सियोल, १८ बैशाख । रुससँग मिलेर युक्रेनी सेनासँगको लडाइँमा ४ हजार ७०० उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएको दक्षिण कोरियाको गुप्तचर निकायले बुधबार संसदलाई जानकारी गराएको छ ।
दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार उत्तर कोरियाले पहिलो पटक रुसलाई कुर्स्क क्षेत्रका केही भागहरू कब्जा गर्न मद्दत गर्न लडाकु सेना पठाएको पुष्टि गरेको दुई दिनपछि यो खबर आएको हो । जसमा गत वर्ष युक्रेनको घुसपैठका कारण रुसले अचानक नियन्त्रण गुमाएको थियो ।
‘दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले बन्द कोठाको संसदीय समितिको बैठकलाई बतायो कि रुस–युक्रेन युद्धको अग्रपङ्क्तिमा ६०० उत्तर कोरियाली सैनिक मारिएका छन् भने ४ हजार ७०० जति घाइते भएका छन्,’ बैठकमा भाग लिने सांसदहरू मध्ये एक ली सेओङ क्वेनले बताए ।
‘एनआईएसले जनवरी र मार्चको बीचमा मात्रै २ हजार घाइते उत्तर कोरियाली सैनिकहरूलाई हवाई वा रेलमार्फत उत्तर कोरिया फर्काइएको जनाएको छ,’ लीले पत्रकारहरूलाई भने ।
उनका अनुसार युद्धमा मारिएका उत्तर कोरियाली सैनिकको रुसमा नै दाहसंस्कार गरिएको र त्यस मध्ये केहीको शव स्वदेश पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ । एनआईएसका अनुसार जनवरीमा मात्रै करिब ३०० उत्तर कोरियाली सैनिक मारिएको र अन्य २ हजार ७०० घाइते भएको बताएको छ । यता गत महिना दक्षिण कोरियाली सेनाले भने अनुमानित हताहत संख्या बढाएर ४,००० पुगेको पनि दावी गरेको छ ।
उत्तर कोरियाले सोमबार घोषणा गर्यो कि उसको नेता किम जोङ उनले ‘युक्रेनी नव–नाजी कब्जाकर्ताहरूलाई हटाउन र रुसी सशस्त्र सेनाको सहयोगमा कुर्स्क क्षेत्रलाई मुक्त गर्न सेना पठाउने निर्णय गरेको छ ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस पछि उत्तर कोरियालाई धन्यवाद दिँदै उत्तर कोरियाली सैनिकको बलिदानलाई नबिर्सने वाचा गरेका थिए ।
प्रतिकृया दिनुहोस