• बिहीबार-बैशाख-२०-२०८१

प्रचण्डले नै राजदूत हुन नदिइएका प्रचण्डबाटै रेक्टर बने !

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्टार पदमा लामो समयपछि उपकुपतिले छनोट गरेका व्यक्ति नियुक्त भएका छन् । दलका नेताहरुले भागबण्डा गरेर आफ्नो कार्यकर्ता पठाउने गरी अभ्यास भएको झन्डै २ दशकपछि पहिलोपटक रेक्टर र रजिष्टार अहिले भागबण्डा विना आएका हुन् ।

 

दलका नेताहरुले आफ्नो कार्यकर्ता पठाउने प्रयास गरिरहेका भएपनि त्यसको चौतर्फी विरोध भएपछि रोकिएको हो । एमाले र कांग्रेसको कोटाबाट कार्यकर्ता नै नियुक्तिका लागि प्रयास भएको थियो । त्यही प्रयासका कारण केही साता नियुक्ति प्रक्रिया पनि रोकिएको थियो ।

 

कांग्रेसका सभापति शेरबहादुर देउवाले जगत तिमल्सिना र एमाले अध्यक्ष केपी ओलीले डिल्ली उप्रेती र वेदनिधि केसीमध्ये एकजनालाई नियुक्ति गर्न दबाब बढाएको चर्चा थियो । कुलपति प्रधानमन्त्रीमाथि देउवा र ओलीले दबाब बढाएका थिए ।  त्यही दबाबका कारण उपकुपति केशरजंग बरालले सिफारिश गरेका नाम १५ दिनसम्म कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेर राखेका थिए । 


ओलीले आफ्नो भागमा रजिष्टार पद पारिदिन उक्त पदमा पूर्वरजिष्टार डिल्ली उप्रेतीलाई नियुक्त गर्न प्रधानमन्त्रीमाथि दबाब बढाएको बताइएको थियो । तर, हालै सार्वजनिक भएको चिकित्सा शिक्षासम्बन्धी अध्ययन प्रतिवेदनले उप्रेतीसहित दर्जनौं व्यक्तिलाई कारबाहीका लागि सिफारिश गरेको थियो ।

 

कतिपयलाई भने भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी कारबाही गर्न पनि सिफारिश गरेको थियो । उक्त सिफारिश भएको प्रतिवेदन सार्वजनिक भएपछि ओली र देउवा अडानबाट पछि हट्न बाध्य भएको पनि बताइन्छ । 


  देउवाले बोकेका पात्र तिमल्सिना भने कांग्रेसको प्राध्यापक संगठनको अध्यक्ष हुन् । झन्डै ९ बर्षदेखि अधिवेशनसमेत नगरी अध्यक्ष भएका तिमल्सिनाप्रति त्रिविमै चर्को आलोचना भइरहेको हुन्छ ।

 

कहिल्यै पनि कक्षा नलिने र राजनीतिमात्रै गर्ने भनेर चर्को आलोचना भइरहने तिमल्सिना जसरी पनि रजिष्टार हुने प्रयासमा थिए । उपकुपति छनोटको प्रक्रिया सुरु हुनुभन्दा पहिला नै तिमल्सिनाको प्रयास रहेको थियो ।

 

त्यतिबेला उपकुलपतिमा माओवादीका शिवलाल भुसाललाई ल्याउने र आफू रजिष्टार हुने चलखेलमा लागेका थिए । तर, उपकुलपति नियुक्ति प्रक्रिया खुला प्रतिस्पर्धामा गएपछि भुसाल टप थ्रीमै परेनन् । अनि, तिमल्सिनाको सपना तुहिएको थियो । तर, अहिल पनि प्रयास भने गरेका थिए । 


  त्यसो त, तिमल्सिनाकोजस्तै प्रयास एमालेको प्राध्यापक संगठनका अध्यक्ष केसीले पनि गरेका थिए । उनले पनि एमालेका प्राध्यापक संगठनमात्र होइन, विद्यार्थी नेतासमेत उचालेका थिए । उपकुलपति बराललाई घेराउ गर्नसमेत गएका उनीहरुले केसीको पक्षमा अस्वभाविक लविङ गरेका थिए ।

 

त्यहीकारण त्रिविमा उनीहरुविरुद्ध जनमत पनि बढेको थियो । उपकुलपति बरालले रजिष्टारमा केदार रिजाल र रेक्टरमा खड्ग केसी पाएका छन् । हुन त,  राजनीतिक रुपमा रिजाल कांग्रेस र केसी एमाले हुन् ।

 

तर, संगठनमा लागेका भन्दा पनि त्रिविमा नियमित काम गर्ने र प्राज्ञिक अभ्यासमा अब्बल मानिएकाहरु नै हुन् । २०७३ मा केसी पहिला एमालेबाट जापानका लागि राजदूत सिफारिश भएका थिए । देउवा र प्रचण्डले नयाँ गठबन्धन सरकार बनाएपछि एमालेले सिफारिश गरेका ११ जना राजदूतको नाम फिर्ता लिएका थिए । प्रचण्डकै कारण राजदूत हुन नपाएका केसीले प्रचण्डकै हातबाट त्रिविको रेक्टर पद पाएका छन् । (साँघु साप्ताहिक, २२०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस