• बुधबार-बैशाख-२६-२०८१

सूर्य नेपाल काठमाडौं ओपनको उपाधि निरजलाई

 

काठमाडौं, १४ वैशाख । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन ।

 

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका छन् । शिवरामले सन २०१५ मा एनपीजीए प्रेसिडेन्टस कपमा ८-अन्डर स्कोर गरेका थिए ।

 

अन्तिम दिनको खेल सुरुआत गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकले पछि थिए । तर ८-अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे। अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठूलो अग्रता थियो । तर भुवनले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा ७-अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे । उनले ८२ हजार प्राप्त गरे ।

 

आज ४-अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए । उनले ६६ हजार हात पारे । आज इभन-पार ६८ स्कोर गर्दै समग्रमा इभन-पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए । उनले ५३ हजार प्राप्त गरे । समग्रमा २-ओभर २ सय ७४ सहित पाँचौ भएका धन बहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए । उनले आज इभन-पार ६८ खेले ।

 

उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४-ओभर २ सय ७६ सहित छैटौं भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय प्राप्त गरे । समग्रमा ५-ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे । उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे । आज १-ओभर ६९ सहित समग्रमा ६-ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए । उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे ।

 

यसैगरी समग्रमा ७-ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दशौं स्थानमा‌ प्रतियोगिता सकाए। सञ्जयले ५-ओभर ७३ र भुवनले १-ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे ।

 

एमेच्योरतर्फ समग्रमा १३-ओभर २ सय ८५ सहित सदभाव आचार्यले उपाधि जिते । उनले आज ७-ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए । टाशीले समग्रमा २३-ओभर २ सय ९५ स्कोर गरे । आज उनले १२-ओभर ८० मा खेल सकाए ।  राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल‌ ३०० स्कोर सहित तेश्रो भए ।

 

निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर २९ मा सकाए। उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे। नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र‌ एक स्ट्रोकले पछि थिए । भुवनले भने फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए । भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे ।

 

निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए । १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे । यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए ।

 

१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए । उनले ब्याक नाइन ३-अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन् । भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।

 

जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए । फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा १३औं, १४औं र १७औं होलमा एक-एक सट बचाए भने १६औं होलमा बोगी प्रहार गरे ।

 

चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको थियो । जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे । 

 

 

प्रतिकृया दिनुहोस