• शनिबार-बैशाख-२२-२०८१

स्वर्ण बिजेता खेलाडी आदेश प्रायोजकको खोजीमा

 

रौतहट १३ बैशाख । बिगतमा ग्रामीण भेगका युवाहरु माझ खेल प्रति खासै रुचि नरहेपनि पछिल्लो समय नेपालमा क्रिकेटसँगै युवाहरुको अन्य खेल प्रति पनि आकर्षण बढ्दै गएको छ । तर स्रोतसाधनको अभावमा केही राम्रो गर्ने चाहना हुँदा हुँदै पनि खेललाई निरन्तरता दिन युवाहरुले ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ ।

 

रौतहट कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका थिए । एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने उनको लक्ष्य रहेको छ । तर स्रोतसाधनाको अभावमा उनलाई ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ । मध्यम बर्गीय परिवारका आदेश भन्छन्, 'अहिलेसम्म म सँग कुनै प्रायोजक छैन, खेल सामग्री र पर्याप्त पौष्टिक आहार खान सक्ने अवस्था पनि छैन । भने जस्तो साधन स्रोत र सुविधा पाए अझ राम्रो प्रशिक्षण गरेर प्रदर्शनमा सुधार्न सकिन्छ ।'

 

राम्रो सुविधा पाएमा नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मेडल ल्याउन सक्ने उनकाे भनाइ छ । यस्ता उदीयमान खेलाडी आदेशको कटहरिया नगरपालिकाले प्रोतसाहनका लागि सम्मानसहित प्रयोजकहरुले सहयोग गर्नुपर्ने  स्थानीयहरुको भनाइ रहेको छ । आदेशको सफलताबाट सम्पूर्ण कटहरिया नगरवासीसँगै सिङ्गो रौतहटवासी नेपाली जनता गौरवान्वित हुनेछ कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले आफ्नो विचार राखेका छन् ।

 

आदेश संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्रिल २४ देखि हुने एसियन यू-२० एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गएका छन् । त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिँदैछन् । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवै इभेन्टमा राम्रो गर्ने र जुनियरमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ’, उनले बताएका छन ।

 

१४औं राष्ट्रपति रनिङ शिल्डमा दौडन काठमाडौं आउनुअघि आदेशले भरतपुरमा भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा पनि दुवै विधामा स्वर्ण जित्दै एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका थिए ।

 

कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव वीरगञ्जमा बसेर पढाइका साथै एथ्लेटिक्सको प्रशिक्षण पनि लिइरहेका छन् । बीरगंजमा उनी श्री नारायणसँग प्रशिक्षण लिइरहेका छन् । आदेशले खेललाई आफ्नो करिअर भन्दा पनि रुचीका रुपमा मात्र हेरेका छन् । खेलसँगै  भविष्यमा प्रहरी इन्सपेक्टर बन्ने सपना रहेको आदेशले बताए ।

प्रतिकृया दिनुहोस