पाटन (ललितपुर), १८ वैशाख : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आवद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपाली ः सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तरक्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“असन्तुष्टिलाई सम्बोधन गरेर काम गर्छौँ, यसले सृजनात्मक भावना पैदा गर्छ, नकारात्मकताले निराशातिर लैजान्छ, निराशा हैन, असन्तुष्टिलाई स्वीकार गर्दै सम्बोधन गरेर समायोजन गरी समृद्धि हासिल गर्न लाग्नुपर्छ, स्थायित्वको अभियान अगाडि बढाउनुपर्छ । कहाँ-कहाँ कमजोरी छन्, कहाँ-कहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ काम गर्छौँ, संविधान संशोधन गर्छौँ, समृद्ध बनाउँछौँ”, उहाँले भन्नुभयो ।
उपसभापति खड्काले कांग्रेसको नेतृत्वमा आएको संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशी, लोकतान्त्रिक व्यवस्था, गणतान्त्रिक पद्दतिलाई जोगाएर देशलाई समृद्ध बनाउनुपर्छ भन्नुभयो । उहाँले जनसम्पर्क समितिमार्फत झुट्टा प्रचारप्रसार र प्रवृत्ति रोक्दै परिस्थितिको सामना गरी अगाडि बढ्न सहयोग गर्न आग्रह गर्नुभयो ।
विश्वभर रहेका गैरआवासीय नेपालीलाई समस्या नहुने गरी कानुन निर्माण गरेर संसद्बाट पारित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उपसभापति खड्काले विदेशमा रहेका नेपालीको जीवन सहज बनाउन र समस्या समाधानमा परराष्ट्र मन्त्रालयले भूमिका निर्वाह गर्दैआएको बताउनुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक पार्टीको प्रभाव नेपालभित्र मात्रै सीमित भएर नहुने भएकाले ठूलो सङ्ख्यामा नेपालीको बसोबास गर्ने ठाउँमा जनसम्पर्क समिति विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
“रोजगारी, अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बसेकाहरुसम्म सङ्गठनलाई पु¥याउन हामी तत्पर छौँ, यसलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने छ, पहुँच विस्तार नभएसम्म हाम्रो पार्टीको विस्तार हुँदैन, दुई किसिमको सदस्यतालाई व्यापक रुपमा विस्तार गर्नुपर्ने छ, हामीले व्यापक रुपमा सङ्गठन विस्तारमा काम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । अरु देशमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई अधिकारको व्यवस्थाका लागि कानुनी व्यवस्था गर्ने प्रवक्ता डा महतको भनाइ थियो ।
गृहमन्त्री रमेश लेखकले संविधानको भावनाअनुसार गैरआवासीय नेपाली नागरिकले अधिकार प्राप्त गर्ने गरी कानुन बनाइने बताउनुभयो । “संविधानअनुसार प्रदान गरिएको गैरआवासीय नागरिकता नेपाली नागरिकता नै हो, नेपालमा वंशज, वैवाहिक अङ्गीकृत, अङ्गीकृत र गैरआवासीय नेपाली नागरिकता तथा मानार्थ नागरिकता लगायतका छन्, संविधानमा नकारात्मक शब्दावाली प्रयोग हुँदैन, सबै नागरिकताको आ–आफ्नो सीमितता हुन्छ, आर्थिक अधिकार भन्ने वित्तिकै सम्पत्तिको अधिकार हो”, उहाँले भन्नुभयो ।---
प्रतिकृया दिनुहोस