मानिसहरू विभिन्न कारणहरूका लागि आत्मकथाहरू लेख्छन्, जसमाः आत्म–प्रतिबिम्बः आत्मकथा लेख्दा व्यक्तिहरूलाई उनीहरूको जीवन, अनुभव, र व्यक्तिगत वृद्धिमा प्रतिबिम्बित गर्न अनुमति दिन्छ । यो एक चिकित्सकीय प्रक्रिया हुन सक्छ जसले तिनीहरूलाई उनीहरूको विगत बुझ्न मद्दत गर्दछ ।
जीवनका पाठहरू साझा गर्दैः धेरै आत्मकथाकारहरूले अरूलाई प्रेरणा दिने वा मार्गनिर्देशन गर्ने आशामा उनीहरूले जीवनभर सिकेका पाठहरू साझा गर्ने लक्ष्य राख्छन् । इतिहास दस्तावेजीकरणः आत्मकथाहरूले लेखकको जीवनलाई आकार दिने विशिष्ट सांस्कृतिक, सामाजिक वा राजनीतिक सन्दर्भहरूमा अन्तर्दृष्टि प्रदान गर्दै ऐतिहासिक अभिलेखको रूपमा काम गर्न सक्छ ।
विरासत : केही व्यक्तिहरूले भविष्यका पुस्ताहरूका लागि विरासत छोड्न, आफ्नो कथा, मूल्य र अनुभवहरू साझा गर्न आत्मकथाहरू लेख्छन् ।
प्रसिद्धि र मान्यता :
सार्वजनिक व्यक्तित्वहरूको लागि, आत्मकथा लेख्नु उनीहरूको विरासतलाई बलियो बनाउन, उनीहरूको सार्वजनिक छवि स्पष्ट गर्न वा सार्वजनिक धारणालाई प्रतिक्रिया दिनको लागि एक तरिका हुन सक्छ ।
रचनात्मक अभिव्यक्ति : लेखन रचनात्मक रूप हुन सक्छ, जसले व्यक्तिहरूलाई आफ्नो विचार र भावनाहरूलाई संरचित तरिकामा व्यक्त गर्न अनुमति दिन्छ ।
अरूसँगको सम्बन्ध : आत्मकथाहरूले पाठकहरूसँगको सम्बन्धको भावनालाई बढावा दिन सक्छ, किनकि व्यक्तिगत कथाहरू साझा गर्दा प्रायः यस्तै अनुभव भएका अरूहरूसँग प्रतिध्वनित हुन्छ । समग्रमा, आत्मकथा लेख्नको लागि प्रेरणाहरू गहिरो व्यक्तिगत र विविध हुन सक्छन्, लेखकको अद्वितीय परिस्थिति र लक्ष्यहरू प्रतिबिम्बित गर्दछ ।
राजा होस् वा रङ्क हरेकको आ–आफ्नै जीवन कथा हुन्छ । त्यस अर्थमा हरेक व्यक्तिको जीवन आफैँमा एउटा रोचक ग्रन्थ हो । हरेक कथाहरू आफैँमा आकर्षक र महत्वपूर्ण हुन्छन् । जन्मदेखि मृत्युसम्म व्यक्तिले भोग्ने अनुभव अनि यसबीचमा जोडिने अनेक आयामका सम्बन्धहरूको उतारचढावभित्र अनेक पात्र र कथा लुकेका हुन्छन् ।
हुन त आत्मकथा लेख्ने सौभाग्य सबैले नपाउलान्, त्यो अवसर पाए पनि लेखूँ कि नलेखूँ भन्ने प्रश्न मनमा उब्जिन् सक्छ ।
“घोष्ट राइटिङ”को व्यवस्था पनि छ तर आफ्नो कथा आफैले लेखे जस्तो नहुन सक्छ । कसैकसैले ‘‘घोष्ट राइटिङ’’लाई नैतिकतासँग पनि जोड्ने गरिन्छ किनकि अरूले गरेको कामको क्रेडिट आफूले लिन ठिक हुन्छ कि हुँदैन भन्ने प्रश्न समेत उठेको छ ।
आत्मकेन्द्रित आख्यानात्मक रचनालाई आत्मकथा भनिन्छ । यसको शैली आत्मपरक निबन्धको जस्तो र संरचना कथाको जस्तो हुने हुनाले यसलाई कतै कतै निबन्धको भेदका रूपमा र कतै आख्यानको भेदका रूपमा राख्ने गरिन्छ । यसको उद्देश्य स्रष्टाको जीवनवृत्त वा आत्मकहानीको प्रस्तुति रहेको हुनाले यसको सम्बन्ध निबन्धसँग भन्दा बढी आख्यानसँग नजिक देखिन्छ ।
सरसरी हेर्दा, नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने आत्मकथा नै भनेर लेखिएको नभए पनि वि.सं. १८३१ को पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई आत्मकथाको प्रारम्भिक रूप मान्ने गरिन्छ ।
यसमा तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम क्षणमा आफ्ना भाइभारदार, गुरुपुरोहित र आफन्तजनसमक्ष प्रस्तुत गरेका आत्मानुभूति तथा आत्मभोगाइबाट खारिएका उपदेशात्मक विचारहरूमा आत्मकथाको प्रारूप फेला पर्दछ । नेपालको सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाका ‘आत्मकथा’ र ‘जेलजीवन’ जस्ता कृतिहरूका साथै विभिन्न साहित्यकार, प्रशासक, सेना, कलाकार आदिको जीवनमा आधारित भएर लेखिएका आत्मकथाहरू नेपाली पाठकहरूका रोजाइ बन्न पुगेका छन् । भनिन्छ मान्छेलाई आफ्नै कथा सुनाउन उत्कट चाहना किन जाग्छ होला ?
मनोवेत्ताहरुले अवश्य नै यसको पहेली खुट्याएका होलान् । मानिस या त आत्म–प्रकाशनको भोकले आफ्नो कथा सुनाउँदो हो या त सहानुभूति र सहयोग हाता पार्ने हिसाबले कथा सुनाउन मजबूर बन्दो हो ।
सरसरी विगत समझदा भूगोलको कक्षा मा पढाउने क्रममा भूगोलका शिक्षकले भन्ने गर्थे ।
‘‘विद्यार्थीहरु हो ! विश्व मानचित्रमा सबैभन्दा असल उत्कृष्ट महादेश एसिया महादेश हो । एसियामा पनि सबैभन्दा असल ठाउँ दक्षिण एसिया हो । दक्षिण एसियामा पनि उत्कृष्ट र असल देश नेपाल हो । नेपालमा पनि सबैभन्दा उत्कृष्ट अञ्चल लुम्बिनी अञ्चल हो किनकि भगवान बुद्ध यहीँ जन्मे ।
उनी भन्ने गर्थे सबैभन्दा राम्रो जिल्ला पाल्पा हो । पाल्पा जिल्लाको पनि सबैभन्दा उत्कृष्ट स्थान माडीफाँट हो । माडीफाँटमा पनि सबैभन्दा मलिलो र ऊर्वर खेत मेरो हो । त्यसमा पनि अव्वल खेत मेरै मुहाने गरो हो ।’’
आफ्नो कथा भन्ने कस्तो राम्रो प्रभावकारी कला र क्षमता । कवि भूपी शेरचनले एउटा कवितामा सिंगो देशलाई एउटा सानो चोक र साँगुरो गल्लीमा सीमित पारिदिएको रोचक सन्दर्भ काठ झैँ ।
भनिन्छ आत्मकथा लेख्न धेरै गाह्रो छ । किनभने आफ्नो बारेमा कुरा गर्दा वस्तुनिष्ठ हुन गाह्रो छ । आत्मकथाको उद्देश्य व्यक्तिको व्यवहार पछाडिको आवश्यकता र मनोवृत्ति पहिचान गर्नु हो । आत्मकथाको प्रविधि भनेको जीवनको निश्चित समयमा आफ्नो महत्त्वलाई जोड दिनु हो ।
इतिहासको सरसरी समीक्षा गर्दा, संसारमा धेरै राजामहाराजा र शासकहरु आए । उनीहरुले आफ्नो समयमा आफ्नो नाम अजर अमर राख्न इतिहासका पानामा आफ्नो कथा कीर्ति लेखाए, केही शिलालेखमा केही हस्तलिखित । आफ्नै कीर्ति फैल्याउन शालिक स्थापना गर्ने, शिलालेख राख्ने, ताम्रपत्र कुँद्ने, हुँदाहुँदा भोजपत्र ताडपत्रसमेतमा अक्षरहरु छपाए । शालिक शिलालेख पनि त्यो बेलाका शासकहरुको आफ्नो कथा भन्ने शैली थियो । अथवा आफ्नो कथालाई दिग्दिगन्त अमर राख्ने एक कला हो । तर, यो आत्मप्रकाशनको भोकबाट चँगेज खाँ सय हात पर रहेको देखिन्छ ।
चँगेज बाह्राँै शताब्दीमा विश्वमै चकचकी मच्याउने मंगोलियाका एक चर्चित सम्राट थिए । भनिन्छ, उनले पृथ्वीको झण्डै वाइस प्रतिशत भूभाग कब्जा गरेर चक्रवर्ती सम्राट बनिसकेका थिए ।
इतिहासका बहादुर या क्रुर शासकको नामावलीमा उनको नाम सायद एक नम्बरमै आउला । उनले लडाइँमा कायम गरेका अनेकन कीर्तिमानहरु थिए । तर, थियो उनी नामको अनाशक्त मानिस थिए भनिन्छ ।
चँगेजले सिक्कामा फोटो पनि छापेनन् । नाम पनि छापेनन् । पृथ्वीको त्यत्रो भूभाग जितेको मानिस काहीँकतै आफ्नो शालिक, स्मारक, मूर्ति केही कुँद्न दिएन । मृत्युपछि पनि आफ्नो कुनै निशानी बाँकी नरहोस् भन्ने कुरामा चँगेज सचेत थिए भनिन्छ । बाँचुन्जेल धर्तीमा त्यत्रो हल्ली चल्ली मच्चाएर आखिरमा चुपचाप गए । गुमनाम मृत्यु मरे ।
धेरै मानिसको अनुमान छ सायद चिहान समेत गोप्य राख्न कडा निर्देश थियो होला । चिहान थाहा भयो भने आफ्ना अनुयायी भक्तहरुले त्यो थलोलाई पूजा थलो बनाउँछन् भन्ने कुरामा उनी सचेत थिए ।
आआफ्नो ठाउँमा सबैका कथा बराबरी महत्वका हुन्छन् । पद–मर्यादाका हिसाबले कोही ठूलो ओहोदामा होला, कोही सानो ओहोदा होला । समग्रमा, अग्लाको कथा होचालाई थिच्ने गरी रचिनु हुँदैन । आफ्नो जबरजस्ती अर्काेलाई सुनाउनु एक किसिमको ज्यादति हो । यो जघन्य ज्यादतिलाई अवज्ञा गर्ने आँट गरौँ । (समाप्त) (साँघु साप्ताहिक, २०८२ वैशाख ८)
प्रतिकृया दिनुहोस