• शनिबार-श्रावण-१२-२०८१

सम्पदा संरक्षणका नाममा लुट: महानगर प्रमुख बालेन चुप

 

काठमाडौं । भ्रष्टाचार विरोधी मेयरका रुपमा चिनिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सामाजिक सञ्जालमा जति चर्का कुरा लेख्छन् त्यत्ति नै धेरै उनकै अड्डामा कमिशनको चक्कर हुँदा पनि चुप छन् । नेवारी समुदायलाई फुटाउ र राज गरको नीति लिएका बालेन साहले तिहारमा म्हँ पूजा गरेर आफूलाई नेवारी समुदायभित्र कै हो भने जसरी  प्रस्तुत भए । 


बालेनको समूहले ल्याएको योजना अनुरुप नै गौरवको योजना भन्दै अहिले संस्कृति सम्पदा जोगाउने नाममा सम्पदा विभागले मिलेमतोमा नगरवासीले तिरेको करलाई ‘बजी’ अर्थात् चिउर चपाए जस्तै गरि चपाईरहेका छन् । नेपाल सम्वत् ११४४ को अवसर पारेर वसन्तपुर डवलीमा अर्केष्ट्रा प्रस्तुत भन्दै नेवारी बाँसुरी त बजाए । तर,  बाँसुरी बालबालिकाहरुले भने महानगरपालिकाले उपलब्ध गराएको रकम भने पाउन सकेनन्, स्रोतले बतायो । 


मेयर विद्यासुन्दर शाक्यको पालामा वडा सचिव हुँदा सेवाग्राहीसँग घुस मागेपछि नेवार समुदायले नै कालोमोसो दलेर वडाबाट खेदिएका पानी बढुवामा सहायक निर्देशक बनेका धर्म मुनिकारले आफूले बासुरी बजाउन सिकाएका विद्यार्थीहरुलाई प्रयोग गरेर अर्केष्ट्रा प्रस्तुत गरेर लाखौं कमाउन सफल भएको आरोप छ । दुई वर्ष अघि पनि सभागृहमा उनले त्यस्तै अर्केष्ट्रा प्रस्तुत गरेर महानगरबाट लिएका रकम कलाकारलाई नदिएपछि मेयर विद्यासुन्दर कहाँ उजुरी नै परेको थियो । 


अहिले फेरि उनै मुनिकार उनकी चतुर हाकिम्नी श्रृजु प्रधान मिलेर मेयर बालेन सम्पदा संरक्षणमा लागेका भन्दै महानगरको रकम झ्वाम्म पारिरहँदा पनि बालेन चुप बसेको गुनासो छ । सवै भन्दा रोचक कुरा त के छ भने काठमाडौं महानगरपालिकाले आफ्नो २९औं स्थापना दिवस २०८० मंसिर २९ गते मनाउने सन्दर्भमा अरु बासुरी वादन प्रतियोगिता भन्दै सार्वजनिक सूचना नै जारी गरेको छ । सो प्रतियोगितामा नेवारी भाषाका गीत मात्र बजाउने पाउने गरी मापदण्ड तोकिएको छ । जसले काठमाडौं महानगरपालिका भित्र बसोबास गरेका बाँसुरी वादक कलाकार त्यसमा संलग्न हुन पाउने छैनन् । तर, प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई डेढलाख, एक लाख र पचास हजार रुपैयाँ सहित चाँदीको बाँसुरी पुरस्कार समेत राखिएको छ । 


यसका लागि सम्पूर्ण मापदण्ड बनाउने आफूलाई बाँसुरी गुरुका रुपमा चिनाउने सम्पदा विभागमा कार्यरत सहायक निर्देशक  धर्म मुनिकार हुन् । उनले प्रतियोगिताका निर्णायकमा समेत बाँसुरीको विज्ञ नराखी आफू र आफू निकट व्यक्तिलाई राखिरहेको आरोप छ । महानगरमा इमान्दार विभागीय प्रमुखका रुपमा रहेकी  सो विभागकी प्रमुख अर्चना शाक्यलाई निर्देशक श्रृजु प्रधान  र मुनिकारले च्याम्पुटी झैं घुमाईरहेका छन् । 


यस अघि हाँडीगाउँमा भएको धिमे बाजा प्रतियोगितादेखि अहिले हुन लागेको बाँसुरी प्रतियोगितासम्मको कार्यक्रमका लागि आधा करोड सिध्याउन लागिएको छ । श्रृजु प्रधान र मुनिकारको सेटिङ्गमा अमुक संस्थासँग सम्झौता गरी रकम भुक्तानी दिइने छ । सम्पदा विभागमा श्रृजु प्रधान र मुनिकारकै हालीमुहाली देखिन्छ । तर, मेयर बालेन अरुको आँङ्गमा जुम्रा हिडेको देख्छन् आफ्नो आङ्गमा भैंसी दौडिरहेको पनि देख्न सकेका छैनन् । महानगरको सम्पदा विभागले नेवारी बाँसुरी प्रतियोगिता गरेर सम्पदा संरक्षण हुने हो त ?


स्मरण रहोस्   श्रृजु प्रधान काठमाडौं महानगरपालिका कै रकमले सम्पदा सम्वन्धी विषय अध्ययन गर्न जाँदा कार्यालयले दिएको अध्ययन विदा भन्दा बढी बसेर जागिरबाट नै हात धुनु पर्ने अवस्था आएको थियो । पछि जनप्रतिनिधिविहीन अवस्थामा प्रमुख कार्यकारी अधिकृतलाई खुसी पारेर जागिर नियमित गरेको महानगरका कर्मचारीहरु बताउछन् ।  

   
 सम्पदा संरक्षणका नाममा सम्पदा विभागबाट भएको अनियमित कार्य र भ्रष्टाचार हेर्नका लागि मेयर बालेनले भर्ना गरेका दर्जनौं विज्ञ सल्लाहकारले कार्यक्रमको खर्च र भुक्तानी कुन प्रक्रियाबाट कसरी गरेका रहेछन् फाइल मगाएर हेर्दा नै पुष्टि भइहाल्ने कर्मचारी स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८० मंसिर १८)
 

प्रतिकृया दिनुहोस