• आइतबार-बैशाख-२३-२०८१

मटिहानीका आगलागी पीडितलाई राहत दिइने


जलेश्वर (महोत्तरी), १३ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका बुधबार भएको आगलागीबाट पीडित एक सय परिवारलाई राहत रकम दिइने भएको छ । उनीहरुलाई प्रतिपरिवार रु २० हजार राहत दिइने भएको छ ।

 

सदरमुकाम जलेश्वरमा जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले अग्नी पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालले जानकारी दिनुभयो । 

 

बैठकमा स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीले क्षति विवरण संकलन गरी विपद् व्यवस्थापन समितिमा पेश गर्ने, आगलगी पीडितको लागि राहत, अस्थायी बसोबासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेस प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने, राहत सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउन जिल्लामा क्रियाशील विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्था, उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, विभिन्न समाजसेवी सङ्घसंस्थालगायतलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

 
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले स्थानीय तह, सहयोगी सङ्घ संस्थासँग सहकार्य, समन्वय गरी गर्भवती, बालबालिका, वृद्ध, असहाय र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो बस्तीमा आधारभूत खानेपानी तथा सरसफाइको प्रबन्ध मिलाउने, डिभिजन वन कार्यालयले पीडित परिवारलाई सहुलियत दरमा काठ तथा दाउरा उपलब्ध गराउने र शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी गैरसरकारी संस्थाले आवश्यकताको आधारमा शैक्षिक सामग्री उपलब्ध गराउने निर्णय भएको छ ।

 

त्यस्तै मटिहानीका अग्नीपीडितलाई राहत सामग्री एकद्वार नीतिअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालय जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा अभिलेखीकरण गरी स्थानीय पालिकामार्फत उपलब्ध गराउने निर्णय गरिएको हो । बैठकमा महोत्तरीका १५ वटै पालिकाका प्रमुख एवं अध्यक्ष तथा प्रतिनिधि, जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घ संस्था, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । 
–––

 

प्रतिकृया दिनुहोस