• सोमबार-बैशाख-१७-२०८१

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(१) : चाख लाग्दो इतिहास बोकेको नेपाली सिने उद्योग

 

‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित क्युएफेक्स छाया सेन्टर, सिविल मल, लबीम मल्, क्युएफेक्स भक्तपुर, नेपाल पर्यटन बोर्डमा २०८० साल १ चैत देखि ५ चैत सम्म ‘सातांै नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सव’ हुने कुरा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिबल २०२४ (निफ्फ) ले सार्बजनिक गरेको छ ।   

 

“४० देशका ८८ वटा चलचित्र समावेश भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० चैत १ गतेदेखि सुरु हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको यो महोत्सवमा ६० देशबाट प्राप्त ५०० बढी चलचित्र मध्येबाट ४० देशका ८८ वटा फिल्म छानिएको उल्लेख गरिएको छ ।


महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरिएको छ । दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा विभिन्न १४ वटा अवार्ड प्रदान गरिनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने कुरा समेत सार्बजनिक भएको छ  । 


त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासंघ डन क्विहोटे अवार्ड प्रदान गरिने भनिएको छ  । २०८० चैत ५ गतेसम्म चल्ने महोत्सवको चलचित्रहरू क्यूएफएक्स अन्तरगतका हलहरूमा प्रदर्शन हुने कुरा सार्बजनिक भएको छ  ।


नेपाली सिनेमा, जसलाई “कलिउड” पनि भनिन्छ, विगत केही वर्षयता निरन्तर बढिरहेको छ । यस उद्योगले हरेक वर्ष नेपाल र विदेशमा नेपाली दर्शकको संख्या बढ्दै गएकाले उल्लेख्य संख्यामा चलचित्र निर्माण गर्दै आएको छ । यद्यपि, यो अझै पनि सानो उद्योग हो, र उपलब्ध स्रोतहरू विश्वभरका ठूला चलचित्र उद्योगहरूको तुलनामा सीमित छन् ।


 नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा वि.सं.२००८ सालमा निर्मित सत्य हरिश्चन्द्र हो, जुन नेपालीमा पनि डबिङ्ग गरेर प्रदर्शन गरिएको थियो । साथै, नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन वि.सं. २०२२ सालको असोजमा आमा चलचित्रबाट भएको थियो ।


चलचित्रमा शिव शंकर मानन्धर र भुवन चन्दको अभिनय थियो । जो नेपाली सिनेमाका पहिलो नायक नायिका मानिन्छन् । तर, सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा निजी लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडि मात्र सार्वजनिक भयो । 


यस चलचित्रमा माला सिंह र चिदाम्बर प्रसाद लोहनी (सी. पी. लोहनी ) को प्रमुख भूमिका रहेको छ । चलचित्रको निर्देशन चर्चित निर्देशक बीएस थापाले गरेका थिए । २०२७ मा सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेर मनको बाँध नेपाली चलचित्र निर्माण गरियो । जसको निर्देशन जय राणा र सङ्गित नातीकाजी र शिव शंकरले भरेका थिए । 


यस पछि २०३४ सालमा ‘कुमारी’, २०३६ मा ‘सिन्दुर’ र ‘जीवन रेखा’ चलचित्र निर्माण भए । यो सफलतासँगै चलचित्र निर्माणमा निजी क्षेत्रको आगमन भएको थियो । सन् १९७८ मा सिनेरोमा व्यानरमा परालको आगो निर्माण भएको थियो । यसको निर्देशन प्रताप सुब्बाले गरेका थिए । कथावस्तु र सुमधुर सङ्गीतका कारण चलचित्र सफल भएको थियो ।     


बि .स २०३६ पछि धेरै रचनात्मक चलचित्रहरू बने जो सफल पनि रहे । जसका कारण यो व्यवसायमा धेरै चलचित्र निर्माण कम्पनीको आगमन भयो । अनि नेपाली सिनेमा धेरै बन्न थाले । सम्झना, कुसुमे रूमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो र कोशेली सन् १९८४ देखि १९९३ मा रिलिज भएका उत्कृष्ट नेपाली चलचित्र हुन् । 


२०४६ को राजनीतिक परिवर्तन पछि चलचित्र क्षेत्र पनि खुल्ला रुपमा अगाडि बढ्यो । ३ वर्षमा १४० चलचित्र निर्माण भए । फिल्मको  वितरण पनि बढ्न थाल्यो । नेपाली सिनेमाको बजार विस्तार भयो । कलाकारहरुले रोजगारी पाए । नेपाली सिनेमा निर्माताहरू हिन्दी चलचित्रको प्रभाव कम गर्न सफल रहे । 


नेपाली चलचित्रको विकासमा नेपाली लगानीकर्ता र कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको छ । उनीहरुले उत्कृष्ट प्रस्तुति, चुनौतीपूर्ण भूमिका छनोट र नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी उद्योगमा योगदान दिइरहेका छन् । 


उनीहरुले आफ्नो अभिनय सिपलाई निखार्दै नेपाली चलचित्रको दायरा फराकिलो बनाउन विभिन्न विधा र पात्रहरु प्रयोग गर्दै आएका छन् । नेपाली चलचित्रको विकासमा योगदान पु¥याउने धेरै कलाकारहरु छन् । उनीहरुले नेपाली चलचित्रलाई ध्यानाकर्षण गराउन र उद्योगका लागि आधार बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । थप रूपमा, नेटफ्लिक्स र अमेजन प्राइम जस्ता स्ट्रिमिङ प्लेटफर्महरूको उदयले पनि नेपाली सिनेमाका लागि नयाँ अवसरहरू खोलेको छ । 


यी प्लेटफर्महरूले नेपाली चलचित्रहरूलाई विश्वका सिनेमा प्रेमी दर्शकमाझ पुग्न सम्भव बनाएको छ, जसले नेपाली चलचित्रको दृश्यता र लोकप्रियता बढाउन मद्दत गरेको छ । निष्कर्षमा भन्नुपर्दा नेपाली सिनेमा अझै विकासको प्रारम्भिक चरणमा छ, तर कलाकार, निर्देशक र निर्माताको निरन्तर प्रयासले यो उद्योग मौलिकता बोकेर क्रमशः विस्तार र सुधार हुँदै गएको छ ।
हजारौंलाई रोजगारी दिने नेपाली चलचित्रको भविष्य उज्ज्वल देखिन्छ, र उद्योगमा बढ्दो चासो र लगानीले आगामी वर्षहरूमा अझ गुणस्तरीय चलचित्र र प्रतिभाशाली कलाकारहरू देखा पर्ने आशा गर्न सक्छौं ।


नेपाली चलचित्र उद्योग नेपाली भाषामात्रै होइन विविध भाषाका  चलचित्र निर्माण गर्ने उद्योग बन्दैछ । नेपाली चलचित्र उद्योग काठमाडौँ केन्द्रित रहेको छ । नेपालमा  चलचित्रको विकास क्रम केही ढिलो सुरू भए पनि हाल यो क्षेत्र सशक्त बनिरहेको छ । नेपाली सिनेमा उद्योगमा वर्षमा दर्जनौ चलचित्रहरू निर्माण भइरहेका हुन्छन् । हाल नेपालमा चलचित्रको व्यवस्थापन र नियमन चलचित्र विकास बोर्डले  गर्दछ । 


नेपाली चलचित्र उद्योगले विभिन्न चरणहरू पार गरेर आधुनिक प्रविधिको युगमा आफूलाई समाहित गरिसकेको छ । नयाँ नयाँ नायक, नायिका, खलनायक लगायत अन्य युवा पुस्ताका कलाकारहरुको आकर्षण केन्द्र बन्दै गएको पछिल्लो समय नेपाली चलचित्रहरूले कमाई पनि राम्रै गर्न थालेका छन् । नेपालको अर्थतन्त्रमा पनि चलचित्र क्षेत्रको योगदान बढ्दै गइरहेको छ । खुसीको कुरो नेपालमा ठुलो जनसमूहले चलचित्रलाई कर्मथलो बनाएर नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन गरिरहेका छन् ।(क्रमशः) (साँघु साप्ताहिक, २०८० फागुन १४)
 

प्रतिकृया दिनुहोस