनसम्म म कुनै पनि राजनीतिक पार्टी र तीनका भातृ संगठन केहीमा पनि आवद्ध छैन। तर मलाई धेरैले तपाइँ सबैले चिनेको मान्छे मिलेर संगठन खोलौ भन्ने प्रस्ताव पनि राखेका छन । युट्युब खोलौं कमाई हुन्छ भन्छन् । तर, आजसम्म मैले त्यस्तो सोच बनाएकी छैन ।
सामाजिक संस्था पनि खोलेकी छैन र कतै लागेकी पनि छैन। आगामी दिनमा लाग्ने मन र सोच पनि छैन । म स्वतन्त्र ढंगले समाजसेवा गर्न चाहान्छु। फोहोरीसँग संगत गरेंभने म पनि फोहोरी हुन्छु भन्ने भावना ममा रहेको छ । अहिलेसम्म कुनै पनि राजनीतिक दलमामा आवद्ध भइन् । म पार्टी होइन, व्यक्ति हेर्छु ।
० तपाईंमा समाज सेवा गर्नुपर्छ भन्ने मनसाय र भावना कसरी विकसित भयो नि ?
–म एउटा गरिब परिवारमा जन्मिएकी छोरी हुँ । त्यतिखेर पढ्नको लागि कापी कलम हुँदैनथ्यो । अरुले फालेको कापी टिपेर त्यसलाई इरेजरले मेटेर लेख्ने गर्थें । हामी ६ दिदीबहिनी थियौं । छोरा नभएको भनेर समाजमा बुबा आमालाई सबैले हेप्ने गरेका थिए । छोरा नभएको कारणले आमालाई गाउँ निकाला गरेको पीडाले यो मन चस्काउँने गरेको छ। त्यतिखेरदेखि आमालाई म छोराको जस्तै काम गरेर देखाउँछु भन्ने भावना ममा रहेको थियो । आमालाईयस्तै आश्वासन देखाउँदै आएकी थिएँ । त्यसैले आफूले भोगेको हर दुःखलाई सम्झिदै समाजसेवामा लागेकी हुँ ।
० यो क्षेत्रमा लागेको ६ वर्ष हुँदै गर्दा तपाईं आफूलाई अहिलेसम्म गरेको समाजसेवा मध्ये यो चाहिँ ठूलो काम के गरें भन्ने कुनै घटना छ ?
–मैलेहरेक दिन समाजसेवा त गरेकै हुन्छु । तर, एउटा पुरै शरीर कुहिएको भाइको ज्यान बचाउन म सफल भएँ ।यो कोरोनाको समयकोघटना हो । मेरै जिल्लाको एकजना भाईलाई आगोले पोलेर पुरै शरीर कुहिएको थियो। सेती अञ्चल अस्पतालले समेत उनलाई बचाउन नसक्ने भनिसकेको अवस्था थियो । मैले सामाजिक सञ्जालको प्रयोग गर्दै रकम संकलन गरेर अस्पतालमा पु¥याएर निको पारेरै छाडें । आज ती भाइ पानी बेचेर आफ्नोजीविकोपार्जन गरिरहेका छन्। हिजो कुहिएर मृत्यूको मुखमा पुगेको मान्छे आज यो अवस्थामा देख्न पाउँदा भाइको निम्ति ठूलो काम गरें जस्तो लाग्छ।
० नेपालमा कोरोना महामारी फैलिंदा तपाइँले कस्ता कस्तालाई सेवा गर्ने अवसर प्राप्त गर्नुभयो ?
–पहिलो पटक कोरोनाको बेला मलाई ठूलो बज्रपात आइलाग्यो । मेरो श्रीमान भारतमा काम गर्नुहुन्थ्यो। उहाँ नेपाल आउनुभयो । अनि क्वारेन्टाइनमा बस्नुभयो । तर, उहाँलाई एक्कासी टाउकोमा समस्या देखियो । त्यतिखेर उपचारको लागि कुनै डाक्टर फेला पार्नसकेनौ । तड्पिएर बस्नु बाहेक केही विकल्प थिएन । तर, बल्ल तल्ल हारगुहार गरेर काठमाडौँको न्युरो हस्पिटल ल्याएर उपचार सुरु गरियो ।
हस्पिटलले उपचारमा कम्तीमा १८ लाख लाग्छ भन्यो । नौ महिनाको बच्चा काखमा च्यापेर उहाँलाई बचाउन मैले हारगुहार गरें । ममार्फत आफन्तलगायत धेरै दाताहरूले सहयोग पनि गरे । उहाँलाई बचाउन सफल भएँ ।
० त्यसपछि के के भयो ?
३ महिनाको हस्पिटल बसाइपछि मेरो श्रीमान ठिक हुनुभयो । त्यसपछि नौ महिनाको बच्चलाई घरमा छोडेर म सेवाको लागि फिल्डमा खट्न थालें । दुःख विमारमा परेकाहरूको लागि म उद्धारमा निरन्तर खटिन थालें । बिरामी परेका र पैसाको अभावमा तड्पेका हरेकलाई हारगुहार गरेर बचाउनेतर्फ लागेकोमा मलाई गर्व महसुस भइरहेको छ ।
०८० असोज १७ गते बझाङमा भूकम्प गयो, केही मानिसहरु घाइते भए भने कति घरबासविहीन हुन पुगे,उक्त जिल्लामा पुगेर तपाईंलेसहयोग गरेको भन्ने विषय पनि बाहिर आएको थियो नि ?
–मैले यस्ता किसिमको अभियान चलाएको धेरै भएको छैन। फेसबुकबाट नै मैले सहयोगको अभियान चलाएर खप्तड छेडेदह र मस्टा गाउँपालिका भित्रको १ सय ६० घरपरिवारलाई न्यानो कपडा त्रिपाल, डस्नाहरु वितरण गरेकी थिएँ। म आफैको कमाइवाट सहयोग गर्न नसकेता पनि अरुद्वारा सहयोग जुटाएर घर घरमै पुगेर राहत वितरण गरेको कुरा साँचो हो ।
० समाजसेवामा खटिरहँदा बालबच्चाको भविष्यलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ, दाताहरूबाट आउने मेवाको आसले त समाजसेवा गर्नुभएको होइन ?
–त्यस्तो मैले कदापि गरेको छैन । दाताबाट उपलव्ध सहयोग रकम त्यसरी किन खानु प¥यो?मेरो हातखुट्टा केही भएका छैनन् । मेरो ज्यान र परिवार पाल्नको लागि म पनि केही काम गर्न सक्छु नि†मेरो श्रीमान काम गर्नुहुन्छ । घर व्यवहार धानिरहनुभएको छ । कुरा काट्नेहरूले मलाई खानको लागि समाज सेवा रोजेको ठान्लान् । तर आजसम्म मैले कसैको एक रुपैयाँ खाएको छैन। म राहत वितरण गर्दा पनि हरेक स्थानीय निकायसँग समन्वय गरेर वितरण गर्छु। सामाजिक सञ्जालबाट जानकारी गराउँछु। मैले खानको लागि होइन, सेवाको लागि नै समाजसेवा गरेकी हुँ। मैले गलत काम गरेको भए दाताले मलाई कसरी विश्वास गर्दथें।
० जाजरकोट र रुकुम पश्चिममा विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ, ती ठाउँमा पनि राहतहरु उपलब्ध गराउँदै हुनुहुन्छ ?
–जुन दिन भूकम्प गयो, त्यहीँ दिन मलाई खबर आएपछि मैले फोटो र भिडियोहरु समाजिक सञ्जालमा पोष्ट गरें । मेरो पोस्टहरू विदेशमा रहनुहुने दाजुभाई तथा दिदीबहिनीहरू हजारौँले हेर्नुभयो । हामी खाजा खर्च कटाएर भए पनि सहयोग जुटाउँछौं तपाईंले पीडितसम्म पु¥याइदिनुस् भन्नुभयो । त्यसपछि म हरेक दिन पीडितहरूको घरघरमा गएर दिनदिनै न्यानो कपडादेखि सिरक, डस्नालगायतका सामान आजका दिनसम्म पनिवितरण गरिरहेकी छु। केन्द्रीय मन्त्री, प्रदेश सरकार सम्बन्धित स्थानीय निकाय नपुगेका जाजरकोटको कुना कुनामा र पीडितहरूको दैलोमा पुगेर राहत वितरण गरिरहेकी छु ।
० कतिपय ठाउँमा राज्यले वा सम्बन्धित निकायले अहिलेसम्म त्रिपालसमेत पु¥याउन सकेनन् भन्ने गुनासोबाहिर आएको छ नि ?
–भूकम्प पीडितहरुको गुनासो त धेरै आएको छ। हामी राहत लिएर जाँदै गर्दा राज्यलाई विभिन्न मुलुकबाट सहयोग आउँदा पनि पीडितले समयमा त्रिपालसमेत पाउन नसकेको गुनासो बाहिर आएको छ । अझै पनि पीडितहरु खुल्ला आकाशमुनि बस्नुपरेको समाचारहरु बाहिर आएका छन ।
हामीसँग पीडितहरुले रुँदै भन्नु भयो, आजसम्म केही पाएनौ । बस्ने बास छैन, छानो हाल्न खर काट्न जाउँ भने भीरबाट लड्ने डर छ। अझै आँसुको तालमा डुबेर बस्नु परेको छ। विभिन्न सामाजिक सञ्जालमा पीडितको दुखेसो छरपस्ट भएका छन् । विभिन्न देशबाट सहयोग आएको छ। तर, वास्तविक पीडितले अहिलेसम्म राहत नपाएर रुँदै दिनरात काटेर बस्नु परेको छ ।
० तपाइँहरुले राहत वितरण गर्दै गर्दा कसैबाट अवरोध भयो कि भएन ?
–अवरोध त धेरै गर्नुभयो । जाजरकोटको एउटा गाउँपालिकामा जहाँ अहिलेसम्म त्रिपालसमेत पुगेको छैन। हामीले राहत वितरण गर्दा केही व्यक्तिहरूले आएर कसले राहत बाँड्न भनेर पठाएको भन्दैरोक्नुभयो ।
पीडितहरुले छेउमा बसेर राहतको लागि आँसु झारिरहेपछि नगरपालिकाको उपमेयरले नरोक्नु भन्ने निर्देशन दिएपछि बल्ल बाँड्न दिइयो । जसबाट मैले के थाहा पाएँ भने राहतमा पनि राजनीति हुँदोरहेछ । तर, हामीले हरेक स्थानीय निकायसँग समन्वय गरेर नै आफैं घर दैलोसम्म पुगेर बाँडिरहेका छौं ।
० सेवा गर्दैगर्दा कस्ता कस्ता चुनौतीहरू आउँदा रहेछन् ?
जाजरकोटलाई नै उदाहरण मान्ने हो भने सेवा गर्दा गर्दै कहिले डिप्रेसनमा गइएला जस्तो लाग्छ। सानो बच्चा घरमा छोड्नुको पीडा त छदैंछ, दुई तीन दिनसम्म पनि भोकै बस्नुपर्ने बाध्यता आइलाग्छ। समयमा खाना खानसमेत समय मिल्दैन ।
शरीर झन कमजोर हुन्छ भने अहिले पनि ती जिल्लामा भूकम्पको पराकम्पनहरू गएको गयै छन । त्यसो हुँदा एकातिर बच्चाको याद आउँछ भने अर्कोतिर आफ्नो ज्यानसमेत जोखिममा परेको महसुुसहुन्छ ।
० अन्त्यमा दाताहरुलाई के भन्न चाहनु हुन्छ त ?
–म सबैको दुखेको घाउमा मलमपट्टि लगाउने व्यक्ति हुँ । मेरो विरुद्धमा नराम्रो नबोलिदिनुहोला । म गलत भए भने बरु प्रमाणसहित कानूनी रुपमा जानुहोला । म बेहोर्न तयार छु। मलाई र मेरो कामलाई जतिले माया गरी आज यहाँसम्म पु¥याउन सहयोगगर्नु भयो, सबै मनकारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । (साँघु साप्ताहिक, २०८० मंसिर ४)
प्रतिकृया दिनुहोस