• बुधबार-बैशाख-१७-२०८२

दलितको घरमा चिया पिउँदै स्ट्न्ट देखाउने माओवादी नेता दलित कुटिदा मौन ?

एक्काइसाै शताब्दीमा पनि दलितको लागि चहराइ रहने घाउ भनेको छुवाछुत हो ।छुवाछुत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौं वर्षदेखि भोग्दै आएका भुक्तभाेगीलाई यसको पीडा सहिनसक्नु छ ।

 

विश्वव्यापी नियम, कानून र ऐनले बराबरी भनेको हकदार बन्न नपाउँदाको अभाव खट्केको छ । मान्छे हुन नपाउनुभन्दा अर्को ठूलो पीडा र विस्मय संसारमा अर्को के होला र ? तर पछिल्लो समय सामाजिक सञ्जालमा कसैको दुःख पीडामा मान्छेहरुलाई ट्रोल बनाउन खुब मन पर्छ त्यो व्यक्ति उच्च ओहदाको होस् वा सामान्य ।

 

दलितलाई खेलौना बनाएर पेटपाल्ने, भातभान्सा रमाइलाे बनाउनेहरुको कमी नभएको हाम्रो समाजमा मुख्यतः सरकारका तह तहका अंगहरुले समेत यस्तै व्यवहार गरिरहेको छ ।

 

अरु त अरु काभ्रेको भुम्लु पालिकामा माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । 'समृद्ध भुम्लु, सुखी भुम्लेली' नारा बोकेर गठबन्धनको आडमा पालिका अध्यक्षको कुर्सीमा पुगेका प्रेमबहादुर भुजेलको स्थानीय तहको चुनाव अगाडि  भुम्लुली  जनताहरुसँग राम्रो चिनजान पनि थिएन ।

 

भुजेल पालिका अध्यक्ष बन्न साथै युवा नेतृत्व आएको भन्दै अधिकांश भुम्लेली जनता खुशी पनि भए । हँसिलो स्वाभाव, उज्यालो चेहरा भएका भुजेलको भाषण कुनै राजनीतिज्ञको भन्दा पनि कम थिएन ।

 

तर पालिकामा नेतृत्व गरेको तीन वर्षसम्म पनि विषेश गरि भुम्लेली दलितका लागि केही गर्न नसक्दा उनकाे पदले भुजेललाई नै गिज्याएको छ पनि भन्न मिल्दैन । बाहिरबाट विचार गर्दा भुजेल गुनासो सुन्न नसक्ने स्वाभावका पनि छैनन् । उनको कुरा गर्ने शैली चाहिं बच्चादेखि वृद्धसँग पनि मिल्छ । ठूलो अहंमता पनि छैन । 

 

सायद उनले अहिलेसम्म कसैलाई ठूलो स्वर पनि गरेका छैनन् हाेला । उनले सामाजिक सञ्जालमा  गाउँका विकासका प्रशस्त सम्भावनाका बारेमा पनि लेख्छन् । तर पनि खासै वा भनाै विशेष काम गर्न सकेका छैनन् ।

 

  केही घन्टाअगाडि मात्र उनले सामाजिक सञ्जाल फेसबुकमा भुम्लु-२ का तेज बहादुर बि.क. को घरमा गएर चिया पिएको फोटो/भिडियो सार्वजनिक गर्दै लेखेका छन्,'सिम्थलीको सुन्दर गाउँमा तेज बहादुर बि.क दाइको घरमा बागमती प्रदेश माननीय रुकु चौलागाईंज्यू र हामी मिठो चियासँगै दु:ख सुखका भलाकुसारी गरियो ।'

 

भुजेलले सार्वजनिक गरेको फोटो र भिडियोमा बागमती प्रदेश संसद रुकु चौलागाईं, जिल्ला समन्वय समिति सदस्य कमराज गिरी, भुम्लु १ का वडा अध्यक्ष लेखनाथ श्रेष्ठ र वडा २ का वडा सदस्य विनय भण्डारी रहेका छन् । फोटोमा पालिका अध्यक्ष भुजेल पानी पिइरहेको देखिन्छ ।

 

भुलेजले पोस्ट गरेको भिडियो भने हाँस्यटेलिसिरियल भन्दा कम देखिँदैन । सबै जना घरको पिँढीमा बसेर चिया पिइरहेको देखिन्छ । एकजना भिडियो खिच्ने ब्यक्तिले ल स्टार्ट है भन्छन् । तेज बहादुर बि.क, कमलराज गिरी र रुकु चौलागाईंको बिचमा बसेका छन् । त्यसपछि रुकु चौलागाईं भन्छिन्,'सँगै खान पर्यो नि ए, यहाँ मैले खाएकै छैन । बरु आधाआधा खाउँ  खोइ ल्याउनु गिलास म आदी बनाउछु ।'


तेज बहादुर भन्छन् ,' होइन पर्दैन मिस पर्दैन पर्दैन  छ चिया ।' त्यति भनेर उनी घर भित्र छिर्छन । प्रेम बहादुर भुजेल चाहिं  मिठो बनाउनुभएछ भन्दै पिउन थाल्छन् । उक्त भिडियोमा रुकु चौलागाईंले भने चिया पिएको भने देखिंदैन ।

 

माननीयसहितको यो भिडियो केको लागि पोस्ट गरिएको थियो भन्ने कुरा त आम दर्शकले हेर्दा सजिलैसँग पत्ता लगाउन सक्छन् । तर केही वर्ष अगाडि सोही ठाउँमा जातीय विभेद हुँदा न भुजेल बोले, न रुकु चौलागाईं बोलिन ।  अरु त अरु राम्रोसँग चिनिएका काभ्रेका जल्दाबल्दो युवा नेता बदन कुमार भण्डारीसम्म पनि जातीय विभेदविरूद्ध बोलेनन् ।

 

केही दिन अगाडि भुम्लु ४ चौबासकी मसली सार्कीमाथि निर्घात कुटपिट भयो । यस विषयमा पनि कोही बोलेनन् । धन्न मिडियाले बाहिर ल्याइदियो । हरेक कुरालाई वैज्ञानिक ढंगले प्रस्तुत गर्ने भुजेल हरेक कुरा घोरिएर सोचेर मात्र बोल्ने गर्थे । भनिन्छ, उनले  कसैलाई आजसम्म नराम्रो वचन गरेका छैनन् ।


तर, उनी अहिले  बकुल्लाको बथानमा हाँस जस्तै भएका छन् ।

 

कुन ठाउँकाे कुन समस्यालाई बढी प्राथमिकता दिने भन्ने बारेमै चुकिसकेका छन् । यदि साँच्चै जातीय विभेद हटाउने भए अनैतिक र घोर मानव अधिकार उलङ्घनको विषय बनाएर पाठ्यक्रममा समावेश गरिनुपर्छ । 

 

दण्डनीय अपराधको रूपमा उल्लेख गरेर सामाजिक सचेतता जागरुक गराइनु पर्छ । शिक्षक र शिक्षा सबैभन्दा प्रभावकारी भूमिका निभाउने माध्यम हो ।

 

सामाजिक, मनोवैज्ञानिक र कानूनी शिक्षा बारे शिक्षक परिचालन गर्दै सामाजिक परिचालक, मनोपरामर्श दाता सबैलाई लिएर समाजको भ्रम र अन्धविश्वासलाई मेट्दै जानुपर्छ ।

 

छुवाछुत गर्ने धार्मिक र सांस्कृतिक चेतलाई भत्काउने संरचना निर्माण गरेर  निरन्तर त्यसको अनुगमन र विश्लेषण गर्दै थप नीति तर्जुमा गर्दै जानुपर्छ ।

 

तर यो कुरा भुजेलले चाहेर पनि गर्न सक्दैनन् किनभने भुम्लुमा अहिले राजनीतिक रूपमा हल नमिलेको चर्चा छ । काङ्ग्रेस र कम्युनिस्टबीच कुरा नमिलेपछि भुम्लुको माओवादी नेतृत्व पालिकामै फेल खायो भन्ने पनि हल्ला छ ।

 

त्यसैले यदि साँच्चै भुम्लुमा माओवादीले सफल नेतृत्व गर्ने हो भने प्रेमबहादुर भुजेल, लेखनाथ श्रेष्ठ, कमलराज गिरीजस्ता  क्रान्तिकारी नेताहरूले भुम्लुको खुल्ला चउरमा दलित भान्छे राखेर भुम्लु भरिका सम्पूर्ण समुदायलाई खान चखाउदै रगत रगतबीचको विभेदलाई तोड्ने हिम्मत गर्नु पर्छ ।

 

नत्र नाटक मञ्चन गरेर एक कप चिया पिउँदै ल भिडियो खिच है भनेर स्कृप्टेट भिडियो बनाएर फेसबुकमा हालेर अर्को पाली 'हिँस्स बुढी खिस्स दाँत' बाहेक केही हुने वाला छैन ।

प्रतिकृया दिनुहोस